फ्रेन्चाइज फुटबलमा कर्पोरेट युवा पुस्ताको प्यासन, फुटबल र खेलाडीलाई व्यवसायिक बनाउने 




काठमाडौं। घरेलु फुटबलमा नयाँ प्रयोगस्वरुप नेपाल सुपर लिग (एनएसएल) को सुरुवातमा देशका ठूला कर्पोरेट घरानाहरु जोडिएका छन्। 

भारतमा हुँदै आइरहेको इण्डियन सुपर लिग (आईएसएल) कै रूपमा नेपालमा प्रतियोगिता हुन गइरहँदा व्यवसायिक घरानाहरुको इन्ट्री पनि त्यसरी नै भएको छ।

TATA
Safety
TVS

नियमित व्यापारबाहेक घरानाहरु टिम लिएर अगाडि बढेका हुन्। भारतमा गोयन्का, टाटादेखि बलिउड तथा क्रिकेट स्टारसम्मको लगानीले त्यहाँको फुटबलले फड्को मारिरहेको छ। अझ इन्डियन प्रिमियर लिग(आइपीएलमा) भारतको व्यवसायिक घरानाले नाम र दाम दुवै पाए। त्यो देखेका नेपाली व्यवसायिक घराना क्रिकेटहुँदै फुटबलमा छिरेका हुन्। नेपालको व्यवसायिक क्षेत्रमा सफलता हात पारेका कर्पोरेट घरानाले लगानी थालेका छन्।

अहिले सात फ्रेन्चाइज टिममा कर्पोरेट छिरेका छन्।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर लाखेज फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी टिम रहेका छन्। 

चितवन टिम आइएमई समूह, पोखरा टिम लक्ष्मी समूह, ललितपुर टिम भाटभटेनी समूह, काठमाडौं टिम मोरङ अटो वर्क्स, बुटवल टिम भिजन सेक्युरिटिजले होल्ड गर्छ। यो सबै समूहका सेकेण्ड जेनेरेसनले टिमको नेतृत्व गर्दैछन्।

ललितपुरका टिमको कल्याण गुरुङ, चितवनका टिमको सचिन ढकाल, पोखराका टिमको निराकार श्रेष्ठ, बुटवलका टिमको राजकुमार तिमल्सिनाले नेतृत्व गरिरहेका छन्। धनगढीका टिमको सुवासबहादुर शाही, काठमाडौ टिमको चिरन्जीवी शाह र विराटनगरका टिमको नेतृत्व अनुपरन्जन भट्टराई गरिरहेका छन्।

एफसी चितवन
एफसी चितवनका मालिक हुन् व्यवसायी चन्द्र ढकाल। आइएमई ग्रुपका अध्यक्ष रहेका उनी उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत हुन्। फुटबलमा लगानीका लागि भने सक्रिय रूपमा लागेका छन् उनका छोरा- सचिन ढकाल। सचिन भर्खर २२ वर्ष पुगे। तर फुटबलमा उनको अनुभव भने राम्रो छ। भारतमा रहेर पढाइ गर्दैगर्दै उनी आफैंले पनि त्यहाँको स्टेट लेभलसम्मको फुटबल खेलेका थिए। 

फुटबलमा सोख भएकैले सानैबाट नेपाली फुटबललाई पनि नजिकबाट हेरिरहेका थिए उनले। म्यानचेस्टर युनाइटेडका फ्यानसमेत रहेका उनी १२ कक्षाको पढाइ सकिएपछि लण्डन पुगे। त्यहाँ उनले युरोपको फुटबललाई नजिकबाट हेरे। युरोपमा रहँदा उनले केही प्रशिक्षकहरुसँग पनि भेट्ने अवसर पाए। जहाँबाट उनलाई लाग्यो, नेपालमा पनि फुटबलमा लगानी गरेर प्रवर्द्धन गर्न सकिन्छ। 

नेपाली फुटबलमा लगानी गर्नुको पछाडि मुख्यगरी दुई कारण देखाउँछन्: पहिलो उनको फुटबलप्रतिको प्यासन र दोस्रो 'ब्राण्डिङ'।

उनले अहिले नेपाली फुटबलमा देखेको कमी भनेको लगानी र पूर्वाधारको अभाव रहेछ। बाहिर जस्तो खेलकुदलाई जीवनशैलीका रूपमा लिनुपर्ने उनले बुझेका छन्।

'बाहिर त सबैभन्दा ठूलो उद्योगमध्येमा खेलकुद पर्छ। स्पोर्टसमा जान सानैदेखि प्रयास हुन्छ,' उनी भन्छन्, 'हाम्रो चाहिँ के भइदियो भने स्पोर्टसमा स्कोप देखिएन। अब एनएसएलले चाहिँ सानो रूपमा सुरु भए पनि लामो समयका लागि प्रभाव पार्न सक्छ।'

उनले अहिले फुटबलमा लगानी गर्दा ठूलो फरक देखिन दशकौं पनि लाग्न सक्ने बुझेका छन्। मार्की खेलाडी घोषणा गरिरहँदाको करार रकमको उदाहरण दिँदै उनले त्यसबाट खेलाडीलाई राहत मिल्ने देखिएको बताउँछन्। फुटबलमा काठमाडौं भित्रकै क्लबहरु बाहेक बाहिरको पनि प्रतिनिधित्व आउनु राम्रो हुने बताउँछन्। 

'प्रोफिटको कुरा सुरुमै आउँदैन। यो आउनलाई त्यही हिसाबले ब्रोडकास्टिङदेखि दर्शकको टिकेटिङबाट हुने हो। कोभिडका कारण टिकट धेरै नजाला,' उनी भन्छन्, 'टीभीमा भ्युअरसिप राम्रो नहोला। सुरुवातमा नाफा सोचेको छैन। यो लङ टर्मको कुरा हो।'

पहिला फाइदाभन्दा पनि फुटबल कल्चर बसाउनु ठूलो कुरा हुने बताउँदै उनले प्रतिप्रश्न गरे 'युरोपमै शीर्ष लिग खेल्ने पनि कति क्लब फाइदामा छन् र?'

चितवनले मार्की खेलाडीका रूपमा भरत खवासलाई भित्र्याएको छ। 

विराटनगर एफसी
विराटनगर एफसीको मालिक हुन् अनुपरञ्जन भट्टराई। उनी नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक पनि हुन्। अहिले उनी टेलिकम्युनिकेसनसँग सम्बन्धित व्यापार गर्छन्।

भट्टराईका तर्फबाट फुटबलको लगानीलाई हेर्दैछन् विराटनगर फुटबल क्लबका प्रोपाइटर सुभाशिष कोइराला। कोइराला फुटबलका एक्सपर्ट र भट्टराई व्यवस्थापनका। कोइरालाले बार्सिलोनामा गएर फुटबलको कोर्षसमेत गरेका छन्, जसलाई नेपालमा देखाउन उनी 'एक्ससाइटेड' छन्। 

पहिलो प्रतियोगिता त्यसमाथि छोटो समयको तयारी, त्यसैले होमवर्क पूरै पुग्न कठिन भएको उनी बताउँछन्। 

'फुटबलमा एक महिनाको समयमा होमवर्क पुग्दैन। हामी त्यो लेभलमा त पुगेका छैनौं तर बाहिरका टिमहरुलाई हेर्ने हो भने ८००/९०० जना खेलाडीलाई स्काउटिङ गरेको हुन्छ,' उनी भन्छन्, 'एनएसएलकै कुरा गर्दा जब यसको घोषणा भयो त्यो पछि यसको तयारी तीव्र भएको हो। अस्तिको रिभिल सेरेमोनी अघि पनि धेरै कुरा अघि बढिसकेको थियो। धेरै कुराहरु विभिन्न कन्ट्राक्टहरुका कारण बाहिर आएनन् होला तर यसको मतलब केही नभएको भने होइन।'

आफूहरुसँग मैदानबाहिरको लागि राम्रो टिम भएको र टिम बनाउने तयारी अन्तिम चरणमा पुगेको उनी बताउँछन्।

'टिम राम्रो छ। बार्सिलोनामा रहँदादेखि यहाँसम्म आइपुग्दा मसँग फुटबलको अनुभव पनि राम्रो छ। व्यवस्थापनको पक्षमा अनुप सर अनुभवी हुँदै हुनुहुन्छ,' उनी भन्छन्, 'अरु टिम पार्टको कुरा गर्दा सामाजिक सञ्जालदेखि हरेक पक्षमा हामीले डिस्क्लोज त गरिसकेको छैनौं तर छलफलको अन्तिम चरणमा छौं। किनभने यहाँ सबैभन्दा महत्वपूर्ण त टिम नै हो।'

एनएसएलको खेल संरचना र व्यवासायिक घराना यसमा जोडिनुलाई भारतीय प्रभाव भनेर विश्लेषण गरिएको पाइन्छ नेपालमा। तर राम्रो कुरा कतैबाट पनि सिक्नु नराम्रो नहुने तर्क कोइरालाको छ।

'यदि यसले खेलको स्तर र खेलाडीको स्तरलाई माथि लैजान सक्यो भने आईसएलबाट इन्सपायर भएको पनि मान्न सकिन्छ,' उनको तर्क छ, 'भारतमा फुटबलमा फाइनान्स आयो। यसले गर्दा खेलाडीहरु कम्फर्टेबल अवस्थामा पुगेका छन्। फरक त देखिन थालेको छ।'
यसमा उनले एउटा किस्सा थपे नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङको। 

'अनिल गुरुङसँग कुरा गर्दा भन्दै थिए हामीले खेल्दा भारत र नेपालमा त्यति फरक थिएन। अहिले त ह्युज छ,' उनले भने, 'यस्तो अवस्थामा आइएसएलबाट पनि इन्सपायर हुन कुनै अप्ठ्यारो मान्नुपर्ने अवस्था रहन्छ जस्तो लाग्दैन।'

त्यस्तै टिमका मालिक भट्टराईले पनि आफुले दीर्घकालीन योजना बनाएर लगानी गरेकाले अहिलेको मुख्य लक्ष्य टिम बनाएर जित्ने रहेको बताए। जसमा सही थप्दै कोइरालाले स्थिरता महत्वपूर्ण पक्ष हुने बताए।

'सबैभन्दा महत्वपूर्ण क्लबको स्टेयाविलिटी हो। यो होइन कि यो साल जित्यो अर्को साल क्लब नै छैन। यो वर्ष हेरौं कसरी जान्छ, त्यही हिसाबले हेर्ने। रेस्पोन्स हेर्नु छ,' उनले भने। 

प्रतियोगिताको बजेटबारे भने दुवै जना खुल्न चाहेनन्।

'एउटा पर्टिकुलर बजेट भन्न गाह्रै हुन्छ। यो त पहिलो सिजन सुरु हुन गइरहेको छ। विकास हुनका लागि त कम्तिमा ६/७ वर्ष त लाग्छ नै। ए डिभिजन भन्दा यो महँगो पक्कै हुन्छ,' उनले भने।

धनगढी एफसी
धनगढी एफसीका मालिक हुन् सुवासबहादुर शाही। धनगढी प्रिमियर लिग (डीपीएल) को अवधारणा ल्याएर नेपालीमा क्रिकेटमा पहिलो फ्रेञ्चाइज लिग भित्र्याएका उनी फुटबलमा पनि छिरेका छन्। उनी तेक्वान्दोमा पनि यसअघि नै जोडिइसकेका छन्। टेक्निकल्ली र अनुभवको हिसाबले अरु टिमभन्दा उनी अगाडि देखिन्छन्। 

‘सुरुमा प्रस्ताव आएको थियो। हामीले त्यसमा दोमन नगरी ओके भन्यौं। यसको महत्व र इम्प्याक्टबारे लामो अनुभवले फुटबलमा पनि यो सफल हुन्छ भनेर आएका हौं,’ उनी भन्छन्, ‘यसले शहरको ब्रान्डिङ त गर्छ नै सँगसँगै खेलाडीलाई पनि व्यवसायिक बनाउँछ। समग्रमा खेलको विकास हुन्छ। खेल व्यवसायिक भएपछि मात्र खेलाडी व्यवसायिक हुने हो र अघि बढ्ने हो।’

विशेषगरी क्रिकेटको क्षेत्रमा काम गरिरहेका उनी फुटबलको फ्रेन्चाइजमा प्रस्ताव आउनुलाई आफ्नो अनुभवसँग जोडेर हेर्छन्। त्यसैले सुरुमै फाइदाको पछि कुद्न नहुने बताउँछन्। भन्छन, 'सुरुको दुई तीन वर्षलाई चाहिँ हामीले लगानी वर्षको रूपमा लिनुपर्ने हुन्छ।'

खेलकुदको लगानीलाई दीर्घकालीन लगानीको रूपमा लिनुपर्नेमा उनको जोड छ। आफूले चाहेको भए कुनै एउटा इभेन्टबाट पनि पैसा बचाउन सक्ने अवस्था रहेको स्मरण गर्दै उनी आफूले त्यसो नगरेकाले खेलकुदको माध्यमबाट दीर्घकालीन फाइदा हुने काम गरेको बताउँछन्।

‘यदि हामी पैसा जोगाउन लागेको भए इभेन्टको ग्रोथ हुने थिएन। धनगढीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने या खेललाई अझै माथिल्लो स्तरमा लैजाने भन्ने उद्देश्य प्राप्ति हुँदैनथ्यो,’ उनी भन्छन्, ‘हामीले क्यास बेनिफिटभन्दा त्यसको दीर्घकालीन असरलाई हेरेका हौं।’

धनगढीले मार्की खेलाडीका रूपमा विशाल राईलाई अनुबन्धन गरेको छ।

नेपाली क्रिकेटको फ्रेन्चाइज लिगका सुरुवातकर्ता सुवास अब फुटबल टिमको मालिक छन्। भन्छन्, 'लगानी गर्ने हो, प्रतिफल दीर्घकालीन मिल्छ।'

काठमाडौं रेजर्स
रेजर अर्थात याहामाको स्कुटरको एउटा मोडल। अघिल्लो वर्ष असोज महिनामा यामाहाले यो स्कुटर निकालेको थियो। 'स्पोर्टी' स्कुटर भएकाले यसका लागि खेलकुदसँग जोडिन आफूले खोजिरहँदा एनएसएलको प्रस्ताव आएकाले ढुंगा खोज्दा देउता भेटिए जस्तो भयो यामाहालाई।

'दसैंमा हामीले रेजियार स्कुटर लञ्च गरेका थियौं। यो एकदमै स्पोर्टी स्कुटर हो। त्यसमा मेल राइडर धेरै आकर्षित छन,' चिरञ्जीवी शाहले भने, 'यसको प्रचारप्रसारको लागि माध्यम खोजिरहेका थियौं। हामीलाई ढुंगा खोज्दा देउता मिल्यो भनेजस्तै भयो। फुटबलमा त क्रेजी दर्शक छन्।'

शाह मोरङ अटो वर्क्सका प्रमुख कार्यकारी अधिकृत हुन्। कम्पनीका मालिक भने विष्णुकुमार अग्रवाल हुन्। उनी नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष पनि हुन्।

यामाहाका सीइओ शाह आफ्नो स्कुटीलाई स्पोर्टसमा जोड्न चाइरहँदा एनएसएलसँग 'उद्देश्य' मिलेकाले सहकार्यका लागि वातावरण सहजै निर्माण भएको बताउँछन्। 

त्यसो त यामाहा फुटबलसँग जोडिँदै आएको यो पहिलो पटक भने होइन। यसपटक पनि दीर्घकालीन योजना लिएर नै फुटबलमा प्रवेश गरेको सीइओ शाह बताउँछन्। तत्कालिन रुपमा हेर्दा चाहिँ यामाहाको एनएसएल प्रवेशमा मुख्य 'मोट्टो' ब्राण्डिङ नै रहेको देखिन्छ। 

त्यस्तै नेपाली खेलकुदमा यसरी लगानी गर्दा खेलकुदको पनि विकास हुने देखेको उनी बताउँछन्।

'खेलकुदमा लागेका मानिसहरु बाहिर जसरी स्वावलम्बन छन्, अरु केही नगरी टिकेका छन्। तर यहाँ जिन्दगी भर खेलकुदमा लागेर पनि अरु पेशा या जागिरमा निर्भर हुनुपरेको छ,' उनी भन्छन्, 'यदि हाम्रो योगदानले खेलकुद क्षेत्र स्वावलम्बी हुने बाटो खुल्यो भने त्यो भन्दा खुशीको कुरा के रह्यो र?

यसको तुलना उनले भारतको खेलकुदसँग तुलना गर्दै प्रतिप्रश्न गरे: भारतमै पनि व्यवासायिक हुनभन्दा अघि कमाइ त उही थियो नि होइन र?

भारतकै मार्केटबाट इन्सपायर हुनु भएको हो त? भन्ने प्रश्नमा शाह भन्छन्, 'फुटबललाई अरु कुरामा मिक्स गर्नु हुँदैन।'

मार्केटिङ पोलिसीको सन्दर्भमा हेर्दा यामाहा अरुभन्दा फरक देखिन्छ। अरु फ्रेन्चाइजीहरुले शहर रहेको प्रदेशमा सेन्टिमेन्ट बटुल्न कोसिस गरिरहँदा काठमाडौं रेजर्सको लक्ष्य भने सीमित शहर या प्रदेशका टीम मात्र प्रतिनिधित्व गराउने नभएर देशभर आफ्ना फ्यानहरु बटुल्ने योजना देखिन्छ।

'मलाइ के लाग्छ भने काठमाडौं भनेर काठमाडौंको खेलाडी छान्ने होइन यो। नेपालभरीबाट खेलाडी आउने हो,' उनी भन्छन्, 'हाम्रोचाहिँ काठमाडौं मात्र नभएर नेपालभरबाट फ्यान बनाउन खोजेको हो। हामीले विशेषगरी रेजरलाई प्रतिनिधित्व गराउन चाहन्छौं।'

सीइओ शाह फ्रेन्चाइजमा ग्ल्यामर पनि त्यही हिसाबले हुने स्वीकार्दै त्यसका लागि मानिसहरुलाई तान्न विभिन्न कार्यक्रम ल्याउने तयारी भइरहेको बताउँछन्। जसमा फुटसलको अवधारणादेखि 'इन्टरएक्सन' को माध्यम प्रयोग गर्ने लगायतका विषयमा छलफल भइरहेको उनले बताए।

'काठमाडौंको, पोखराको या धनगढीको सबैतिरको समर्थकले हामीलाई सपोर्ट गरुन भन्ने हामी चाहन्छौं। नकी कुनै ठाउँ विशेषको मात्रले,' उनले थप स्पष्ट पार्दै भने।

त्यस्तै लिगमा दर्शकहरु भित्र्याउन हुने चुनौतीलाई स्वीकार्दै कर्पोरेट क्षेत्र भित्रँदा दर्शक भित्र्याउने सम्भावनाहरु धेरै रहेको बताए। 

'हामी जस्ता कर्पोरेट अर्गनाइजेसनहरुले मार्केटिङ त राम्रो गर्न सक्छन् नि। जुन हिसाबले कर्पोरेटले मेहेनत गर्न सक्छन् त्यति नन-कर्पोरेटले त नसक्लान्,' उनी भन्छन्, 'हामी सबै टिमको लिग जित्ने भन्ने होड त हुन्छ अझ अर्को वर्ष कहिले लिग आउला भनेर पर्खेर बस्ने वातावरण बनाउन पनि आवश्यक छ।'

बजेटको बारेमा शाह पनि खुल्न चाहेनन्। उनले बजेट यति नै भन्ने नखुलाए पनि लिगमा आवश्यक क्षेत्रमा कुनै पनि कमी हुन नदिने गरी तयारीमा आफूहरु रहेको बताए।

'सातैवटा कर्पोरेट बजेटमै काम गर्ने हो। विश्वास गर्नुस् कि कुनैपनि कुराले हामीलाई स्टाबलिस्ट गर्न छेकबार लगाउँदैन। यसको प्रमोसनका लागि बजेट कम हुने अवस्था आउँदैन,' उनी भन्छन्, 'धेरै कुराहरु फिक्स कस्टमा आइरहेको छ। खेलाडीको पैसा तिर्नपर्‍यो। कोचको पैसा तिर्न पर्‍यो। अक्सनमा तिर्न पर्‍यो। यो त फिक्स कट नै ठूलो रकम आइसक्यो नि।'

बुटवल एफसी
नेपाली स्टक मार्केटको परिचित नाम हो- राजकुमार तिमल्सिना। र, अहिले उनले लगानी बढाएका छन् फुटबलमा। बुटवल लुम्बिनी एफसीका मालिक रहेका उनी दीर्घकालीन रूपमा खेलकुदको लगानीबाट ठूलो प्रतिफल मिल्ने देखेर हात हालेका छन्। यसको पछाडि अर्को पनि एउटा कारण छ: प्यासन। 

भिजन सेक्युरिटिजका प्रमुख उनी पहिले सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पनि हुन्।

युवा छँदा आफू पनि फुटबल खेलाडी रहेको स्मरण गर्दै तिमल्सिना त्यसपछि बिजनेसमा गएर फुटबलबाट टाढा भएको बताउँछन्। यद्यपि एनएसएलको माध्यमबाट फुटबलमा फर्कने अवसर मात्र होइन एउटा व्यवसाय र खेलकुद क्षेत्रलाई माथि लैजाने अवसरका रूपमा बुझेका छन् उनले। 

'बिजनेसमा आउनु अघि म आफ्नो क्षेत्रको राम्रै खेलाडीमध्येमा पर्थें,' उनले भने।

सुपरलिगमा ठूला घराना लगायतले उपस्थिति जनाइरहँदा आफूहरुले पनि ठूलो क्षेत्र समेट्ने गरि बलियो उपस्थिति जनाउन आएको उनको आशय छ।

अहिलेको फुटबल सेन्ट्रर बेस जस्तो मात्र देखिएको अवस्थामा आएको यो फ्रेन्चाइजमा देशका विभिन्न स्थानका शहरहरुको प्रतिनिधित्व हुने हुँदा खेल व्यवसायिक हिसाबले अघि बढ्ने उनको विश्लेषण छ। यो प्रयासले खेलकुद क्षेत्र व्यवसायिक बनाउँदै लैजाने बाटोमा कोसेढुंगा साबित हुनसक्ने उनले दाबी गरे। 

दर्शकको उपस्थिति पुग्ला भन्ने प्रश्नमा उनले भने 'हामी त 'ओभरक्राउड' भयो भने कसरी व्यवस्थापन होला भन्ने पनि सोचिरहेको छौं।'

टिमको सन्दर्भमा टिम कोच, मार्की प्लेयर र टिम म्यानेजरमात्र कन्फर्म भएकोले अक्सनपछि आक्रामक रुपमा अघि आउने मुडमा उनले बताए। अक्सनपछि स्थानीय खेलाडी झिक्न ट्यालेन्ट हन्टमा जानेदेखि खेलाडीहरुलाई सम्बन्धित सिटीमा लगेर आत्मियता बढाउँदै फ्यानबेस बढाउनेसम्मका योजना उनका सुनिए। 

'यसको उसको प्रभाव भन्दा पनि अहिलेसम्म नेपाली खेलकुदमा व्यवसायिकता छैन। यसले गर्दा खेलकुदमा लाग्दा मेरो भविष्य के? भन्ने प्रश्न उठ्छ,' उनी भन्छन्, 'तर खेलकुद व्यवसायिक भए खेलकुदलाई नै व्यवसाय बनाएर जानसक्छु भनेर खेलकुदमा आबद्धता बढ्छ।'

उनी नेपालीको अहिलेसम्म खेलाडीको कमाइ र विदेशी खेलाडीको कमाइलाई तुलना गर्दै भन्छन् 'खेलमा भविष्य नभएको होइन तर खेल व्यवसायिक हुनपर्छ।'

लगानीको रुपमा तत्कालै फाइदा हुने नभए पनि दीर्घकालीन रूपमा भने यसबाट राम्रो उपलब्धि हात पर्ने उनले देखेका छन्।

'हाम्रो सोचाइ यो क्लबलाई वन गरेर यतिमै सीमित हुने भन्ने होइन। यो स्पोर्टसमा इन्ट्रीमात्र हो। पछि यसलाई एकेडेमीका रूपमा विकास गरेर खेलकुदमा निरन्तर रहने गरी अघि बढ्ने हाम्रो योजना हो,' उनले भने।

त्यस्तै लगानीका लागि वातावरण देखेपछि आफूहरु आएको आशय उनको बुझियो।

'एउटा व्यवसाय सञ्चालन गरेको व्यवसायीले के हेर्छ भने जुनसुकै क्षेत्रमा नि त्यो मेरो व्यवसाय सस्टेन गर्छ कि गर्दैन? त्यसमा व्यवसायिकता कायम हुन्छ कि हुँदैन भन्ने हेरेको हुन्छ,' उनी भन्छन्, 'खेलकुद पनि अब व्यवसायिक हुन्छ भन्ने लागेपछि अरु व्यवसाय गरिरहेका व्यवसायी पनि खेलकुदमा आबद्ध भए। खेलकुदमा व्यवसायिकरण हुन्छ भन्ने लाग्यो ब्यवसायीलाई।'

विदेशी खेलाडीको सन्दर्भमा साउथ एसिया र त्यो भन्दा बाहिरबाट खेलाडी ल्याउने गरी छलफल भइरहेको पनि उनले बताए। त्यस्तै उनले युरोपकै एउटा देशबाट खेलाडी भित्र्याउने आफूले सोचेको भए पनि टेक्निकल टिमको सल्लाहमा त्यो अहिले स्थगित भएको उनले सुनाए।

'कोभिडको महामारीकै क्रममा प्रतियोगिता हुने भन्ने सूचना पाइसकेकाले त्यसका लागि तयारी गर्ने भनेर प्लानिङमा थियौं। ग्रुपले क्लब वन गरेर जाने भन्ने मोडालिटी चाहिँ बनेको थिएन,' उनी भन्छन्, 'अब चाहिँ गेम हुन्छ भन्ने भएपछि वहाँहरुले पनि तयारी थाल्नुभयो। हामी पनि मिस नगर्ने भन्ने हिसाबले लाग्यौं।'

पोखरा फुटबल क्लब: 
पोखरा एफसीको स्वामित्व लक्ष्मी ग्रुपसँग छ। र, यसलाई हेरिरहेका छन् लक्ष्मी ग्रुपका निर्देशक निराकर श्रेष्ठले। श्रेष्ठ एएनएसएलको अवधारणाबारे पछिल्लो दुई वर्षयता छलफल भए पनि अघि बढ्न नसकेको र केही महिना अघिबाट गति लिएको बताउँछन्। 

'केही महिना अघिबाट कुरा भइरहेका थिए। र, अन्ततः एन्फा र एनएसएल ओनर वहाँहरुको कुरा अलाइन भइसकेपछि फ्रेन्चाइज टिमहरु खुला गर्नु भयो,' उनी भन्छन्, 'अलिकति छोटो समयमा भयो। यो गति जुन देखिरहनु भएको छ, यो ढिला भएकाले अलि स्पीडअप दिएको हो।'

नेपालमा चलिरहेको लिग भन्दा यो फरक रहने उनको बुझाइ छ। 

'यो भनेको अलिकति फ्लास्सी, मार्केटेबल हुनेछ।' उनी यसको उदाहरणका रुपमा भारतीय क्रिकेट लिग आईपीएल र फुटबल लिग आईएसएललाई देखाउँछन्।  उनको जोड भारतमै पनि यस्तो फ्रेन्चाइज आउनु अघि र अहिलेको सन्दर्भमा फरक पनलाई लिएर छ। 

'पछिल्लो ८/१० वर्षमा आईपीएल आएपछि भारतमा क्रिकेटको स्तर नै फेरियो नि। कर्पोरेट हाउस आएपछि खेलमा पैसा बढ्छ। त्यसले खेलाडीको आम्दानी पनि त्यही हिसाबले बढ्ने भयो,' उनी भन्छन्, ' र, मानिसहरुलाई खेलमा चासो पनि त्यतिकै जाग्ने भयो। खेल हेर्न जाँदा पनि त्यहाँको व्यवस्थापनले नै टिमसँग जोडिनुको मजा दिलाउँछ।'

त्यसपछि खेल हेर्ने मानिसहरुको चासो पनि बढ्छ र समग्रमा लिगमा लगानी आइसकेपछि र क्यापिटलको फ्लो भएपछि मैले यसबाट जीवन चलाउन सक्छु या करियर बनाउन सक्छु भन्ने आत्मविश्वास पलाउने भन्ने बुझाइ उनको छ।

'यसरी खेलको विकास पनि हुने भयो र कर्पोरेट क्षेत्रलाई रिटर्न पनि आउने भयो। यो त बिजनेसकै रूपमा आएको हो,' उनी भन्छन्, 'कर्पोरेटहरुले पनि स्पोर्टससँगको एसोसिएसनलाई नयाँ प्रोडक्टका रूपमा लिएको हुन्छ।'

यद्यपि भारतीय लिगबाट भएको इन्फ्लुएन्स नै भएपनि यसलाई नकारात्मक रुपमा लिनुपर्ने कारण श्रेष्ठ देख्दैनन्।

'भारतको मात्र होइन इङ्ग्लिस प्रिमियर लिगको ओनरहरु हेर्नुभयो भने वहाँहरुको लिंक मिडलइस्टको शेख या ठूला लगानीकर्तासँग जोडिएको हुन्छ,' उनी भन्छन्, 'कुनै चिजलाई एउटा बिजनेसका रूपमा नहेरेसम्म त्यसको विकास हुन सक्दैन। बिजनेसको रुपमा हेर्न र सञ्चालन गर्न सक्ने भनेको त कर्पोरेटहरुले नै हो।'

कर्पोरेटहरुको फरक ढंगले पस्कन सक्ने उनको बुझाइ छ। 

श्रेष्ठ टीमको नाम भएको आधारमा त्यही ठाउँको मात्र अपनत्व हुने भन्ने कुरालाई स्वीकार्दैनन्। प्रश्न गर्छन् 'नेपालमा चेल्सी फ्यान क्लब या रियल मड्रिड फ्यान क्लब छन् यसको मतलब यो होइन की उनीहरु त्यही ठाउँका हुन्।'

यसका लागि क्लबले आफूलाई कसरी प्रस्तुत गरेको छ या कस्तो इमेज बनाएको छ भन्ने विषयले फरक पार्ने उनले बताए। 

'पोखरा भनेर पोखराकै खेलाडी मात्र राख्ने भन्ने होइन। की प्लेयर कसलाई ल्याउँछौं, सेलेबल प्लेयर कसलाई ल्याउँछौ उनीहरुको फ्यानबेसले पनि फरक पार्छ,' उनले भने,'फ्रेन्चाइजमा हाम्रो फ्यानबेस पोखरामा मात्र लिमिट हुन्छ भन्ने हुँदैन।'

त्यस्तै विदेशी खेलाडीको सन्दर्भमा अहिले एकदमै छोटो समय भएकाले त्यस्तो सप्राइज केही ल्याउन सक्ने अवस्था नरहेको उनले बताए। यद्यपि आगामी सिजनहरुमा भने त्यो हुने संकेत उनले दिए।

त्यस्तै टीम व्यवस्थापनको क्षेत्रमा पनि शहीद स्मारक लिगमा लामै अनुभव बोकेका व्यक्तिहरु आफूसँगको सहकार्यमा रहेको उनले बताए। 
 
ललितपुर लाखेज:
ललितपुर लाखेज जारी फ्रेन्चाइजमा अर्को अनुभवसहितको टिम मध्येको एक हो। यो टिमका मालिक हुन भाटभटेनी ग्रुपका सञ्चालक कल्याण गुरुङ। उनको दिदी कामना गुरुङ पनि फुटबलमा चासो राख्ने भएकाले यसमा आबद्ध छिन्। 

शहीद स्मारक ए डिभिजन लिगका शीर्ष क्लबहरुलाई नजिकबाट नियालेका उनीसँग केही बलिया पक्षहरु छन्। जसमध्ये विदेशी फुटबलमा राम्रो खेलिरहका विदेशी नेपालीभाषीहरुसँग उनी सम्पर्कमा छन्। यद्यपि कोरोनाका कारण सोचे अनुरुप नहुने हो कि भन्ने चिन्ता भने उनलाई छ। तर, आशावादी छन्। भन्छन् 'यो त सुरुवात हो, अर्को सिजनबाट टिम धेरै बलियो हुनेछ।'

यसको मतलब यो होइनकी अहिले टिम कमजोर छ। अञ्जन विष्टलाई मार्की खेलाडीका रुपमा भित्र्याएको ललितपुरको अर्को राम्रो पक्ष भनेको ए डिभिजनका शीर्ष क्लबहरुसँग निकटता छ। एनएसएलकै योजना अनुसार होम एण्ड अवे गेम नै भए पनि उनी राम्ररी धान्ने अवस्थामा छन्। उनी आफैं पनि फुटबलमा प्यासोनेट हुँदा 'खेल स्पिरिट' पनि बलियो देखिन्छ।

एनएसएल आयोजना गर्ने भनेर तयारी भएयता नै उनले यसलाई पछ्याइरहेका थिए। 

'यो प्यासन, नेपाली फुटबलको लागि माया, नेपालको माया सबै कुरा हावी छ। फुटबलमा अलि बढी प्यासोनेट नै पनि छु,' उनी भन्छन्, 'भाटभटेनी जहिले पनि कुनै कुरा गर्दा लङ टर्म सोचेरै आउने हो। केही सिजन गरेर हामी 'अफ' हुने भन्ने हुँदैन। हामी लङ रन कै लागि हो।'

अर्को महत्वपूर्ण पक्ष भनेको ए डिभिजन लिगमा मछेन्द्र क्लबको व्यवस्थापनलाई पनि नियालिसकेका हुन् उनले। जतिबेला मच्छिन्द्र क्लबले इतिहास बनाउँदै ए डिभिजन लिगको उपाधि उचालेको थियो। 

'एनएसएल आउने बित्तिकै मलाई छोएको पहिलो कुरा भनेको यसको टाइमिङ हो। यो साँझको समयमा हुँदैछ,' उनी भन्छन्, 'यो समय भनेको सबैले काम सकेर साथीसँग या परिवारसँग आएर खेल हेर्ने समय हो।'

उनलाई ए डिभिजन लिगमा चित्त नबुझेको कुरा त्यही रहेछ। खेल त हुन्छ तर जहिल्यै मध्य दिउँसो। हुन पनि सबैको आआफ्नो काम हुन्छ, अनि कसरी नहोस् त रंगशाला रित्तो?

त्यस्तै उनको अर्को चासो टिकट शुल्कमा छ। बिहीबार त्रिदेशीय सिरिजका लागि निर्धारण गरेको टिकट शुल्क उनलाई खास मन परेको रहेनछ। एन्फाले सामान्यतर्फ ७०० र भीआइपीतर्फ १५०० निर्धारण गरेको थियो। उनको बुझाइमा टिकट शुल्क कम गरेको खण्डमा धेरै मानिसहरु आउने भन्ने रहेछ।

आफूसँग खेलको व्यवस्थापनका लागि राम्रो टिम रहे पनि तयारीका लागि समय कम भएको महसुस भने उनले गरेका छन्। यद्यपि उनी कन्भिन्स भएको पक्ष भनेको पहिलो सिजनबाट सुरुवात गर्नसके दोस्रो सिजनमा धेरै राम्रो गर्ने। त्यसैका लागि त छोटै समय भए पनि लिग सुरु हुने भएको छ।

'सबैभन्दा महत्वपूर्ण कुरा भनेको नेपालको लागि राम्रो कुरा आउन लागेको छ। पहिलो सिजनमा सुरुवात गर्न सके दोस्रो सिजनमा धेरै राम्रो गर्न सकिने थियो,' उनले भने।

त्यस्तै आईएसलको कपी जस्तो देखियो नि भन्ने प्रश्नमा उनी यो सकारात्मक ट्रेन्ड भएको र यसले नेपाललाई राम्रो गर्ने भएकाले फोटोकपी भनेर दोष लगाउनुको तुक नरहेको बताउँछन्।

ललितपुर त्यसै पनि कलामा अगाडि। उनले कलालाई खेलकुदसँग जोड्न चाहेका छन्। त्यसैले त ललितपुरको लालित्यलाई जोडेर  'टिमको एन्थम' बनाउने देखि टीमको नामको पछाडि लाखे झुण्ड्याएका छन्।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell