अधिकांस ब्यवसाय राम्रो भएर बैंक ऋण रिकभरी भएको छ, बैंकर भुवन दहालको अन्तर्वार्ता




कोभिड कहरकै बीच बैंक वित्तीय संस्थाहरुले चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। कोरोना संक्रमणबीच अन्य उद्योग व्यापार चौपट हुँदासमेत बैंकहरुले उच्च नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन्। २७ बाणिज्य बैंकहरुले नौं महिनाको अवधिमा ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेका छन्। औसतमा यो अघिल्लो बर्षको तुलनामा १२.१४ प्रतिशतले धेरै हो। पछिल्लो तीन महिनासँग तुलना गर्ने हो भने बैंकहरुले ३१ अर्बको नाफालाई ५० अर्ब ७४ करोड पुर्याएका हुन्।

कोभिड-१९ संक्रमणपछि पर्यटन क्षेत्र सबैभन्दा प्रभावित छ। यसबाहेक अन्य क्षेत्र पनि प्रभावित भएको छ। तैपनि बैंकहरुले उच्च नाफा गरेका छन्। यसैलाई लिएर वित्तीय क्षेत्रसँग सरोकार राख्नेहरुले असहमति राखेका हुन्। सामाजिक सञ्जालहरुमा आलोचना पनि भइरहेको छ। यसै सन्दर्भमा बिजमाण्डूले बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाललाई सोध्यो- यस्तो बेलामा पनि धेरै बैंकहरुको नाफा उच्च देखियो। यसको आलोचना पनि खुबै भयो। किन यतिसाह्रो गरेका बैंकहरुले?

TATA
Safety
Riddhi siddhi Cement


तथ्यांकमा आधारित भएर कुरा गरौं न। त्यस आधारमा बैंकहरुको नाफा त खासमा घटेको छ। अरु संस्थाहरु घाटामा छन्, बैंकहरु उच्च नाफामा छन् भन्ने गतल बुझाइ स्थापित भएका कारण पनि आलोचना भएको हो।

मैले हामी (सानिमा बैंक) सँग दुई करोड रुपैयाँभन्दा बढि ऋण लिने ग्राहकको लेखा परीक्षण गरिएको विवरण अध्ययन गरेको थिएँ। मैले लगभग सबैको (एकाध छुटे भने बेग्लै हो) विवरण हेरेको छु। केही क्षेत्रहरु जस्तो: होटलहरु नोक्सानमा थिए। विद्यालयहरु (जसले चैतको फि उठाउन पाए उनीहरु नाफामा थिए) घाटामा थिए। केही क्षेत्रका बाहेक अधिकांसले नाफा गरेका छन्। हो, केहीको नाफा घटेको छ, केहीको बढेको छ। बैंकहरुले मात्र नाफा गरे भन्ने कुरो नै एकदमै गलत हल्ला हो। यसमा हामीले भ्रम चिर्न नसकेको पक्कै हो।

यसपाली चैतमा नाफा उच्च भएको कुरा अहिले आएको छ। गत बर्षको चैतभन्दा यसपालीको चैतमा ऋण ६९४ अर्ब रुपैयाँले बढेको छ। यो भनेको २४.२८ प्रतिशतको ऋण वृद्धि हो। तर खुद ब्याज आम्दानी भने बैंकहरुको २.२२ प्रतिशतले घटेको छ। बैंकको मुल आम्दानी भनेको ब्याज आम्दानी हो। ऋण बढाएपछि ब्याज आम्दानी बढ्नु पर्नेमा उल्टो घटेको छ। २४ प्रतिशतले ऋण बढाउँदा खुद ब्याज आम्दानी २.२२ प्रतिशतले घट्यो।

अन्य सञ्चालन आम्दानी भने बैंकहरुको उच्च दरले बढेको छ। यो १०७ प्रतिशतले बढेको छ। तीन अर्ब ३३ करोड आम्दानी थियो गत बर्षको चैतमा, यसपालीको चैतमा ६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अन्य सञ्चालन आम्दानी कसरी बढ्यो त? यसमा मुल आम्दानी सेयर बिक्रीबाट भएको छ। बैंकहरुसँग केही कम्पनीहरुका सेयर थिए। त्यो बिक्री गरेर उनीहरुले अन्य सञ्चालन आम्दानी वृद्धि गरेका हुन्। यसपाली मूख्य आम्दानी सेयर बेचेर भएको हो। सेयरबाट १०७ प्रतिशतले आम्दानी बढाउँदा बढाउँदै पनि, ऋण २४ प्रतिशतले बढाउँदा बढाउँदै पनि बैंकको सञ्चालन नाफा ०.१२ प्रतिशतले बढेको छ। यो भनेको त निकै कम होइन र? 

अब कर पछाडिको नाफा कसरी बढ्यो त? यसमा केही पृष्ठभूमिहरु छन्। यो १२ प्रतिशतले बढेको छ। गत बर्ष असारमा १९ अर्ब १६ करोड प्रोभिजनिङ गरेका थियौं। अब त्यो पैसा ब्यापक रुपमा उठेको छ। चैतसम्म आर्थिक गतिविधि एकदमै ब्यापक रुपमा राम्रो भएको थियो। सरकारको राजस्व लक्ष्यभन्दा बढि उठेको छ। आर्थिक गतिविधि राम्रो भएको कारण चैतमा प्रोभिजनिङ (नोक्शानी ब्यवस्थापन) गरेको पैसा फिर्ता भयो।

असारदेखि चैतसम्म ६९४ अर्ब रुपैयाँ ऋण बढेको छ। एक प्रतिशत प्रोभिजनिङ गर्नै पर्छ असल ऋणमा पनि। यस हिसाबले पनि ६ अर्ब ९४ करोड रुपैयाँ त प्रोभिजनिङ गर्नै पर्छ। तर, चैतमा एक अर्ब २१ करोड मात्र प्रोभिजनिङ छ। अर्थात ५ अर्ब ७३ करोड रुपैयाँ त गत बर्ष गरेको प्रोभिजनबाट राइटब्याक भएको रहेछ नि त होइन? यसपाली आम्दानी बढेको भनेको आर्थिक गतिविधि राम्रो भएर, बैंकहरु रिकभरी राम्रो भएर हो। १२.१४ प्रतिशतले बढेको हो। 

प्रोभिजनिङलाई हटाउने हो भने त नाफा घटेको छ। पुरानो पैसा छुट्याएर राखेको पैसा फिर्ता आएकाले नाफा बढेको देखिएको हो। हामीले सञ्चालन मुनाफा हेर्नु पर्छ। त्यो त एक प्रतिशतभन्दा निक्कै कमले मात्र बढेको छ।

अंकमा नाफा देखिने तर पुरानो पैसा आएर मात्र बढेको भन्ने कुरा त एउटा तर्क भयो। बैंकहरु स्वयंले नै विज्ञप्ति जारी गरेर आफ्नो नाफा बढेको घोषणा गरिरहेका छन्। 
त्यो गलत काम हो। फाइनान्स नबुझी गरिएको विज्ञप्ति हो त्यो। यस्तो बेला (निषेधाज्ञा लागेको) छ। यस्तो बेलामा कस्तो प्रतिकृया दिने भन्ने थाहा नपाएका हुन् कि? तर बैंकहरुले ऋणीहरु ट्रयाक गरेका छन्। चैतमा ऋणीको राम्रो पर्फर्मेन्स छ। बिक्री एकदमै बढेको छ। सिमेन्ट, स्टील, इँटा, गाडी, बाइक सबैको राम्रो छ। यसबाहेक पनि राम्रो छ। 

समग्रमा भन्दा बैंकको नाफा बढेको छैन। धेरैले सेयर बेचेर नाफा बढाएका देखिन्छ। खासगरी लघुवित्त, बीमा, नागरिक लगानी कोष कम्पनीको सेयर बैंकहरुसँग थिए। ती सेयर बिक्री भयो। त्यो पैसा फिर्ता आएर नाफा देखिएको हो। यसबाहेक प्रोभिजनिङ गरेर पुरानो पैसा उठाएका छन्। अहिलेको नयाँ ब्यापारबाट नाफा बढेको छैन। 

यो तर्कका लागि तर्क होइन, नाफा नै घटेको हो। सञ्चालन मुनाफा हेर्ने हो त्यो हिसाबले घटेको छ। प्रोभिजनलाई हिसाब गरेर नाफा देखिएको हो। प्रोभिजनिङ भनेको अहिलेको नाफा होइन नि, त्यो त आर्थिक गतिविधि राम्रो भएर डुबेका ऋण उठेको हो। रिकभरी राम्रो भएको हो। ऋणीले पैसा तिरिदिएर राम्रो भएको हो।

निषेधाज्ञापछि कस्तो देख्नु हुन्छ बैंकिङ, अर्थतन्त्र?
अब त एकदमै बिजोग हुनेवाला छ। ऋणीले आर्थिक गतिविधि गर्न पाएका छैनन्। यसले आपूर्तिको चेनलाई अबरुद्ध गर्छ। यसमा मलाई चिन्ता छ। नभए चैतसम्म हेर्दा म चिन्तित थिइन। एकदमै राम्रो गतिविधि थियो। चैतसम्मको तथ्यांकले १२/१३ प्रतिशतको प्रतिफल दिएको थियो, जुन नराम्रो होइन। यो सन्तोषजनक नै हो। अब भने अलिक समस्या हुन्छ जस्तो देखिन्छ।

बैंकर र राजनीति गर्नेको कुरा पत्याउनै गाह्रो हुन थालिसक्यो। बर्बाद छ भनेको भोलिपल्टदेखि राम्रो हुन्छ।
१९ अर्बको नोक्सानी पोहोर गरिएको थियो। त्यो बिजोग अवस्था होइन र? निषेधाज्ञाले आर्थिक गतिविधि रोकिएको छ। यसपछि त ऋणीले पैसा नतिर्लान् कि भन्ने चिन्ता हो। गत बर्ष पनि लकडाउन गरेको सुरुवाती तीन महिना १९ अर्ब प्रोभिजनिङ गरिएको थियो। निषेधाज्ञा कहिलेसम्म लम्बिने हो थाहा छैन। त्यसो हुँदा बिजोग नहोला र? 

अबको तीन महिना अलिकति जटिल भन्ने बुझाइ बैंकरको हो?
वैशाख, जेठ, असार त निक्कै चुनौतीपूर्ण नै देखिएको छ। लकडाउनको अवस्था छ। आर्थिक गतिविधि हुने अवस्था छैन। भारतमा कहिले नियन्त्रण हुन्छ भन्ने थाहा छैन। भारत र नेपालमा प्रत्यक्ष लिंक छ। 

तीन महिना प्रभावित हुने भए पनि चैतसम्मको कमाइले बर्ष दिन त राम्रो बनाइ दिइहाल्यो नि होइन?
माघ, फागुन र चैतको ब्यापार राम्रो भएको छ, यसमा शंका नै भएन। तर पोहोरको तथ्यांकलाई हेर्दा प्रोभिजनिङ बढेको छ। चैतमा १० अर्ब नोक्सानी ब्यवस्थापन थियो। असार मसान्तमा १९ अर्ब पुग्यो। तीन महिनामा ९ अर्ब बढ्यो। यसपाली पनि त्यो बढ्ने अवस्था देखिएको छ। 

पोहोर लकडाउन थियो देशब्यापी। यसपाली निषेधाज्ञा छ, प्रभावित जिल्लाहरुमा मात्र। कम क्षमतामा भए पनि यसपाली उद्योगधन्दा चलेका छन्। प्रशासन पनि अलिक ब्यवहारिक देखिएको छ पोहोरको तुलनामा?

लकडाउन त भर्खर न सुरु भएको छ। अब बिस्तारै ऋण ठप्प हुन्छ। हाम्रोमा (सानिमा बैंक) मा ऋण घट्न थालिसकेको छ। ४/५ दिनयता ऋण घटेको देखिन्छ।

यसपाली अलिक खुकुलो छ उत्पादनमा तर वितरणमा समस्या छ। बजारसम्म पुर्याउन त सकिने अवस्था छैन। बजारमा नपुर्याएपछि पैसा आउँदैन। अहिले सिमेन्ट उद्योग चलिरहेको होला। तर सिमेन्ट बिक्री गर्ने डिलर पसलहरु त बन्द छन्। निर्माणको काम पनि प्रभावित छ। मान्छे बाहिर निस्किन पाएका छैनन्। काम सुरु भएपछि त समस्या होइन, तर बिक्री नभएसम्म त पैसा आउँदैन। निषेधाज्ञा चाँडै सकियो भने त गाह्रो नहोला तर असारसम्मै लम्बियो भने त गाह्रो हुनेवाला छ।

लकडाउनजस्तो देशब्यापी छैन नि?
मूख्य ठाउँहरुमा लकडाउन नै छ नि। हाम्रो ७० प्रतिशत निक्षेप उठ्ने र ५० प्रतिशत ऋणको कारोबार हुने काठमाडौं उपत्यका। त्यो अहिले बन्द छ। त्यसपछि वीरगंज, विराटनगर, रुपन्देही, अर्को नेपालगञ्ज। यी सबै ठाउँ अहिले प्रभावित छन्।

कतिभन्दा बढि भयो भने धान्न गाह्रो होला?
मलाई लागेको एक महिनासम्मको लकडाउन भयो भने फेरि रिकभर गरिहाल्छन्। ब्यवसायीले यहाँसम्मको धान्लान् भन्ने हो। जति लम्बिँदै गयो त्यति अप्ठ्याराहरु थपिँदै जाने हो।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell