बजार निर्दयी छ, 'बिचरो पैसा नभएको मान्छे, यसलाई नफँसाइदिउँ' भन्दैन, केशव श्रेष्ठको अन्तरवार्ता




साढे दुई दशकअघि आइपीओमा लगानी गरेर पुँजी बजारको दुनियाँ नियाल्न छिरेका डा. केशव श्रेष्ठ २२ वर्षदेखि दोस्रो बजारका पनि सक्रिय लगानीकर्ता हुन्। झन्डै ३५ वर्ष विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय संघसंस्थाको वित्त विभागमा काम गरेर अवकाश भएका चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठले १२ वर्षदेखि पुँजीबजारका लगानीकर्तालाई विभिन्न प्राविधिक प्रशिक्षण समेत दिँदै आएका छन्। नेप्से २९२ विन्दुको भासमा झर्दादेखि १८०० र अहिले ३००० विन्दुको बुलसम्मलाई गहिरोसँग नियालेका श्रेष्ठ नेपाली पुँजी बजारका विज्ञ हुन्।

श्रेष्ठलाई बिजमाण्डूका मधुकर दाहालले सोधे- पुँजी बजारमा अहिलेको वृद्धिलाई 'अस्वाभाविक' भन्ने टिप्पणी बाक्लै सुनिन्छन्। यो वृद्धि कत्तिको दिगो हुने देख्नुहुन्छ?
जबसम्म बजारमा पुँजीको प्रवाह भइरहन्छ, बजारले त्यसलाई पचाइरहेको छ र त्यसलाई नै पछ्याउँदै वृद्धिको लाइनमा लागेको छ भने त्यो स्वाभाविक नै हुन्छ। तर मैले विगतका दुई-तीनवटा बुल र बियरिस रनलाई राम्रोसँग नियालेको छु। तिनलाई हेर्दा बजारमा खासगरी दुई किसिमले बुल रन (उछाल) आउने गरेको छ। एउटा - खास प्राविधिक कारकहरुले गर्दा, जस्तोः तरलता बढी भयो, ब्याज घट्यो, बैंकहरुले मार्जिन लेन्डिङमा धेरै कर्जा प्रवाह गर्न थाले भने यस्तो अवस्थामा आएको बुल रन प्राविधिक कारणबाट भएको हो। त्यसकारण यस्तो बुललाई 'टेक्निकल बुलिस कन्डिसन' भन्छौं । 

TATA
RiddiSiddi

अर्को - अर्थतन्त्रका सेगमेन्टहरुले नेतृत्व गरेपछि त्यसको प्रतिबिम्ब पुँजी बजारमा पनि पर्छ। त्यही भएर पुँजी बजारलाई अर्थतन्त्रको ऐना पनि भनिन्छ। तर त्यसका लागि अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरु, जस्तोः जीडीपी तथा प्रतिव्यक्ति आयको वृद्धि, रियल सेक्टर र उद्योगहरुको बुम, पूर्वाधार विकासका काम राम्ररी भइरहेको, लगानीमैत्री नीति इत्यादि भएको हुनुपर्छ। यी कुराहरु अनुकूल भएर पुँजीबजारमा आएको बुल चाहिँ 'रियल बुल' हो, जुन टिकाउ हुन्छ। 

तर हामीकहाँ टेक्निकल बुल नै लगातार जारी छ। यस्तो बुलको दिगोपनाको कुरा गर्दा अलिकति जोखिम हुन्छ। किनकि - प्राविधिक कारकहरु सधैं अनुकूल रहँदैन। जस्तै: तरलताको अवस्था सधैं उही हुन्छ भन्ने छैन, पुँजी वा नगद प्रवाह अन्य क्षेत्रमा गएपछि त्यो घट्छ। यसैले यस्ता एउटा-दुइटा फ्याक्टर खस्‍किनेबित्तिकै बजार क्र्यास हुन सक्छ । यसकारण यस्तो किसिमको बुल धेरै टिक्दैन। जबसम्म पैसा आइरहेको छ र बजारले पचाउँछ त्यतिबेलासम्म मात्र सस्टेन हुन्छ। तर अहिलेको वृद्धिभित्र एक हिसाबको बबल क्रिएट भइसकेको देख्छु म। कुनैपनि बेला ब्रस्ट नहोला भन्न सकिँदैन।

अर्थतन्त्र निराशाजनक अवस्थामा हुँदा पनि यसको ऐना भनिने सेयर बजारमा भने दिनकै २० अर्ब हाराहारीमा कारोबार पुग्यो। कहाँबाट आइरहेको छ यस्तरी सेयर किनबेच हुने पैसा?
कारोबार रकमसँग जोडेर कहिलेकाहीँ कालो धनका कुराहरु पनि आउँछन्, सम्पत्ति शुद्धीकरणका प्रश्न पनि उठ्छन् । अन्त पैसा लगानी गर्ने ठाउँ नभएर यो क्षेत्रमा आयो भन्ने विश्लेषण पनि बलियो छ यतिबेला, जुन एक हिसाबले सही पनि हो, तर यसलाई आंशिक सत्यता मात्र भन्छु म। रेमिट्यान्सका कारण प्राय: नेपालीका लागि एक-दुई लाख रुपैयाँ  सामान्य रकम भइसक्यो। अझै पनि बैंकिङ प्रणालीमा तरलता सहज नै छ। बैंकले कम ब्याजमा मार्जिन लेन्डिङ गरिरहेका छन्। कारोबार बढ्नुका खास कारण यिनै हुन् तर यो अस्वाभाविक भने होइन।

सेयर कारोबारलाई बुझ्न यसभित्रको तथ्यांकीय पाटोलाई पनि अलिकति बुझ्नुपर्छ। जस्तोः हाम्रो ४० खर्ब हाराहारीको बजार पुँजीकरण छ। तर त्यो सूचीकृत सेयरको बजार मूल्य हो, नगद त्यति होइन। १५ अर्बमाथिको कारोबार हुन थालेको दुई हप्ता जति न भयो। नत्र औसत कारोबार ८-१० अर्ब मान्ने हो भने एक महिनाभरमा २५ दिन कारोबार हुँदा साढे दुई  खर्ब रुपैयाँ बजारमा रोलिङ भइरहेको छ।  

अहिले ३६ लाख जनाले डिम्याट खाता खोलेका छन्। उनीहरुमध्ये केहीले ५० हजार लगानी गरेका होलान् कोही ५० लाख लिएर बजारमा छिरेका होलान्। यी सबैको पैसा बजारमा एकीकृत (एकुमुलेसन) भएको छ। यो हिसाबले साढे दुई-तीन खर्बको एकुमुलेसन स्वाभाविक नै हो। र, यो तीन खर्बमध्ये सबै ट्रेडिङ नै होइन, यसलाई आधा नै गर्ने हो भने पनि झन्डै डेढ खर्ब रुपैयाँ महिनाभरको कारोबारमा रोलिङ भएर बजार पुँजीकरण माथि-माथि गइरहेको छ। 

त्यसकारण एक हिसाबले 'ओहो, २० अर्बको कारोबार !' भनेजस्तो लाग्छ। तर त्यसलाई ३६ लाख लगानीकर्ताले भाग गर्ने हो भने एक जनाको भागमा औसत कति नै पर्छ र ! बजारमा सक्रिय ८ लाख लगानीकर्ता मात्रै लिने हो भने पनि एक जनाले गरेको औसत कारोबार रकम २५ हजार रुपैयाँ हुन्छ। त्यसमा पनि ठूलो पुँजी भएका र संस्थागत लगानीकर्ताहरु पनि छँदै छन्। त्यसैले अहिलेको दैनिक कारोबार रकमलाई खासै ठूलो भन्न मिल्दैन। यतिको कारोबार त पहिल्यै पुग्नुपर्थ्यो। र, अझ माथि जान्छ यो। कोभिडपछि भने तरलता अन्य क्षेत्रमा पनि जाने भएकाले यसको असर सेयरबजारमा केही पर्छ नै। तर त्यो अवस्थामा पनि कारोबार भोल्युम घटेर १०-१२ अर्ब हाराहारी रहन्छ र इन्डेक्स चाहिँ स्थिर नै हुन्छ भन्ने मेरो आकलन छ।

'पुँजी बजार लगानीका सिद्धान्त र आधारभूत कुराहरु जाने-बुझेका र पैसा टन्न हुनेहरुका लागि हो, यसको जोखिमको चरित्र बुझ्नेहरुले मात्र सेयरमा लगानी गर्ने हो' भन्ने न्यारेटिभ पनि यदाकता सुनिन्छ। यसमा तपाईंको धारणा के छ?
सेयर बजार सबैका लागि हो। विश्वका कुनै पनि ठाउँमा पुँजी बजारमा प्रवेशका लागि कुनै योग्यता तोकिएको छैन। न त पैसा प्रशस्त हुने मान्छेका लागि मात्र हो यो। यसमा १० हजार रुपैयाँ लिएर छिर्ने मान्छेले पनि राम्रो गर्दै जान सक्छ। लगानीकर्ताले आफ्नो लगानी रकम अनुसारको प्रतिफल लिँदै जाने न हो।

र, पुँजी बजारका आधारभूत कुराहरु युनिभर्सल र साह्रै सरल छन्। यसकारण जसले पनि यसमा लगानी गर्न सक्छ। तर यसको मतलब 'सेयर बजार सिम्पल रहेछ, फलानोले केही पनि जानेको थिएन तैपनि कमायो, म पनि कमाउँछु' भन्ने बुझाइ सही होइन। त्यसरी आधारभूत ज्ञानसमेत नराखी बजारमा छिर्ने लगानीकर्ताहरुले चाहिँ ठूलो मूल्य चुकाएर सिक्नुपर्ने जोखिम हुन्छ। केही नबुझि कोही आएको छ भने पनि संयमित भएर लगानी गर्न सक्यो भने कमाउने सम्भावना रहन्छ । होइन भने गुमाउने जोखिम बढी हुन्छ । त्यस्ता लगानीकर्तामध्ये अधिकांशले गुमाइरहेका हुन्छन्, थोरैले मात्र कमाउँछन्। 

तर नेपालको पुँजी बजारमा चाहिँ 'योर इग्नोरेन्स इज माइ प्रोफिट' भन्ने मान्यता हाबी छ। मान्छेलाई थाहै हुँदैन, सक्नेले अरुलाई छिर्के लाएर हुन्छ कि लडाएर हुन्छ, जसरी नि पैसा कमाउन खोज्छन‍्। सेयर बजार निर्दयी छ, हाम्रो मात्र नभएर संसारको जुनसुकै ठाउँको। 'बिचरो पैसा नभएको मान्छे, यसलाई त नफँसाइदिउँ' भन्ने हुँदैन। यसो हुँदाहुँदै पनि ज्ञान भएका लगानीकर्ताहरु आइदिए भने बजारमा 'डिसेन्सी' आउँछ। त्यो बेलामा लगानीकर्ताहरुले 'माइ नलेज इज माइ प्रोफिट' भन्ने अवस्था बन्छ, अर्थात् जोसँग बढी 'नलेज' (बजारको ज्ञान) हुन्छ उसले बढी कमाउँछ। त्यस्तो अवस्था हुनका लागि बजार 'पर्फेक्ट कन्डिसन' मा पुग्नुपर्छ, जसको हामी सैद्धान्तिक व्याख्या गर्न सक्छौं तर त्यहाँ पुग्न धेरै चरण पार गर्नुपर्छ।

अर्को कुरा, सेयर बजार जोखिमनिहित लगानी क्षेत्र हो। लगानीकर्ता यहाँ जोखिमको खेल खेल्न आउने हो। यसैले लगानीकर्ताले मूल्य बढ्यो भने आफ्नो भाग्यले भन्ने र घट्यो भने चाहिँ धितोपत्र बोर्ड घेर्न जाने जस्ता प्रवृत्ति पनि हामीमा भएको अपरिपक्वता हो। पुँजी बजारको लगानीकर्ता हुनका लागि हाम्रो अलिकति योग्यता नपुगेको हो।

संस्थागत लगानीकर्ताहरु जो पुँजीको बलले पेल्ने लगानीकर्ता त हुन् नै, साथै लगानी गर्न पनि अर्गनाइज्ड किसिमले आउँछन्। र यिनीहरुले विभिन्न कम्पोनेन्टहरुलाई संगठित हिसाबले व्यवस्थापन र परिचालन गरेर बजारमा चलखेल गर्छन्। यो अझ बढी खतरनाक र एक किसिमले वित्तीय अपराध हो।

---

तर योग्यता पुगेका तपाईंहरुजस्ता वित्तीय विश्लेषणमा घगडान व्यक्तिहरुको प्राविधिक तथ्यगत प्रक्षेपणलाई पनि हाम्रो पुँजीबजारले हावा खुवाइदिरहेको छ नि?
यो बडा पेचिलो प्रश्न हो। सामाजिक सञ्जालहरुमा पनि प्राविधिक विश्लेषकहरुलाई 'धर्के', 'धर्कामान' इत्यादि भनेर गाली गरिरहको देखिन्छ। धर्काको पछाडिको विज्ञान के हो भने, सेयर बजारमा हामीले गर्ने विश्लेषण भनेको आँकडाहरुबाट निष्कर्ष निकाल्ने कुरा हो। आँकडा जब 'अप टु द मार्क' छैन तब त्यो आँकडाले काम गर्दैन। जस्तैः १, २, ३, ४ रुपैयाँ राखेर धर्का तान्नुस्, सिधै उकालो जान्छ। १ अर्ब, २ अर्ब, ३ अर्ब, ४ अर्ब राखेर धर्का तान्नुस् त्यसको पनि धर्का त्यसरी नै माथि जाने भएपनि त्यसको पछाडिको डाटा के छ भन्नेले अर्थ राख्छ। हामीकहाँ १०-१० कित्ता फाल्दै २-२% बढाउँदै चलखेल गर्ने बजार छ। अनि यस्तोमा जहाँ धर्का नतान्नुपर्ने हो त्यहाँ पनि तान्न थालियो र विश्लेषण छाँट्न थालियो भने त्यहाँ डुबिन्छ। 

यसको आशय के हो भने नेपालमा पुँजीकरण ठूलो भएका (लार्ज क्याप) कम्पनीहरु अझै पनि धेरै कम छन्। जब सेयर बजारमा दुइटा स्वतन्त्र कारक (इन्डिपेनडेन्ट फ्याक्टर) हरु, मूल्य र परिमाण (प्राइस एन्ड भोल्युम), लाई कसैले 'मोनिटर' अथवा एकातिर 'डाइभर्ट' गर्न नसक्ने अवस्थामा जब कारोबार हुन्छ नि, अनि मात्र विश्लेषणले सम्पूर्णता पाउँछ। नत्र १ रुपैयाँ, २ रुपैयाँको आँकडाका आधारमा गरिएको विश्लेषणको धर्का हेरेर ठूलो रकमको कारोबार गर्यो भने फँसिन्छ नै। यहाँ त्यही भइरहेको छ।

तपाईंले भन्नुभएजस्तो चलखेल कस्ता लगानीकर्ताहरुले कसरी गरिरहेका छन्? 
खासगरी दुई किसिमका लगानीकर्ताले यस्तो चलखेल गर्ने गर्छन्। एउटा- बजारबारे ज्ञान र अनुशासन ठिकठिकै भए पनि पुँजी भने ठूलो लिएर बस्ने, अर्थात् पुँजीको बलले पेल्नेले। अर्को- संस्थागत लगानीकर्ताहरु जो पुँजीको बलले पेल्ने लगानीकर्ता त हुन् नै, साथै लगानी गर्न पनि अर्गनाइज्ड किसिमले आउँछन्। र यिनीहरुले विभिन्न कम्पोनेन्टहरुलाई संगठित हिसाबले व्यवस्थापन र परिचालन गरेर बजारमा चलखेल गर्छन्। यो अझ बढी खतरनाक हो। यो एक किसिमले वित्तीय अपराध हो।

हुन त सेयर बजार भनेकै पुँजीको खेल हो। तर ठूला लगानीकर्ताले यसबाहेक पनि बजारबाट आफ्नो स्वार्थपूर्ति गर्न विभिन्न गिमिक्स निकाल्ने, सामाजिक संजालमा हल्लाखल्ला गर्ने वा गर्न लगाउने, प्रविधिको दुरुपयोग गर्ने र केही थाहा नभएका वा कम थाहा भएका साना लगानीकर्ताहरुबाट थोरथोरै गर्दै पैसा सोहोरेर ल्याएर सीमित व्याक्तिको हातमा पार्ने सोचका साथ बजारमा खेल्छन्। सूचना चुहाएर इन्साइडर ट्रेडिङ गर्नमा पनि फेरि उनीहरुकै पहुँच हुन्छ। यस्तो पनि अहिले बजारमा विस्तारै फस्टाउँदै गइरहेको देखिन्छ। 

प्रि-ओपन सेसरको कारोबारमा प्रविधिको दुरुपयोग गरेर चलखेल गरेको ठ्याक्कै देखिन्छ। क्रेता/बिक्रेता आफैंले खोजेर नेगोसिएसन गरेपछि अन्तिम कारोबार मूल्यभन्दा ५ प्रतिशतसम्म घटेर वा बढेर बल्कमा ठूलो ठूलो कारोबारका गर्नका लागि बजारले दिएको विकल्प हो प्रि-ओपन सेसन। तर त्यसको दुरुपयोग अहिले १० कित्ता सेयर फ्याँकेर ५% बढाइदिने, सानो सानो कित्तामा सर्कुलर ट्रेडिङ गर्नका लागि भइरहेको छ, जुन धेरैजसो लगानीकर्तालाई थाहै छैन। त्यही भएर ११ बजे बजार खुल्दा नखुल्दै मूल्य ह्वात्तै माथि गइसकेको हुन्छ।

अझ अहिले त एल्गोरिदम ट्रेडिङको पनि आशंका भइरहेको छ। नत्र नियमित कारोबार खुल्न पाएको हुँदैन ५०-६० लाख कित्ताको अर्डर आएर बसेको हुन्छ, कसरी सम्भव छ यो? १० बजेर ५९ मिनेट ५९ सेकेन्डसम्म खुलेकै हुँदैन। अनि ११ बजेर १ मिनेट मात्र जाँदा ५० लाख कित्ता अर्डरको म्यानुअल इन्ट्री गरेर भ्याउन सम्भव हुन्छ? यो पनि चलखेलको एउटा हिस्सा हुन सक्छ। साथै, यस्तो एल्गो ट्रेडिङ भएको रछ भने यसले नेप्सेको सिस्टम सेक्युरिटी माथि पनि गम्भीर प्रश्न उब्जाउँछ। कि त एल्गो ट्रेडिङलाई पहिला वैधानिक बनाउनु पर्‍यो, जुन संसारका अरु देशमा नभएको पनि होइन।

बजार अहिले पाँच-छ सय अंकले मात्र पनि गुल्टियो भने ६० देखि ७० प्रतिशत लगानीकर्ता हामीलाई यो नहुने रहेछ भनेर निराश भएर बजारबाट पलायन हुन्छन् ।

---

पछिल्ला केही महिनायता सेयर बजारका अधिकांश नवप्रवेशी लगानीकर्ता अन्धाधुन्द हामफालेका गृहिणीदेखि मजदुरी गर्नेसम्म जुनसुकै पेशाका छन् भनिन्छ । यस्ता लगानीकर्ताको झुकावले पुँजी बजारको लयमा कस्तो प्रभाव पार्ला ?
धेरै मान्छेहरु सेयर बजारले आकर्षित गरेर आएका हुन् । त्यो एक हिसाबले आफैंमा राम्रो पाटो हो । तर बजार अहिले पाँच-छ सय अंकले मात्र पनि गुल्टियो भने त्यस्ता ६० देखि ७० प्रतिशत लगानीकर्ता हामीलाई यो नहुने रहेछ भनेर निराश भएर बजारबाट पलायन हुन्छन् । यो दृष्टिले भने नराम्रो । त्यसका बाबजुद दोकान चल्नका लागि पहिला ग्राहक त आउनुपर्यो नि । ग्राहक आएका छन् । अब ग्राहकलाई कतिको राम्रो व्यवहार हुन्छ र उनीहरु टिक्छन् भन्ने पछिको कुरा हो।  

अहिले प्राय: लगानीकर्ताहरु असाध्यै हतारमा देखिन्छन् । सेयरमा लगानी गरेपछि कमाउनै पर्छ, एकदमै चाँडो नाफा हुनैपर्छ भन्ने सोच धेरैको छ। जोखिम तत्वको गुन्जायस सुन्न पनि नचाहने गरी लगानीकर्तामा यस्तो मनोविज्ञान कसरी सिर्जना गरिदियो हाम्रो पुँजी बजारले? 
अधिकांश एक त पुँजी बजारमा लगानीबारे आधारभूत कुराहरु समेत बुझ्दै नबुझि आएका छन् भने दोस्रो कुरा यहाँ आइसकेपछि पनि कतिपयमा बुझ्नै नचाहने प्रवृत्ति देखिन्छ। 'फलानोले अस्ति भर्खरै पैसा हालेर यति लाख कमायो, म चाहिँ कहाँ बुझ्नमै छ महिना लाएर बस्ने?' भन्ने मनोविज्ञान धेरैमा हाबी छ। 

सेयरमा पैसा हालेपछि कमाइन्छ र त्यो तत्कालै कमाइहालौं भन्ने मनोवृत्ति देखिन्छ । लक्ष्य त सबैको कमाउने नै हो तर कसरी कमाउने भन्ने हुन्छ । म 'एब्सोलुट विनर' हुन्छु भनेर आउने प्रवृत्ति छ । अर्थात् १० वटा कम्पनीको कारोबार गरेँ भने दसैवटामा नाफा कमाउँछु भन्ने सोच पछिल्लो समय धेरै लगानीकर्तामा देखिन्छ । तर सेयर बजारमा त्यस्तो हुँदैन, 'एभरेज विनर' हुन्छ। १० वटा कारोबार गर्दा ६-७ वटा घाटामा गए पनि तीनवटा कारोबारले तपाईंलाई उतारेर 'प्रोफिट टार्गेट' भेटिनुपर्‍यो। 

विवेकी लगानीकर्ताले जतिसुकै बियरिस बजारमा पनि २५-३०% रिटर्न निकाल्छ। यसकारण यो अथाह राम्रो क्षेत्र हो । तर यसो भन्दैमा यहाँ लगानी गर्न खोज्नेले महत्त्वाकांक्षा मात्र बढी लिएर आउने होइन, अलिकति भएपनि बुझेर आउनुपर्छ र हालेको पैसा डुब्न पनि सक्छ भन्ने जोखिम लिन पनि तत्पर रहनुपर्छ।

कमजोर कम्पनीको (सेयर) ट्रेडिङ गर्नु भनेको किनेको मूल्यभन्दा बढीमा बेचेर अर्कोलाई टोपी लाउन भ्याउँछु कि भ्याउँदिन भन्ने ध्याउन्न मात्र हुनु हो। मैले तपाईंलाई टोपी लाउन सकें भने म बचें, सकिँन भने म फसेँ । यसैले त्यस्ता कम्पनीमा लगानी भनेको पिन थुतेको बम खेलेजस्तो हो, पास गर्दै जाँदा जसको हातमा पड्कियो ऊ मर्‍यो ।

---

'विवेकी लगानीकर्ता' चाहिँ कसलाई भन्ने?
पहिलो कुरा - तपाईं कुन क्षेत्रमा लगानी गर्न आउनुभएको छ र त्यसले कति कमाएर दिने क्षमता राख्छ भन्ने हेर्नुपर्छ। जस्तैः अहिले 'इन्डष्ट्री एभरेज' (प्रतिफल) हेर्दा सय रुपैयाँमा वाणिज्य बैंकको १८ रुपैयाँ, विकास बैंकको नौ रुपैयाँ र बीमा कम्पनीहरुको ६-७ रुपैयाँ छ। यी क्षेत्रहरुमा लगानी गर्ने अनि नाफा चाहिँ एकका दुई, दुईका चार खोज्ने? अहिले त हप्तैपिच्छे यस किसिमको नाफा खोज्ने प्रवृत्ति आइसक्यो । यो चाहिँ अविवेकी लगानीकर्ता (इर्राशनल इन्भेष्टर) को संकेत हो। देखे-सुनेको भरमा, अरुले कमायो भनेर हल्लाको पछि लाग्ने पनि अविवेकी लगानीकर्ता हो।

र, दुई-तीनवटा गुण छन् भने म त्यो लगानीकर्तालाई विवेकी भन्छु । जसले आफूले 'लगानी गरेको क्षेत्र कुन हो, नेपालमा जोखिमरहित प्रतिफल दर (रिस्क फ्रि रिटर्न) कति छ, त्योभन्दा कति गुणा बढी कमाउन सक्छु, त्यति लगानी गरेको क्षेत्र (कम्पनी) ले दिन सक्छ कि सक्दैन' यति कुरा बुझेको व्यक्ति विवेकशील लगानीकर्ताको पहिलो चरणमा हो। त्यसपछि उसले कसरी आफ्नो पुँजी व्यवस्थापन गर्छ भन्ने महत्त्वपूर्ण हुन्छ । यसले थोरबहुत फाइनान्सियल इन्टेलिजेन्स खोज्छ।

हामी 'के डी सी प्रिन्सिपल' भन्छौं, जसमा 'के' भनेको 'नलेज' (ज्ञान), 'डी' अर्थात् 'डिसिप्लिन' (अनुशासन) र 'सी' भन्नाले 'क्यापिटल' (पुँजी) हो । यति तीनवटा हतियारले लड्ने हो सेयर बजारमा। यसलाई विचार गरेर 'म कुन स्तरको हो, मलाई कस्तो रणनीति उपयुक्त हुन्छ' भन्ने अलिकति सोचिदिने मात्र, अध्ययन गर्ने र त्यसमा महारथ हासिल गर्ने त पछिको कुरा, यस्तो लगानीकर्ता विवेकी हो । 

बलियो वित्तीय सूचकहरु र प्रतिफल दिएको ट्रयाक रेकर्ड पनि राम्रो भएका कम्पनीहरुको भन्दा तुलनात्मक रुपमा निक्कै कमजोर कम्पनीहरुको सेयर मूल्य माथि रहेका उदाहरण अहिले प्रसस्त छन्। फाइनान्सियल इन्टेलिजेन्सले पनि काम नगर्ने गरी यस्तो ढंगले बजार किन चल्दैछ?
हामीकहाँ अज्ञानी लगानीकर्ताहरु (इग्नोरेन्ट इन्भेष्टर) को जमात धेरै छ । उनीहरुलाई केही कुराहरु भनेर उनीहरुको भावनासँग खेलेर आफ्नो स्वार्थअनुरुप लहलहैमा अत्याउने मत्ताउने मान्छेहरुको चलखेलका कारण यस्तो भएको हो। यसलाई म के भन्छु भने - बाटोमा एउटा नाङ्ग्लोमा पसल थापेर पनि खिचिरमिचिर सामानहरु बेचिरहेको हुन्छ र तिनै सामान सुपरमार्केटमा पनि बेच्न राखिएको हुन सक्छ। त्यस्तो सामान नाङ्ग्लो पसलबाट किनेको छ भने भोलि सामानमा कुनै खराबी देखिए फिर्ता गर्न जाँदा त्यो पसल नहुन पनि सक्छ । तर सुपरमार्केट त्यहीँ रहन्छ। कहिलेकाहीँ त्यही सामान बेचेर नाङ्ग्लो पसलले सुपरमार्केटभन्दा चार गुणा बढी नाफा कमाइरहेको पनि हुन सक्छ । तर यसको अर्थ सुपरमार्केट भन्दा नाङ्ग्लो पसल सुपेरियर भन्ने होइन। 

त्यसकारण जुन बेलामा आधारभूत मूल्य र त्यसको शक्ति हेर्नुपर्ने बेला आउँछ त्यतिबेला यस्ता कुराले काम गर्दैन । तपाईंको सोधेजस्तो हुनुको कारण यो जानीजानी बबलहरु सिर्जना गराइएका हुन् । मान्छेहरु जोखिमपूर्ण रुपमा किनबेच गरिरहेका छन् । विशेषगरी तपाईंले भनेजस्ता कमजोर कम्पनीको (सेयर) ट्रेडिङ गर्नु भनेको किनेको मूल्यभन्दा बढीमा बेचेर अर्कोलाई टोपी लाउन भ्याउँछु कि भ्याउँदिन भन्ने ध्याउन्न मात्र हुनु हो। मैले तपाईंलाई टोपी लाउन सकें भने म बचें, सकिँन भने म फसेँ । यसैले त्यस्ता कम्पनीमा लगानी भनेको पिन थुतेको बम खेलेजस्तो हो, पास गर्दै जाँदा जसको हातमा पड्कियो ऊ मर्‍यो ।

अब ट्रेडरहरुको दृष्टिबाट हेर्दा 'यी खत्तम कम्पनी होलान् रे, तर मलाई त नाफा दिएको छ नि' भन्ने विचार पनि आउला । तर त्यो धेरै दिन चल्दैन । यसो भन्दा  यस्ता कम्पनीको सेयर कारोबार गरिरहनुभएका साथीहरुलाई चित्त दुख्ला, 'मैले दुई महिनामा एकको दुई गरिसकें, तँ राम्रा कम्पनी भन्दै बसेर जहाँ को त्यहीँ छस्' पनि भन्नु होला । तर उहाँहरुले सधैं त्यस्तो कम्पनीको सेयरमा गरेको लगानी एकको दुई गर्न सक्नुहुन्न । त्यसका बाबजुद त्यसैमा लागिराख्नु हुन्छ भने एउटा विन्दु आउँछ जहाँ उहाँहरुले एकको दुई गरेको पैसा गुमाउनु हुन्छ । यसको मतलब ट्रेडरहरुले खराबै गरिरहेका छन् भन्ने त होइन तर साह्रै जोखिमपूर्ण काम भने गरिरहनु भएको छ ।

हाम्रोमा अहिले ज्यादै उत्ताउलो पाराले ट्रेडिङ भइरहेको छ । यस्तो कुनै पनि हालतमा राम्रो होइन। अर्को, राम्रा कम्पनीको सेयरमा गरिने दीर्घकालिन लगानी (भ्यालु इन्भेष्टमेन्ट) लाई पनि ट्रेडिङले प्रतिस्थापन गर्न सक्दैन। तैपनि दुइटैको आ-आफ्नै ब्युटी छ। फेरि हामी त्यस्तो कुबेरका सन्तान होइनौं कि किन्दै होल्ड मात्र गरेको गर्‍यै गर्न सक्ने ।

---

'ट्रेडिङ' र 'भ्यालु इन्भेष्टमेन्ट' मध्ये तपाईं कुनमा बढी विश्वास गर्नुहुन्छ?
हाम्रोमा अहिले ज्यादै उत्ताउलो पाराले ट्रेडिङ भइरहेको छ । यस्तो कुनै पनि हालतमा राम्रो होइन। अर्को, राम्रा कम्पनीको सेयरमा गरिने दीर्घकालिन लगानी (भ्यालु इन्भेष्टमेन्ट) लाई पनि ट्रेडिङले प्रतिस्थापन गर्न सक्दैन। तैपनि दुइटैको आ-आफ्नै ब्युटी छ। फेरि हामी त्यस्तो कुबेरका सन्तान होइनौं कि किन्दै होल्ड मात्र गरेको गर्‍यै गर्न सक्ने । निश्चित नाफा बुक गरेर त्यहाँबाट केही पैसा निकाल्नुपर्ने हुन्छ। यसका लागि पोर्टफोलियोलाई आफ्नो लगानी रुचीअनुसार मिश्रण गर्नु महत्त्वपूर्ण छ। 

त्यसकारण प्रुडेन्सियल्ली गर्ने हो भने तपाईं मुलतः दीर्घकालिन लगानीकर्ता हो भने ६०-७० प्रतिशत भ्यालु इन्भेष्टमेन्ट गरेर राख्नुस् , ३०-४० प्रतिशत ट्रेडिङ  गर्नुस् । र, तपाईं मुलतः ट्रेडर हो भने ठ्याक्क विपरित गर्नुस् । ताकि ट्रेडिङमा गरेको धेरै लगानीमा झट्का नै खाइयो भने पनि भोलि ३०-४० प्रतिशतको भ्यालु इन्भेष्टमेन्टले उतार्छ।पैसाको गुणात्मक वृद्धिको शक्तिको जुन जादु छ त्यसमा दीर्घकालका लागि गरिएको भ्यालु इन्भेष्टले जित्छ, तत्कालको ट्रेडिङसँग त्यसको तुलना हुन सक्दैन।

म  विशेषतः भ्यालु इन्भेष्टर भएकाले यस्तोखाले जम्पिङ ज्याकमा जाँदै जान्न । यसैले उदाहरणका लागि अहिले हाइड्रोको सेयर मूल्य जति बढे पनि मलाई त्यसले छुँदैछुन्न, तर मेरो पोर्टफोलियोमा यो पनि छ। यस्तै, बैंकको बढ्दै बढेन भने पनि त्यसले मलाई छुँदैन। किनभने बैंकको सेयर मूल्य अहिले नबढे पनि त्यसले चारगुणा बोनस सेयर थपेर दिइसकेको छ, यसको अर्थ बैंकको चारगुणा मूल्य त पहिल्यै बढिसकेको छ नि त। अब अहिले पनि त्यही अनुसार बढोस् भनेर हुन्छ र? 

सेयर बजारलाई आफ्नै  लयमा छोडिदिनुपर्छ, बजार संयन्त्रले आफैं काम गर्छ भन्ने एउटा तर्क सुनिन्छ भने नियामकले यसमा लगाम कस्नुपर्छ भन्ने अर्को मत छ। तपाईंको धारणा के छ यसमा?
राज्यको दायित्व जनताको जीउधनको रक्षा गर्नु पनि हो । सेयर बजारमा हुने लगानी पनि जनताको धन हो । यसैले राष्ट्र बैंक, धितोपत्र बोर्डजस्ता सरकारका प्रतिनिधिहरुको कामै बजारलाई नियमन गर्ने हो, त्यो हुनुपर्छ। बजारमा माग र आपूर्तिको कोर्स वा लय हुन्छ, त्यसलाई नकार्न सकिँदैन। तर यसको मतलब यो होइन कि बजारलाई जता जान पनि छोडिदिनुपर्छ । विधि-प्रक्रिया वा संरचनामा बसेर बजारले फङ्सन गर्नुपर्छ।

नियामक निकायको भूमिका बजारमा अबुझ लगानीकर्ताहरु धेरै आएको अहिलेको जस्तो अवस्थामा झन् बढी हुन्छ र हुनुपर्छ। तर यसको मतलब नचाहिने ठाउँमा हस्तक्षेप गर्ने होइन ।  नियामकले बजारका लागि राम्रो वातावरण पनि बनाउने हो र परेको बेला डन्डा लाउने पनि हो । नियामक निकायहरु बलियो भएर बजारलाई विधि-प्रक्रियाबाट एउटा धारमा लैजानुपर्छ। खुला छाड्यो भने झन् अराजकता निम्तिन्छ, झन् जोखिम हुन्छ । यसकारण नियामकले सेयर बजारमा एउटा तहको नियन्त्रण वा हस्तक्षेप गर्नुपर्ने अवस्था भइसकेको छ अहिले।

अघि सारिएका नीतिगत ‌औजारलाई पनि हाम्रो पुँजीबजारले खासै रेस्पोन्स गरेको देखिँदैन नि ? 
नीति ल्याइसकेपछि त्यसलाई हेर्ने, अध्ययन गर्ने, बुझ्ने अनि त्यसको विश्लेषण गरेर प्रतिक्रिया जनाउने समुदाय हुन्छ। हाम्रो सेयर बजारको हकमा यस्तो कम्युनिटी नै छैन वा असाध्यै सानो छ भन्दा हुन्छ। यसकारण पनि ल्याइएका नीतिहरुले काम गर्न नसकिरहेको हो। नियामकले ल्याएको नीतिले मलाई कस्तो असर गर्ला भनेर सोच्ने र त्यसअनुरुप प्रतिक्रिया जनाउने लगानीकर्ताको घेरा साह्रै साँघुरो छ । बहुसंख्यक लगानीकर्ताले नीतिगत झट्का 'इन्टर्नलाइज' नै गर्दैन । नीति बुझ्ने समुदाय नभएपछि त्यो ल्याउनुको अर्थ हुँदैन । अहिले 'जे आउँछ मार्केटले पचाउँछ' भन्ने न्यारेटिभ त्यही कारण आइरहेको हो।

सेबोनले मंगलबार नामै तोकेर ५१ कम्पनीलाई 'जोखिमयुक्त'मा सूचीकृत गरेपछि सेयर बजार 'डिप बियरिस रन' तर्फ जानसक्ने अड्कलबाजीहरु पनि हुन थालेका छन्। त्यस्तो सम्भावना र सेबोनको उक्त कदमबारे तपाईंको धारणा के छ?
नियामक निकायले परिस्थितीअनुसार नियन्त्रण गर्नेदेखि पुँजी बजारलाई फस्टाउनका लागि वातावरण बनाउनेसम्मका कामहरु गर्छ। तर हाम्रो नियामक निकाय लामो समय निष्क्रिय बस्यो। 'बजार घटेका बेला त्यसलाई उकास्न केही पनि काम गर्दैन, बढेको बेला अंकुश लगाउने कामहरु मात्रै गर्छ' भनेर धेरै आलोचना हुने गरेको छ। अहिले त्यही देखियो। यद्यपि, त्यो कदम उसको नियामकीय वैधानिक अधिकारभित्रै पर्ने भएकाले यसो किन भनेर प्रश्न गर्ने ठाउँ छैन। कसरी गर्यो भन्नेमा प्रश्नहरु उब्जिएका हुन्। कम्पनीहरु पनि पुँजी बजारका एउटा स्टेकहोल्डर हुन् । नामै तोकेर जोखिमयुक्त भनेर सूचीमा राखेकामध्ये कुनै कम्पनी अलिक राम्रा पनि होलान्, कोही असक्षम नै पनि होलान्, तर उनीहरुको ब्रान्ड पनि त्यसमा जोडिएको हुन्छ। त्यो ब्रान्ड इमेजमा सेबोनको कदमले धक्का पुगेको छ ।

तर नकारात्मकताभित्रको पनि सकारात्मक पाटो हेर्ने हो भने - त्यो सूचीले धेरै लगानीकर्तालाई एउटा चेकलिष्ट दिएको छ । त्यसमा आफ्नो सेयर भएका पनि कुनै कम्पनी परेका छन् र साँच्चिकै बढी मूल्य तिरेर जोखिमयुक्त कारोबार गरिएको छ भने अलिकति सँच्चिने मौका पनि हो। आफू विश्वस्त छ भने सूचीमा परेकै कम्पनीको सेयर पनि होल्ड गरेर बस्दा भयो। 

सेबोनले लिष्ट निकालेपछिका दुई दिनमा यसमाथि धेरै छलफलहरु हुँदा धेरै मान्छे यसबारे सुसूचित भएकाले लगानीकर्तालाई अलिकति आत्मविश्वास चाहिँ दियो । तर नियामक निकायको कदम भएकाले केही न केही त्यसको प्रभाव पर्नु नै थियो, त्यसैले बुधबार बजार केही घट्यो। सेबोनको सूचीका केही कम्पनी अलिकति कमजोर नै पनि छन् । केही नपर्नुपर्ने कम्पनीसमेत परेका छन् । त्यसले गर्दा पनि बजार केही घट्यो। तर तीन हजारको विन्दुमा पुगेको बजारमा ५२ अंकको करेक्शन भनेको एकदमै सामान्य हो र यो नियामकको कदमलाई बजारले गरेको रेस्पोन्स हो भन्छु म। अब यो आज एक दिन यो साताको कारोबार दिन बाँकी छ, आज सम्हालियो भने विस्तारै बजार आफ्नो लयमा फर्किन्छ जस्तो लाग्छ। 

बुधबारको करेक्शन डिप बियरिस ट्रेन्डको शुरुआती विन्दु भने हुन सक्दैन । तर अझै थप कडाइ गर्ने भन्ने समाचारहरुमा आइरहेको छ । राष्ट्र बैंकको मौद्रिक नीति आउने क्रममा छ । यसकारण पुँजी बजारको नियामक सेबोन र मौद्रिक बजारको नियामक राष्ट्र बैंकबीच यस विषयमा कसरी तालमेल नीतिगत हुन्छ भन्ने कुराले पनि आगामी दिनमा सेयर बजारको दिशा तय गर्नेछ । नियन्त्रण गर्नुपर्छ कि भन्ने मुडमा सरकारी निकायहरु रहेको चाहिँ देखिन्छ । यसैले थप कदमहरु चाल्दै गयो र त्यसलाई बढावा दिने कामहरु हुँदै गए भने त भोलि बजार कता जान्छ भन्न सकिँदैन । तर अन्य कुराहरु अहिलेसम्मकै अवस्थामा यथावत रहेमा अलिअलि करेक्शन आउँछ। स्वस्थ करेक्शन भएर बजार माथि जान्छ । यहाँबाट बियरिस ट्रेन्ड स्थापना हुने चाहिँ मैले देखेको छैन।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell