टिक्नका लागि पनि हामीलाई भलाद्‍मीपन छाड्नुपर्ने बाध्यता आइपर्‍यो, अशोक राणाको अन्तर्वार्ता




हिमालयन बैंकले सोमबार निक्षेपको ब्याज दर सर्वाधिक बढाएको छ। बैंकले असोजको तुलनामा कात्तिकमा मुद्दती निक्षेपको ब्याज दर ३.१७ प्रतिशत बिन्दुले बढाएर ११.६७ प्रतिशत पुर्‍याएको छ। पुरानो बैंक, कस्ट अफ फण्ड कम भएको बैंक- हिमालयन। तैपनि ब्याज सर्वाधिक बढाएर निक्षेप वृद्धि गर्ने रणनीतिमा लागेको छ। यस बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई बिजमाण्डूले सोध्यो- किन यति धेरै ब्याज बढाउनु भएको?



हामीले असोजमा सबै बैंकको हेर्‍यौं। त्यसपछि हामीले आन्तरिक मूल्यांकन गर्दा कासा (करेन्ट र सेभिङ एकाउन्ट) बढाउनुपर्ने देखियो। त्यो बढाउनका लागि निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिनुपर्ने हुन्छ। त्यही भएर हामीले यसपाली अलिकति बढी ब्याज दिएर कासा बलियो बनाउन खोजेको हो।

यसअघि सनराइज बैंकले ब्याज सबैभन्दा उच्च १०.०७ प्रतिशत पुर्‍याएको थियो। नबिल बैंकले पनि त्यही अनुपातमा ब्याजदर वृद्धि गरेको थियो। उनीहरुलाई जति निक्षेप चाहिन्छ त्यति लिनका लागि ब्याज बढाएका थिए। चाहिएजति उठेपछि घटाउने गरेका थिए। हामीले पनि सिक्नु पर्‍यो नि। हामी मात्र कति भलाद्‍मी भएर बस्ने भनेर यसपाली अलिकति ब्याज वृद्धि गरेका हौं। 

हिमालयन बैंकको राम्रो पक्ष भनेको- न्यून कोष लागत (कष्ट अफ फण्ड) हो। अब त त्यो नहुने भयो नि ब्याज वृद्धिले?
बढ्दैन त्यति धेरै। एक महिनाको कुरा हो। एक महिना हामीले निक्षेप चाहिनेजति उठाउँछौं। 

यो महिना बढाउने अर्को महिना घटाउने। ब्याज दर 'अन प्रेडिक्टेवल' हुँदा बैंकलाई, सबैलाई गााह्रो हुँदैन र?
हुँदैन। अनप्रेडिक्टेवल त हामीले बनाएको होइन नि। अरु बैंकलाई हेरौं न कस्तो कस्तो पारा देखाइरहेका छन्। यसपाली अलिकति ब्याज दरमा 'लिड' लिएर जाउँ न त भनेर गरेको हो। 

ब्याज दर बढाएर नयाँ निक्षेप आउँछ त?
आउँछ नि। त्यसैका लागि नै बढाएको हो।

अरु बैंकबाट आउला, नयाँ त असोजको ब्याजले पनि बढाउन सकेको थिएन नि?
अरु बैंकको खोस्ने हाम्रो नीति नै छैन। नयाँ नै निक्षेप हामी ल्याउँछौं। 

बाहिरबाट हेर्दा आफ्नो निक्षेप खोसियो भनेर अलिकति बढाएको जस्तो पो देखियो त?
म यहाँ आफ्नो कुराभन्दा पनि बजारको कुरा गर्छु। प्रवृत्तिको कुरा गर्छु। सीसीडी खारेज भएर सीडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था लागु भयो। यसपछि केही बैंकहरुले विदेशी मुद्राको निक्षेप सापटी लिएर आफ्नो सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गरिरहेका थिए। यहाँनेर अलिकति 'म्यानुपुलेसन' भएको थियो। आफू आफू सापटी लिने अनि सीडी रेसियो कम देखाउने काम भइरहेको थियो। राष्ट्र बैंकले यसलाई रोकिदियो। यसबाट बैंकहरुलाई दबाब पर्‍यो। 

यही दबाबका बीच केही बैंक राष्ट्र बैंकमा नियम फेर्न पुगेका छन् भन्ने सुनिरहेको छु। राष्ट्र बैंकले एकछिनमा नीति ल्याउने फेरि फिर्ता लिने गर्नु हुँदैन। नीति ल्याउँदा नै यसबारेमा प्रष्ट सोच बनाएर ल्याएको हुन्छ। अब त्यसबाट कसैलाई असर गर्‍यो भने समाधान नीति उल्ट्याउने हुनुहुँदैन। यसो हुँदा नीति नियम पालना गर्ने बैंकहरुलाई गााह्रो पर्छ। छिनछिनमा नीति नियम परिवर्तन गर्दा त्यसलाई पालना गर्न गाह्रो हुन्छ। 

विदेशी मुद्राको निक्षेप गणना गर्न नपाइने भएपछि तरलता अभाव एकाएक केही बैंकमा चर्कियो। उनीहरुलाई सीडी रेसियो पालना गर्न गाह्रो भयो। राष्ट्र बैंकले ९० प्रतिशतमा ल्याउन भनेको छ। कसैको ९५ प्रतिशत छ भने उ त्यसलाई घटाउने होइन कि ९५ मै बस्ने काम गरिरहेको छ। हामी ९० प्रतिशत पुग्ला भनेर ८८ प्रतिशतमा बसिरहेका हुन्छौं। यो अहिलेको मुख्य मुद्दा हो।

अहिलेको तरलता अभाव कसरी चर्कियो त?
बिगतमा आक्रामक रूपमा ऋण बिस्तारमा लागेका बैंकहरु अहिले सबैभन्दा बढी अभावसँग जुधिरहेका छन्। तरलता अभाव भनेर अहिले सबै बैंकलाई छैन। धेरै बैंकलाई छ तर सबैलाई छैन। मनलाग्दी ऋण उठाउने। अलिकति ठाउँ पाउने बित्तिकै नीति नियमका कमजोरीको फाइदा उठाउनेहरुलाई अहिले समस्या बढी छ। विदेशी मुुद्राको निक्षेप आफू-आफू सापटी लिएर सीडी ९० प्रतिशत कायम गर्ने बैंकहरु अहिले समस्यामा छन्। उनीहरुलाई अहिले गाह्रो छ। सबै एकअर्कासँग जोडिएका छौं। त्यसैले प्रणालीलाई नै ठूलो दबाब पर्ने देखिन्छ। 

ऋण धेरै नदिनुस् है भनेर राष्ट्र बैंकले पनि बारम्बार भनिरहेको थियो। तर, निक्षेप उठाउनु छैन ऋण मात्रै दिने काम भइरह्यो। अब निक्षेपको मात्र होइन ऋणको पनि ब्याज वृद्धि हुन्छ। ब्याज बढ्यो भने अलिकति ऋण निरुत्साहित हुन सक्छ। तर यसअघि बैंकहरुले कसरी निक्षेपको ब्याज घटाएर आधार दर कम गर्ने र सस्तोमा ऋण जतिसक्दो धेरै दिने भन्ने प्रतिस्पर्धा मात्र गरे। धेरै ऋण सस्तोमा दिँदा त्यसले प्रणालीलाई फाइदा गर्दैन। गरेको पनि छैन- शोधनान्तर हेरे पुग्यो। 

ऋण धेरै सस्तो भयो भनेर बजारले आफैंले 'करेक्सन' गर्‍यो भनेर पनि त बुझ्न सकिएला नि?
आज एक दर्जन हाराहारी बैंकको निक्षेपको ब्याज दर दोहोरो अंकमा पुगेको छ। बाँकी रहेका अधिकांशको दोहोरो अंकको निकै नजिक ब्याज पुगिसकेको छ। साथीहरुले 'फेयर' बैंकिङ गर्न छाड्नु भएको छ। कसरी हुन्छ अर्काको ल्याएर आफ्नो व्यापार बढाउँ भन्ने मात्र सोच्नु भएको छ। यही कारण हामीले पनि ब्याज बढाउनु पर्‍यो। हिमालयन बैंकजस्तो संस्थाले के साँच्चै यत्ति धेरै रेट दिनु पर्छ त निक्षेप आकर्षित गर्न? हामीजस्तो भलाद्‍मी बैंकलाई यस्तो अभ्यास गर्न कसले बाध्य पार्‍यो त? हाम्रै साथीहरुले होइन। बजारमा टिक्न पनि भलाद्‍मीपन छाड्नुपर्ने बाध्यता आइपर्‍यो हामीलाई। 

यसअघि पनि हिमालयन बैंक र नबिल बैंक ब्याजमा आक्रामक हुँदा बजारमा ठूलो हल्लीखल्ली भएर राष्ट्र बैंकले नै भद्र सहमति गराएको थियो। अब पनि त्यही बाटोमा नियामकले लैजाओस् भन्ने चाहना पो हो कि?
कदापि होइन। हामी भद्र सहमतिको पक्षमा कहिले पनि होइनौं। बजारलाई नै सबैकुरा छाड्नु पर्छ। प्रतिस्पर्धाले ब्याज दर निर्धारण गर्छ। आगामी दिनमा 'करेक्सन' पनि देखिएला। यसैपाली पनि त केही बैंकले घटाएकै छन् नि।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell