मदिरा व्यापारी ओमप्रकाशको ज्ञानेश्वर घरमा भेटिएको त्यो नोट, जसलाई आधार मानेर बढ्दैछ अनुसन्धान

सविन ढकाल/बिजमाण्डू
२०७८ पुष ३० गते १६:२३ | Jan 14, 2022
मदिरा व्यापारी ओमप्रकाशको ज्ञानेश्वर घरमा भेटिएको त्यो नोट, जसलाई आधार मानेर बढ्दैछ अनुसन्धान


काठमाडौ। '८/१० लाख रुपैयाँ चाहिएको छ। म्यानेज गर्दिनु है।' पुस २२ गते बिहान १० बजेतिर करौडौंको व्यापार गरिरहेको ग्रीनलाइन सेन्टरका ओमप्रकाश अग्रवालले आफ्नी छोरी रजनीलाई तत्कालै १० लाख रुपैयाँ चाहिएको भन्दै टेलिफोन गरेका थिए।

Tata
GBIME
Nepal Life

त्यो फोन गरेको केही समयमै ओमप्रकाशको मोबाइल स्वीच अफ भयो। ओमप्रकाशले छोरीसँग पैसा त मागे तर लिन भने गएनन्। आफ्नो बुबाले १० लाख रुपैयाँ मागेपछि मोबाइल स्वीच अफ हुनु रजनीलाई राम्रो संकेत लागेन।

उनी तत्कालै श्रीमानलाई लिएर ज्ञानेश्वरस्थित घरमा पुगिन्। घरमा पुग्दा कोठामा बत्ती बलिरहेको थियो। तर बुबा, दाजुभाई लगायतका कोही पनि थिएनन्। त्यसपछि रजनीले प्रहरीलाई पुस २३ गते आफ्नो बुबा र सबै परिवार खोज्न आग्रह गर्दै निवेदन दिइन्।

कालिमाटीमा घर र टंगालमा अपार्टमेन्ट भएपनि पछिल्लो समय ओमप्रकाशको परिवार ज्ञानेश्वरको करिब २५ आनामा फैलिएको घरमा बस्दै आएका थिए। त्यही प्रहरीले अनुसन्धान गर्दा अग्रवाल परिवारले घरमा लेखेर गएको नोट समेत फेला पार्‍यो।

केही दिनदेखि सम्पर्कविहीन भएका काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालनको खोजी कार्य सुरु गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा सम्पर्कविहीन भएका परिवारका आफन्तले जानकारी दिएपछि प्रहरीले खोजी सुरु गरेको हो। अहिलेसम्मको प्रहरी अनुसन्धान तथा खोजीमा उनीहरू कहाँ गए भन्ने खुल्न सकेको छैन। ग्रीनलाइनका सञ्चालक अमित र अभिषेक अग्रवाल परिवारसँगै सम्पर्कविहीन भएका हुन्। बाबु ओमप्रकाश र परिवारका अन्य सदस्यहरू पनि सम्पर्कमा छैनन्।

अग्रवाल परिवारका ९ जना सदस्य ओमप्रकाश, अमित, अभिषेक, भारती अग्रवाल उषा अग्रवाल, रुचिका अग्रवाल, १७ वर्षीय नातिनी नन्दनी अग्रवाल, ९ वर्षीय पार्था अग्रवाल र २ वर्षीय अनव अग्रवाल नै अहिले सम्पर्कमा छैनन्।

'उहाँहरू आफ्नो खुसीले कतै जानु भयो वा के भएको हो भन्ने विषयमा हामीले खोजी गरिरहेका छौं। अहिलेसम्म उहाँहरूसँग कुनै सम्पर्क हुन सकेको छैन,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले भने।

प्रहरीले उनीहरूले प्रयोग गर्ने मोबाइलमा पनि सम्पर्क गरेको थियो। मोबाइलको कल ट्रेसिङ गर्दा पनि उनीहरू कहाँ गएको भन्ने खुल्न सकेको छैन। अहिले उनीहरूले सञ्चालन गर्दै आएको दुई वटा मदिरा रिटेल शप पनि बन्द छ। परिवारका सबै सदस्यको मोबाइल घरबाट नै अफ भएको प्रहरी अनुसन्धानमा देखिएको छ।

प्रहरीले उनीहरूले प्रयोग गर्ने सवारी लगायत अन्य पक्षहरूको पनि अनुसन्धान गरिरहेको छ। घरमा प्रयोग हुँदै आएका दुई वटा गाडी पनि 'गायब'  छन्। उनीहरु सम्पर्कबाहिर भएपछि कान्तिपथको ग्रीनलाइन सेन्टरसँग ऋण उठाउनुपर्ने भन्दै इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंकले सूचना समेत टाँस गरेका छन्।

तर अहिलेसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो लगानी डुबाएर वा ठगी गरेर फरार भएको भन्दै प्रहरीमा उजुरी भने दिइसकेका छैनन्। घरमा फेला परेको नोटमा बैंकको ऋण र मिटर ब्याजका कारण आफू डुबेको भन्दै सबै सम्पत्ति छाडेर हिड्नुपरेको उल्लेख छ।

नवलपरासीको सागर डिस्टिलरी र एलायन्स वाइन इन्ड्रस्ट्रिजको लाइसेन्स प्रक्रिया, कोभिडका कारण विदेशबाट आयात गरिएको बियर र वाइन डेट एक्सपायरका कारण ठूलो नोक्सानी ब्योहोर्नुपर्‍यो। त्यही समयमा विभिन्न तारे होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसले समेत उधारो रकम तिरेनन्।

तरलता अभाव भएर नोक्सानी बढ्दै गएपछि अग्रवाल परिवारले मिटर ब्याजमा पैसा लिएर व्यवस्थापन गर्न खोज्दा ट्रयापमा परेका थिए। मिटर ब्याजको पैसा समयमा तिर्न नसकेपछि ज्यान मार्नेसम्मको धम्की आएपछि अग्रवाल परिवार नै भागेको अनुमान गरिएको छ।