'वित्तीय कारोबारमा प्रविधि भित्र्याउन हामी नेपाली ढिला भएका छैनौं,' सुवास शर्माको अन्तर्वार्ता




एफवान सफ्ट सूचना प्रविधिको क्षेत्रमा स्थापित कम्पनी हो। आइतबारदेखि १७ वर्ष पूरा गरेको यो कम्पनीले डिजिटल फाइनान्सिङमा क्रान्ति नै ल्यायो। नेपालको पहिलो अनलाइन पेमेन्ट गेटवे इसेवा सुरु गरेको यो कम्पनीसँग ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्। आठ सयभन्दा बढी युवा इन्जिनियर, प्राविधिक कर्मचारीलगायतले काम गर्ने यो कम्पनीअन्तर्गत ११ वटा भर्टिकल छन्। ती भर्टिकलले डिजिटल फाइनान्सिङलाई अगाडि बढाएर नगदरहित कारोबारलाई प्रोत्साहित गरिरहेको छ। 
यही एफवान सफ्टका सीइओ सुवास शर्मालाई बिजमाण्डूका उन्नत सापकोटाले सोधे - फोन-पेको क्यूआर कोड भुक्तानी पछिल्लो समय निकै लोकप्रिय बनेको छ। राष्ट्र बैंकसँगै सरकारले विद्युतीय भुक्तानीलाई निकै प्रोत्साहन गरेकाले तपाईंहरुलाई अझ सहज वातावरण बन्यो। विद्युतीय भुक्तानीमा यो क्रान्तिलाई कसरी हेरिरहनु भएको छ?
 
हामीले १७ वर्ष अगाडि सुरु गर्दा पनि पेमेन्टमै काम गर्छौं भन्ने थिएन। २००८ मा इसेवा सुरु गर्दा भने हामी अब पेमेन्टमा काम गर्नुपर्छ भन्ने भयो। इसेवा सुरु गर्दाको समय स्मार्टफोन अहिले जस्तो छ्यापछ्याप्ती थिएन। स्मार्टफोन पेनिट्रेसन कम हुनुका साथै इन्टरनेटको पहुँच जम्मा ३-४ प्रतिशतमा मात्र सीमित थियो। त्यो समय इसेवा ब्राउजरमा मात्रै चल्थ्यो। त्यसपछि हामीले इसेवालाई एसएमएसका माध्यमबाट मोबाइल टपअप गर्न मिल्ने सेवा विकास गर्‍यौं। 

केन्या, बंगलादेशलगायतमा मोबाइल मनीसहितका अन्य भुक्तानी माध्यम निकै चर्चित बनेको समयमा मान्छेहरुले हाम्रो सेवा बारे भने थाहै पाएका थिएनन्। केन्याको मोबाइल मनी, बंगलादेशको एम-पेसाको बारेमा थाहा पाएका नेपालीहरुलाई इसेवाले दिइरहेको सेवा बारे थाहै थिएन। हामीसँग आएर मान्छेहरुले केन्यामा यस्तो छ, बंगलादेशमा यस्तो छ भनेर सुनाउँथे। त्यो सुनेपछि हामीले हाम्रो प्रडक्ट बारे आफैं भन्नुपर्ने अवस्था थियो। हामीसँग इसेवा छ नि भन्थ्यौं। 

TATA
RiddiSiddi

समयक्रम बित्दै जाँदा मान्छेहरुले इसेवाबाट बत्ती, पानी, मोबाइल रिचार्ज गर्न त मिल्ने भयो अब पसलहरुमा पैसा यसैको माध्यमबाट कहिले तिर्न पाइन्छ भनेर प्रश्न गर्न थाले। हामीले त्यो पनि मिल्छ। एसएमएसको माध्यमबाट तिर्न मिल्छ नि भन्थ्यौं। मिल्छ त भन्यौं तर यो विधि व्यवहारिक भने थिएन। 

मान्छेहरुले पसलमा गएर एसएमएसबाट पैसा तिर्न प्रविधि त थियो तर सहज भने थिएन। हामीलाई यो विषय हरेक दिन खड्किरहन्थ्यो। यो चाहिँ साच्चिकै हामीले विद्युतीय भुक्तानीमा क्रान्ति ल्याउने हो भने मानिसहरुको हरेक दिनको कारोबारलाई मोबाइल पेमेन्टबाट गराउनु पर्छ भन्ने भयो। 

हामीले सन् २०१२/१३ मै क्यूआर कोडबाट भुक्तानी सबैभन्दा उत्तम विकल्प हुनसक्छ भनेर पहिचान पनि गरेको हो। त्यो बेला हामीले क्यूआरबाट भुक्तानी त गर्न मिल्ने बनायौं तर कारोबार भने एसएमएसकै माध्यमबाट। स्मार्टफोनबाट क्यूआर कोड स्क्यान गर्ने र एसएमएसबाटै भुक्तानी गर्न मिल्ने विधि सुरु गर्‍यौं। मान्छेहरुको हातमा स्मार्टफोन त पुग्यो, सीम पनि पुग्यो तर, इन्टरनेट पुगेन क्या! 

एप डाउनलोड गर्नुपर्नेसँगै वाइफाइ जोडेको ठाउँमा जहाँ पनि सहज रूपमा पाउन सक्ने अवस्था थिएन। अब साँच्चिकै क्यूआर कोडबाट हुने कारोबारलाई विस्तार गर्ने हो भने एसएमएसबाट भइरहेको कारोबार प्रणालीलाई इन्टरनेटबाट नै चल्ने बनाउनु पर्छ भन्ने सोचमा पुग्यौं। २०१४ को अन्त्यतिर भने क्यूआर कोडबाट हुने भुक्तानी इन्टरनेटमा आधारित बन्न पुग्यो। त्यही समयतिर मोबाइल बैंकिङका एपहरु आउन थाले। 
 
यो अवस्थामा आइपुगेपछि भने अब भने क्यूआरबाट भुक्तानीको प्रयोग सहज हुँदै जान्छ भन्ने भयो। यसलाई बजारमा पुर्‍याउनु मात्र पर्छ, यसले राम्रो छाप छोड्न सक्यो भने 'ग्रो' हुन्छ भन्नेमा हामी पुग्यौं। अहिलेको अवस्थामा मानिसहरुले जसरी यसलाई स्वीकार गरिरहेका छन्, यसलाई हामीले सुरुआतका रूपमा लिएका छौं। 
 
'वी आर जस्ट स्टार्टिङ' भन्नेमा छौं अहिले। यसको प्रयोगको दायरा अझै फराकिलो हुन धेरै बाँकी छ। हामीले क्यूआर कोडबाट पेमेन्ट गर्न मिल्छ, केही लिन मिल्छ भन्ने स्थापित गरेका छौं। यो नै हाम्रो लागि ठूलो अचिभमेन्ट हो जम्मा दुई वर्षभन्दा कम समयमा। यति छोटो अवधिमा यो स्तरमा पुर्‍याउनु भनेको सम्झन लायक उपलब्धि हो। विद्युतीय भुक्तानीको आँकडा निकै न्यून रहेकाले यो सुरुआत मात्रै हो।

एउटा फेज थियो तपाईंहरु इन्नोभेसनमा फस्ट हुनु भयो, अहिले धेरै प्रतिस्पर्धीहरु थपिएका छन्। प्रविधिको विकाससँगै सधैं तपाईंहरु फस्ट वा अघि नरहन सक्नुहुन्छ। इन्नोभेसनलाई कायम राख्नुपर्ने चुनौतीहरु त छन् नि? सँगै सरकारी नीतिभन्दा इन्नोभेसन अघि त ल्याउनु भयो। अब नियामकसँगै बजार प्रतिस्पर्धालाई कसरी सोचिरहनु भएको छ?

नियामकसँगको सम्बन्ध हाम्रो इसेवा सुरु गर्दादेखि नै हो। सन् २००८ मा इसेवा सुरु हुँदा २०१५ मा आएर मात्रै राष्ट्र बैंकबाट लाइसेन्स लिनुपर्ने प्रावधान ल्यायो। हामीले २०१६ मा नियमानुसार विद्युतीय वित्तीय कारोबारका लागि लाइसेन्स पायौं। 

नियामकले यसरी नै काम गर्ने हो जस्तो लाग्छ। इन्नोभेसन भन्नेबित्तिकै बजारमा उपलब्ध नभएका कुरा नै गर्ने हो। नभएको कुरा कसरी बन्दैछ भन्ने बारे नियामकले अग्रिम रुपमै तयारी गरेर नीतिनियम निर्माण गर्न सक्दैन। यो पक्षलाई हामी सबैले बुझ्नुपर्छ। 

तर, कुनै एउटा प्रविधि बनेर ल यसले साच्चिकै हाम्रो कारोबारहरु पारदर्शी बनाइराछ, हामीलाई अगाडि बढाइरा'छ र उपभोक्ताहरुलाई सजिलो बनाइरहेको छ भने सही समयमा नियमन गरिनुपर्छ भन्ने नै हो। अग्रिम रुपमै आयो भने त्यसले इन्नोभेसनलाई मार्छ। ढिलो आयो भने विकृति वा खराब प्रयत्नहरु विकसित हुँदै जान्छन्। 

हामीले हेर्दा नियामक निकाय प्रोएक्टिभ भएर इन्नोभेसन अघि नै नीतिनियम बसाल्न लागि परेको देखिँदैन। र, ढिलो पनि हुनु भएको छैन। यसले हामीलाई निकै सजिलो भएको छ। तीव्र प्रतिस्पर्धी पछि नियामकले नियमन थालेको भए खराब प्रयत्नहरु देखापर्ने अवस्था आउन सक्थ्यो। तर, सही समयमा नियामक प्रस्तुत भएकाले नकारात्मक अवस्था आएन।

अर्को कुरा अब बजारमा धेरै प्लेयर्सहरु भए भन्ने बारे। हामी निजी संस्थाबाट नेतृत्व गरिरहेका छौं। निजी कम्पनीहरुलाई प्रतिस्पर्धाले नै फ्लोरिस गर्ने हो। निजी कम्पनीहरुबीच जति धेरै प्रतिस्पर्धा भयो त्यति नै इन्नोभेटिभ र आक्रामक हुनुपर्छ। 

अहिले हाम्रो बजार पेनिट्रेसन (विद्युतीय भुक्तानी/कारोबार) १-२ प्रतिशत मात्र भएको बेलामा धेरैभन्दा धेरै प्लेयर्स आएर खाली रहको स्पेसमा अलिअलि योगदान गर्‍यौं भने हामी पेनिट्रेसनलाई अझै धेरै विस्तार गर्न सक्छौं। 

म नयाँ बजारमा जाँदै छु भने उसले गरिरहेको बिजनेस गरे भने त ऊसँग सेयर गर्नुपर्छ। मैले नयाँ बजार सिर्जना गर्नुपर्छ भन्ने सोचले निजी कम्पनी ड्राइभ हुन्छ। हामीले सुरु गर्दा विद्युतीय भुक्तानीको क्षेत्र बिजनेस थियो, आजको दिनमा यो उद्योगका रूपमा विकसित भएको छ। सुरु गर्दा यो बिजनेस चलाउनै पो सकिन्छ कि सकिँदैन भन्ने थियो। अहिले ठूलो लगानीसहित प्रतिस्पर्धीहरु थपिएका छन्। सबैको योगदानले यसको प्रभाव बढ्दै गएको छ। 

इसेवालाई निकै उचाइमा वा स्याचुरेसन भनौं त्यहाँसम्म पुर्‍याउनु भयो। त्यसपछि जम्प गरेर त्योभन्दा ठूलो क्षेत्रमा अर्थात् फोन-पे (क्यूआर कोड भुक्तानी) मा आक्रामक रूपमा लागिरहनु भएको छ। बजारलाई त तपाईंहरुले एकदम ड्राइभ गर्नुभएको छ?

यसमा हाम्रो पुरा १० वर्षको भिजन लिएर यहाँ पुग्नुपर्छ भनेर काम गरेको चाहिँ होइन। हाम्रो अप्रोच भनेको अर्को माइलस्टोन कसरी सिर्जना गर्ने भन्ने मै हुन्छ। इसेवा २०१५/१६ मा आइपुग्दा मात्रै यो बिजनेस सस्टेनेबल भयो भन्ने अनुभूति भयो। तर, हामीले इसेवामा जति मेहेनत गरेर ग्राहक बनाइरहेका थियौं त्यति नै मेहेनत बैंक तथा वित्तीय संस्थाहरुले पनि गरिरहेका थिए। हामी एफवान सफ्टलाई हेर्नुभयो भने इसेवा मात्रै मुख्य बिजनेस थिएन। बैंकहरुलाई मोबाइल बैंकिङ, विद्युतीय कारोबार गर्ने प्रविधि विकास गरी बिक्री गर्दै आएका थियौं। 
 
हामीले के देख्यौं भने इसेवाको आफ्नो ग्राहक भयो। इसेवालाई मानिसहरुले पैसा तिर्ने एपको रुपमा बुझ्न थाले। विद्युतीय भुक्तानीको बिजनेसलाई रफ्तारमा विकास गर्न इसेवाको एक्लो प्रयासले त पुग्दैन। यसमा त सिनर्जी क्रिएट गर्नुपर्यो। हामी एफवान सफ्टले बैंकहरुलाई टेक्नोलोजी विकास गरेर दिइरहेका छौं। कुनै बैंकको ग्राहक २० लाख, कुनैको पाँच लाख, कुनैको तीन लाख त छन्। सबै बैंकहरुसँग हामीले विकास गरेको मोबाइल बैंकिङ एपसहितको प्रविधि छ। ती ग्राहकहरुलाई पनि एकै ठाउँमा ल्याएर इन्टर्याक्ट गर्ने संयन्त्र बनाम न त भनेर फोन-पेको परिकल्पना गरिएको हो। 
 
जस्तै, भिजा ग्लोबल ब्राण्ड हो। भिजासँग कुनै पनि बैंकले प्रतिस्पर्धा गर्दैन। ठूलो सानो जुन बैंकले पनि भिजा कार्ड प्रयोगमा ल्याएका छन्। भिजा आउँदा बैंकहरुले आफ्नो बिजनेस लैजान्छ भन्ने पनि सोच्दैनन्। भिजाले एउटा इकोसिस्टम दिइरहेको छ बैंकहरुलाई। जुन बैंकले त्यो इकोसिस्टमबाट कति फाइदा लिने वा कति योगदान दिने भन्ने बैंकमै भर पर्छ। उसले कति ग्राहकहरुलाई कार्ड वितरण गरेको छ, कति ठाउँमा पोइन्ट अफ सेल (पीओएस) राख्छ भन्ने जस्तै मोडल हुनुपर्‍यो हाम्रो पनि। 
 
जसले गर्दा बैंकहरुले फोन-पे ब्राण्डसँग प्रतिस्पर्धा गरिरहेको छु भन्ने सोच्नै भएन। फोन पे एउटा युनिभर्सल ब्राण्ड हुनुपर्‍यो, जसमा सबै बैंक तथा वित्तीय संस्था जोडिँदा वीन-वीन सोलुसन हुनुपर्‍यो। एउटा बैंकले अर्को बैंकसँग काम गर्न मिल्नु पर्‍यो। त्यसैगरी, ग्राहकहरुले पनि यसै प्रकारको सेवा लिँदै सिनर्जी क्रिएट हुनुपर्छ भनेरै फोन पेको अवधारणा सुरु भएको हो। जसलाई हामीले क्यूआर कोडबाट एकदमै मज्जाले बजारमा पुर्‍याएका छौं। बैंकहरुले पनि इमिडिएट भिजिबल प्रभाव पर्ने गरी यसको प्रयोगलाई बढाउनु भयो।
 
हामीले क्यूआर सुरुमा ल्याउनु अघि बैंकहरुबीच एकआपसमा प्रतिस्पर्धा थियो। क्यूआर कस्लो सुरुमा ल्यायो भन्नेमा बैंकहरु प्रतिस्पर्धी देखिन्थे। अन्तिममा एउटा बैंकको क्यूआर उसकै ग्राहकलाई मात्रै लक्षित गरी बनाइन्थ्यो। बैंकहरुले हामीलाई अरु बैंकका ग्राहकहरुले प्रयोग गर्न नपाओस् भन्नेसम्मको कुराहरु गर्नु हुन्थ्यो। त्यसमा हामीले बैंकहरुलाई कन्भिन्स गर्‍यौं र भन्यौं ढिलो चाँडो बजारमा विद्युतीय भुक्तानीको इन्टिग्रेटेड प्रविधि आउँछ नै। 
 
सबै बैंक आएर कुनै पनि व्यापारिक संस्थालाई आफ्नो मर्चेन्ट बनाउँछु भन्यो भने छुट्टाछुट्टै समय र पैसा लगानी गर्ने हो भने हामी कहीँ पनि पुग्दैनौं। आजको दिनमा भाटभटेनीले २७ वटा बैंकको पीओएस मेसिन राख्या जस्तै नेपालमा कार्ड कहाँ चल्छ भन्दा भाटभटेनीमा चल्छ भन्ने अवस्थामा पुग्ने कि जहाँ पनि चल्छ भन्नेमा पुर्याउने हो। हामीले बैंकहरुलाई यही कुरा जोडका साथ एजुकेटेड गराउनुपर्ने थियो त्यति बेला। 
 
बैंकिङ राडारमा रहेको एक करोड ग्राहकहरुमध्ये आजको दिनमा ३०-४० लाख सक्रिय मोबाइल बैंकिङ चलाउने ग्राहक छन्। सानो बैंकले एउटा चल्ने बिजनेसलाई मर्चेन्ट बनाउने वित्तिकै ५० वटा बैंकको ग्राहकहरुले त्यही माध्यबाट भुक्तानी गर्न सक्ने भए। यसले त्यो बैंकसँग भएका ग्राहकबाहेक अन्य बैंकका ग्राहकहरु पनि जोडिने अवस्था आएको छ। यसले मर्चेन्ट बनाउने बैंकसँगै ग्राहक भएका बैंकलाई पनि फाइदा पुग्छ। 

त्यसमाथि होम ग्रोन ब्राण्ड भएकाले भिजालाई जस्तो डलरमा भुक्तानी गर्नुपर्ने अवस्था छैन। हामीले बैंकहरुलाई अहिले मान्छेहरुलाई विद्युतीय भुक्तानी बारे एजुकेट गराउने समय हो। त्यसैकारण अहिले बैंक, मर्चेन्ट वा ग्राहकहरुसँग क्यूआर कोड सेवावापत् कुनै पनि शुल्क भुक्तानी लिने काम नगरौं। 

अहिले विद्युतीय भुक्तानी वा कारोबार जति सकिन्छ त्यति डिजिटलाइज गरौं, जति मान्छेलाई यसको बानी बसाल्ने बाटोमा अघि बढौं। फोन पेको क्यूआर कोडलाई युनिभर्सल असेप्टेबल बनाम, सकेसम्म धेरै मर्चेन्टमा पुगौं अनि धेरै ग्राहकहरुलाई मोबाइल बैंकिङ र क्यूआर कोड प्रयोग गर्न बानी बसालौं। यति गरौं र आजको दिनमा तुरुन्तै प्रतिफलको अपेक्षा कसैले पनि नखोजौं। भविष्यमा आउने प्रतिफल हामी सबैलाई फाइदाजनक छ भन्ने बारे बुझाउनु पर्नेछ।

त्यसैगरी, फोन-पेलाई बिजनेस गर्ने इन्टिटी नै भन्दैनौं। फोन-पे एउटा नेटवर्क हो। यसले प्रत्यक्ष रुपमा बिजनेस गर्दैन। यसले गएर ग्राहक पनि बनाउँदैन। यसले गएर मर्चेन्ट पनि बनाउँदैन। हामी गएर सिधै बिजनेस गरेको भए सफल हुँदैन थियौं होला। हामीले बिजनेस गर्ने होइन कि बैंकलगायत संस्थाहरुलाई सदस्य मात्रै बनाउने हो। ग्राहक बनाउने काम पनि बैंकको हो ग्राहक बनाउने पनि बैंकले नै हो। जब फरक फरक बैंकका ग्राहक र मर्चेन्ट एकअर्काबीच कारोबार गर्न तयार हुन्छन् तब मात्रै फोन-पे प्रयोग हुन्छ।

अनि आम्दानी कसरी गर्ने त?
आजको दिनसम्म हामी आम्दानीमा फोकस नै भएका छैनौं। आम्दानीलाई प्राथमिकतामा राखेका छैनौं। हामीले बैंकहरुलाई पनि अहिले यसबारे ग्राहकहरुलाई सिकाउने बेला हो। ग्राहकहरुलाई रेसिस्ट गर्ने केही पनि काम अहिले नलिऊँ। कुनै पनि शुल्क लगाउन परे कित ग्राहकलाई कित मर्चेन्टलाई लगाउनु पर्यो। अहिले यसका लागि दुवैतर्फ तयार भइसकेका छैनन्। 

शुल्क लगायो भने भोलि पुन: क्यासैतर्फ फर्किने अवस्था हुन्छ। जब ग्राहक र मर्चेन्टलाई क्यूआर कोड भुक्तानीको बानी बस्छ, त्यसपछि मात्रै रेभिन्यू मोडलमा जाने योजना छ। पहिला हामी क्यूआर कोडलाई इन्क्लुसिभ वा पहुँचमा लागौं। नेपालको हरेक क्षेत्रमा क्यूआर कोड भुक्तानीको सेवालाई पुर्‍याउनु जरुरी छ। कसरी आम्दानी गर्ने हामीलाई थाहा छ। तर, अहिले तत्काल नगर्ने सोचमा छौं।   
 
फोन-पेले यत्रो ठूलो इकोसिस्टम विकास गरेको छ। यो सँगसँगै चुस्त साइबर सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। एकातिर लगानी ठूलो छ र ब्याकअप रणनीतिलाई कसरी हेरिरहनु भएको छ?
 
विद्युतीय कारोबार भन्ने वित्तिकै पहिलो दिनदेखि नै सुरक्षा त्यसकै भाग बनेर आउँछ। हामी कुनै पनि डिजिटल प्रडक्टलाई सुरक्षित नबनाइ अघि बढाउनै सक्दैनौं। विद्युतीय कारोबारको बिजनेस एकदमै सुरक्षित कसैले छुनै नसक्ने हुन्छ भन्यो भने त्यो ग्राहकहरुका लागि चलाउनै नसक्ने हुन्छ। कन्भिनियन्ट हुँदैन। फेरि एकदमै कन्भिनियन्ट बनाउन खोज्यो भने सुरक्षित नहनु सक्छ। 
 
हामीले त्यही भएर ग्राहकको कन्भिनियन्स् र सुरक्षा दुवैलाई सन्तुलनमा राख्ने गरेका छौं। हाम्रो ग्राहकहरुको एजुकेसन लेबल, सेवा प्रयोग गर्न कत्तिको कम्फर्टेबल छन् भन्ने बारे ध्यान दिनुपर्छ। सुरक्षाको सवालमा कहाँबाट जोखिम हुन सक्छ भन्ने कुरामा तयार भने  हुनुपर्छ। 
 
विश्वभरी सञ्चालनमा रहेका विद्युतीय कारोबारको प्लाटफर्मलाई सुरक्षित बनाउन एउटा सुरक्षासम्बन्धी स्ट्यान्डर्ड छ। जसलाई पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड्स (पीसीआईडीसीएस) भनिन्छ। यो बिजनेसमा लागेका कम्पनीहरुले त्यो स्ट्यान्डर्डमा रहेको न्यूनतम प्रावधानलाई समेटेर सेवा सञ्चालन गर्नुपर्ने अवस्था छ। 
 
फोन-पे पनि पीसीआईडीसीएसबाट सर्टिफाइड हो। हामीले नेपालमै बसेर विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न आवश्यक सम्पूर्ण सुरक्षाका मापदण्डहरु पालना गरेका छौं। नयाँ जोखिम देखिएसँगै सेक्युरिटी स्ट्यान्डर्ड समयानुकूल संशोधन हुँदै जान्छ। योसँगै हाम्रो प्रणाली, सेवामा पनि यसैअनुसार सुधार गर्दै लैजान्छौं।

अहिलेसम्म एफवान सफ्ट एउटा लोकल कम्पनी हो। सूचना प्रविधि क्षेत्रमा निकै छोटो समयमा घटनाहरु विकसित हुन्छन्। भोलि नेपालमा विद्युतीय भुक्तानीको सम्भावना देखेर कुनै विदेशी कम्पनी मोटो लगानीसहित आयो भने कसरी प्रतिस्पर्धा गर्ने? प्रतिस्पर्धा गर्न तपाईंहरु तयार हुनुहुन्छ? 
 
यो सम्भावना सधैं रहिरहन्छ। नेपालमा मात्र नभएर संसारभरी जहाँ बिजनेस गरेपनि यो हुने नै हो। एउटा बिग पकेट लगानीकर्ता आएर म नेपालको विद्युतीय कारोबार क्षेत्रलाई रुपान्तरण गर्छु भन्यो भने दुई वटा कुरा हुन्छ। पैसाले मात्रै सफल हुँदैन कोही, सही प्रविधि र सही माइन्ड सेटसहित बजारमा आउनु पर्‍यो।
 
हामी नेपालको विद्युतीय भुक्तानी प्रदायकको एकछत्र खेलाडी हो, हामीलाई कसैले पनि हल्लाउन सक्दैन भन्ने सोच्न थाल्यौं भने हामी एक वर्ष पनि टिक्दैनौं होला। नेपालको मार्केट भने हामीलाई थाहा छ। नेपाली ग्राहकहरुले के खोज्छ भन्ने कुरा बाहिरको प्लेयरभन्दा हामीलाई थाहा छ। नेपालमा कसरी सर्भिस दिनुपर्छ भन्ने हामीलाई राम्रो थाहा छ। यही ज्ञानलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ। 
 
यो बेफाइदा उनीहरुलाई हुन्छ। त्यो भनेर बाहिरको प्लेयरहरुलाई केही थाहा छैन भनेर इग्नोर पनि गर्न मिल्दैन। थ्रेट जहिल्यै पनि रहन्छ। यसलाई रोक्ने कुनै उपाय नै छैन। भोली नेपालमा विद्युतीय कारोबार एकदमै ग्रो गर्‍यो भने जो कोहीलाई नेपाल उपयुक्त बजार हो भनेर पहिचान गर्न सक्छन्। नेपालमा आउने भएपछि कि त भइरहेका/चलिरहेका ब्राण्डलाई अक्वायर गर्ने वा पूर्ण प्रतिस्पर्धा गर्ने। एक जनालाई मार्केटबाट आउट गर्ने नै हो। 
 
हामी अक्वायर हुन पनि तयार हुनुपर्‍यो वा आफ्नै रणनीतिअनुसार प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ। २% बल्ल डिजिटल कारोबार हुने नेपालमा बाँकी ९८% बजार त पुग्नु पर्नेछ, खाली छ। यदि कुनै अन्तर्राष्ट्रिय कम्पनी आएर अर्को १५% थप्छ भन्यो भने त २०% मार्केट हिस्साका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छौं नि। के बिर्सन हुन्न भने हामी नेपालमा सिमित बिजनेस गरिरहेको संस्था हो। ठूलो बिजनेस ग्रुप अथवा कम्पनीको चासो भयो भने उसको अक्वायर गर्ने पहिलो कम्पनी भने हामी नै हुनुपर्‍यो। त्यो पनि हामीले बिर्सनु भएन।
 
तपाईंहरुले आफ्ना प्रडक्टलाई अन्य देशहरुमा लैजाने योजना राख्नु भएको छ वा छैन?
 
भारत सूचना प्रविधिका लागि एउटा बेन्चमार्क जस्तो बुझिन्छ। तर, भारतीय कम्पनीहरुले पनि आफ्ना प्रडक्टलाई बाहिर लगेका उदाहरणहरु धेरै छैनन्। एकदम सीमित छन्। भारतमा भर्खरै उदाएर स्टार्टअपहरु ग्लोबल ब्राण्ड भएको देखेका छैनौं। उहाँहरु आइटी सेवाहरु आउटसोर्स गर्ने काममा भने ग्लोबल ब्राण्ड बनिरहनु भएको छ। 
 
सफ्टवेयर सेल्सदेखि आइटी सर्भिसेसहरु डेलिभरी गर्ने क्षमतामा त्यहाँका कम्पनीहरु छन्। भारत आइटी क्षेत्रमा बलियो भएको कारण यही हो। त्यहाँका कम्पनीहरुलाई विदेश जानुपर्ने अवस्थै छैन। आफ्नै बजारलाई मात्रै फोकस गरे मात्रै पनि त्यहाँका कम्पनीलाई म्यासिभ छ।
 
अब हाम्रो मार्केटको आकार सानो छ। एउटा काम मात्रै गरेर कम्पनी दिगो बनाउन अप्ठ्यारो छ र सफल हुन पनि सकिँदैन। त्यसैकारण हामीले मल्टिपल कामहरुमा हात हालेका छौं। यदि भारतमा भएको भए इसेवा एउटै कम्पनी भएर सस्टेन हुन सकिन्थ्यो, फोन पे एक्लै, बैंकिङ एप एक्लै लिएर बिजनेस गर्न सकिन्थ्यो। तर, यहाँ त्यो अवस्था छैन। 
 
हामी आफ्नै बलबुतामा आफ्नो ब्राण्डलाई बाहिर लैजाने सोचिसकेका छैनौं। तर, राम्रो सहकार्य, हाम्रो मोडल अनुकूल भएको पहिचान भए हामी जान सधैं तयार छौं। त्यसो गर्नुअघि हामी नेपालमै एकदम बलियो हुनुपर्छ।


 
प्राइभेट सेक्टर मुख्यगरी तपाईंहरुले विद्युतीय भुक्तानीको यत्रो ठूलो पूर्वाधार विकास गर्नुभएको छ। अरु निजी कम्पनीसँग प्रतिस्पर्धा गर्नु नै छ। सरकारी तवरबाट विद्युतीय भुक्तानीका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँगै नेपाल टेलिकम र वाणिज्य बैंक मिलेर वालेट ल्याउने पनि तयारीमा छन्। सरकारी कम्पनीसँग प्रतिस्पर्धा गर्न कस्तो हुने रहेछ?
 
यस्तो अवस्थामा विश्वास गर्ने भनेको नियामकलाई हो। नियामकले सबै कम्पनीहरुलाई बिजनेस गर्न सीमा तोकिदिनु भएको छ। सरकारी कम्पनी वा लगानी हुँदैमा त्यस्ता कम्पनीलाई अदृष्य फाइदा वा लाभ हुन्छ भन्ने हुँदैन। अहिलेसम्म त्यस्तो अनुभव हामीले पनि गर्नु परेको छैन।
 
बजारमा आफ्नो सेवा ल्याएपछि ग्राहकहरुलाई खुशी नबनाइकन आफ्नो बिजनेस चलाउन सक्दैन। पहिला  प्राइभेट प्लेयर नेपालमा ल्याएर कसरी गर्न बिजनेस गर्थे जस्तो लाग्थ्यो भने आजको दिनमा परम्परागत बिजनेस शैली काम नलाग्ने देखियो।
 
नियामकले कसैले नियम विपरीत कार्य गरिरहेको छ भने त्यसलाई नियन्त्रण गर्ने हो। यो निजी होस् वा सरकारी कम्पनी दुवैमा लागू हुनुपर्छ। नियामकले फेयर प्लेयिङ ग्राउण्ड बनाइदिनु हुन्छ भन्नेमा ढुक्क छौं।प्रतिस्पर्धाका लागि हाम्रो एउटा मात्र सोच भनेको ग्राहकहरुलाई चाहिने सेवाहरु ल्याउनु पर्यो भन्ने हो। हामीले दिन नसकेको सेवा अरु कम्पनीले ल्याउन सक्नु भयो भने ग्राहक आकर्षित गर्न सक्नु हुन्छ। 
 
अहिले भइरहेका सेवालाई पनि उत्कृष्ट तरिकाबाट उत्कृष्ट अनुभव दिन सक्ने हो भने आजको दिनमा विकल्प नै विकल्प रहन्छ। हाम्रो मन्त्र पनि यही हो। त्यसकारण प्रतिस्पर्धी बारे धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन।
 
अहिले पनि तपाईंहरुलाई विद्युतीय कारोबारलाई वृद्धि गर्न नीतिगत रुपमा केही बाधा पार्ने प्रावधानहरु होलान्। पूर्वाधारको कमी आफ्नै ठाउँमा छ। के गर्यो भने यसलाई अझै द्रुत गतिमा अगाडि बढाउन सकिन्छ? कहाँ कहाँ सुधार देख्नुहुन्छ?

हामीमा नेपालीहरुले गर्न जान्दैनौं भन्ने सोच हावी छ। नेपाली सफ्टवेयरले हुँदैन भन्ने छ। यस किसिमको अविश्वास हटाउन जरुरी छ। हामीसँग क्षमता छ, क्षमता नभएपनि सिक्न सधैं तयार छौं र हामीले नै बनाउँछौं भन्नेमा ढुक्क हुनुपर्छ। हामीलाई के चाहिएको छ भन्ने कुरा यहीँकालाई भन्दा अरु कसैलाई थाहा छैन। सबैले यी सेवाहरु नेपालमै सम्भव छ भन्ने कुरामा विश्वास गर्नुपर्यो। नीतिगत तहबाट पनि यो डर र अविश्वास हट्नु पर्यो। लोकल प्रडक्टबाटै हामीले आफ्ना आवश्यकता पूरा गर्छौं भन्ने हुनुपर्छ।

अर्को भनेको नीतिगत तहमा बसेका मानिसहरुको सोच्ने तरिका अलिकिति 'ओपन' हुनुपर्छ भन्ने लाग्छ। हामी फ्लोरिस नै हुन पाएको हुँदैन केही न केही रुपमा बैलेमा नियन्त्रण गरौं भन्ने सोच परिवर्तन हुन जरुरी छ। यो कुनै बेला सही पनि हो। बजारमा धेरै प्रतिस्पर्धी हुँदा धेरै प्रकारका क्रियाकलाप सुरु हुन्छ।
 
क्रियाकलाप सुरु नै हुन नदिऊँ भन्ने बाटो सही होला तर, धेरै नियन्त्रणमुखी हुँदा कहिलेकाही इन्नोभेसन रोकिन्छ। के कुरामा काम वा एक्सपेरिमेन्ट भइरहेको छ त्यस बारे निगरानी त राख्नुपर्छ तर सुरु मै नियन्त्रण गर्न खोज्दा प्रडक्ट बजारमा लाने कि नलाने वा भनौं परीक्षण नै गर्न नपाइने अवस्था आउन दिनु हुँदैन।

हामी सबैले भएका र गरेका कामहरुको उत्तिकै अपनत्व लिनुपर्छ। एक जनाले गरेको काम अर्कोले आएर भत्काउने गर्नु  हुँदैन। किनकी हामीसँग कटथ्रोट प्रतिस्पर्धा गर्ने बेलै भएको छैन। मैले दुई वटा नयाँ ग्राहक बनाए भने भोलि त त्यो ग्राहकले छनोट गर्ने बेलामा त आफ्नो निष्पक्ष निर्णय लिइहाल्छ नि। प्रडक्ट जसले बनाएपनि मेरो सेवा, प्रडक्ट आकर्षित गर्नसक्छु उसलाई। 
 
जससम्म उसले एउटा पनि प्रडक्ट चलाउँदैन, ऊ कसैको पनि ग्राहक होइन। जब उसले एउटाको प्रडक्ट (जस्तै फोन पेको क्यूआर कोड) ऊ सबै सदस्य संस्थाहरुको ग्राहक हो। हामी सबैले लगाएको मेहेनतबाट सिनर्जी उत्पन्न हुनुपर्‍यो। 
 
डिजिटलाइजेसनको विकासमा परम्परागत सोचलाई परिवर्तन गर्नुपर्छ। हामीले विगत १२ वर्षदेखि नेपाल टेलिकमको टपअप (रिचार्ज) गर्दै आइरहेका छौं। विद्युत प्राधिकरणको बिल भुक्तानी अनलाइन गर्न थालेको पनि ६ वर्ष भइसकेको छ। बैंकबाट फन्ड ट्रान्सफर हामीले गर्न थालेको पनि ११/१२ वर्ष भइसकेको छ।
 
यत्रो अनुभव, ज्ञान र प्रविधि हुँदा हुँदै पनि सरकारी भुक्तानी अनलाइन गरेको एक वर्षको पनि इतिहास छैन। यो असम्भव नभएर त होइन नि। सम्भव थियो। अरु सरकारी निकायले लामो समय अघिबाटै सुरु गर्ने तर सरकारले नसक्ने भन्ने कुरै थिएन। सरकारी पक्षलाई हामी माथि विश्वास र स्वीकार गराएर प्रक्रियामा लेराउनै ढिलो हुन पुग्यो। यो त नियमले बाँधेको कुरा थिएन। यस्तो अविश्वासहरुलाई हटाउनु जरुरी छ। भविष्य देख्ने गरी सोच्न सक्नुपर्ने देखियो।

एक जना प्रयोगकर्ताको गुनासो थियो फोन-पेबाट क्यूआर स्क्यान गरियो। खाताबाट रकम पनि काटियो। तर, मर्चेन्टकोमा पुगेन। दुई पटक गर्दा पनि पैसा गएन। बैंकमा सम्पर्क गर्दा एउटा कारोबार भइसकेको छ भन्यो। यस्ता समस्याहरुलाई कसरी समाधान गर्ने?

प्रविधिको प्रयोग गरी कुनै समस्या समाधान गर्ने सोचिरहेका छौं भने त्यो शतप्रतिशत रिलायबल वा त्रुटि नै हुँदैन भन्ने हुँदैन। हाम्रो आफ्नै लक्ष्य पनि त्रुटि हुन नदिने सम्भावना १००% हुँदैन। 

त्रुटि नै आउँदैन भन्ने त हामीभन्दा २५/३० वर्ष इतिहास भएका भिजा, मास्टरकार्डहरुबाटै कारोबार गर्दा प्रणालीगत समस्या आउँछ। हाम्रोमा चाहिँ आउँदैन भन्ने हुँदैन। हाम्रा धेरै समस्याहरु पूर्वाधारका कारण पनि छन्। जब म कारोबार १००% इफिसियन्टलीका साथ गर्छु भन्नका लागि मेरो फोनमा कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्क वा इन्टरनेट शतप्रतिशत स्मुथ छ। 

म जहाँ गए पनि इन्टरनेट अनइन्टरप्टेड छैन भन्ने कुरामा विचार गर्नुपर्छ। म १००% छु तर, हाम्रो इकोसिस्टम भित्र रहेको एउटा कुनै अंगको सेवा शतप्रतिशत छैन भने त समस्या आउँछ। ग्राहक त फेल नै भयो त। 

हामीले चिया पसल, पान पसललगायतलाई मर्चेन्टहरुलाई एप चलाउभन्दा एजुकेट गर्न गाह्रो भयो। हामीले भुक्तानी हुने वित्तिकै एसएमएस आउँछ भन्यौं। कहिलेकाँही एसएमएस समयमा जाँदैन। समयमा नजाँदा ग्राहकहरुलाई दुःख पर्छ। यस्ता समस्याहरु आउँछन्।

अब विस्तारै यस्ता समस्यालाई समाधान गर्न मर्चेन्टहरुलाई पनि एप डाउनलोड गर्ने अवस्था ल्याउँदै छौं। इन्टरनेट चलाएर एप खोल्यो भने रियल टाइममा कारोबार पछ्याउन सकिन्छ। हाम्रोमा इन्टरनेट १००% नै चल्छ भन्ने ग्यारेन्टी गर्न गाह्रो छ। 

पहिलोपटक हामी यति ठूलो स्केलमा प्रडक्ट लगिरहेका छौं। प्राविधिक समस्याहरु आउँछन् बेला बेलामा। यो भन्दैमा विद्युतीय कारोबार नगर्ने होइन कि समस्या समाधान गर्दै पहुँच र अस्तित्व स्वीकार गर्दै लैजानुपर्छ। ग्राहकहरुलाई सजिलो बनाइदिनु पर्छ।

पछिल्लो समय तरकारी तथा फलफूल बजार, सार्वजनिक यातायातका साधनमा राजधानीसँगै मोफसलमा पनि राष्ट्र बैंककै नेतृत्वबाट बैंकहरुको साथमा फोन पेकै क्यूआर कोड उद्घाटन भइरहेको छ। यसको प्रयोगसँगै प्रभाव कत्तिको परिरहेको छ?
गभर्नर सरसँगै राष्ट्र बैंकका पदाधिकारीहरु व्यक्तिगत रूपमै क्यूआर कोड विस्तारमा हिँडिरहनु भएको छ। यो भनेको हाम्रा लागि 'ड्रिम कम ट्रु' हो। नियामक आफैंले हाम्रो प्रविधिलाई विश्वास गरेर यसमा जानुपर्छ भन्दिनु भइरहेको छ यो निकै खुशीको कुरा हो। 

यसको प्रभाव निकै राम्रो छ। गभर्नर सरको पूर्ण ध्यान तरकारी तथा फलफूल बजारमा रहँदै आएको छ। मान्छेले दिनमा दुई चोटीसम्म तरकारी किन्न जान्छन्। तरकारी बजारमा क्यूआर कोड भुक्तानीको उपस्थितिले यसको प्रयोग बढ्दै जान्छ भन्ने विश्वास गरिएको छ। 

गभर्नर आफैंले अभियानको रुपमा क्यूआर कोड भुक्तानीलाई लगेपछि बैंकहरुमा पनि नयाँ ऊ‍र्जा थपिएको छ। हामीले पनि मेहेनत गर्नुपर्छ भन्ने भावना बैंकहरुलाई परेको छ। योसँगै कारोबार पनि बढ्दै गएको छ। हाम्रो कारोबार संख्या बढेको छ र ‌औसत टिकट साइज भने घटेको छ। 

हाम्रा ग्राहकहरुले सानोसानो कारोबारमा पनि क्यूआर कोड भुक्तानी गर्न थाल्नु भयो भन्ने जनाउँछ। पहिला हाम्रो टिकट साइज ३५ सय चार हजार हाराहारी थियो भने अहिले तीन हजारभन्दा तल आइरहेको छ। 

क्रेडिट कार्ड प्रयोगकर्तालाई किन क्यूआर कोड भुक्तानीमा नसमेटिएको?
क्रेडिट कार्ड प्रयोगतर्कालाई पनि क्यूआर कोड भुक्तानीमा समेट्न सकिन्छ। तर, हामी कार्डसहितको मोबाइल बैंकिङ कि कार्डबिनाको मोबाइल बैंकिङ भन्नेमा छौं। नेपाली समाज एकदमै धेरै क्रेडिट कार्ड चलाउने छैनन्। ७० लाखले डेबिट कार्ड बोक्छन्। 

डेढ लाखभन्दा कम छन् क्रेडिट कार्ड बोक्ने। यदि ७० लाखले क्रेडिट कार्ड बोकेको भए हामी त्यसैअनुसार आफ्ना प्रविधि विकास गर्थ्यौं होला। अहिले हामीले क्रेडिट कार्डबिना नै यसको सेवा उपयोग गर्ने गरी फोन लोन विकास गरिसकेका छौं।   
 

फोन लोन सेवा कसरी अघि बढिरहेको छ?
एफवान सफ्टको डे वानदेखि कै काम सफ्टवेयर बनाउने थियो। २००६ पछि बैंकहरुका लागि सफ्टवेयर बनाउने भनेर सुरु गर्यौं। इन्टरनेट र मोबाइल बैंकिङ सफ्टवेयर र एपहरु बनायौं। त्यसपछि इसेवा र फोन-पे आयो। अहिलेसम्म हाम्रो काम बैंकिङ र भुक्तानीमा मात्र थियो। 
 
यसपछी हामीलाई गर्न मन लागेको तर, गर्न पाउने हो कि होइन, मिल्ने हो कि होइन भनेर एकदमै कन्फ्युजनमा थियौं। त्यो भनेको लोन हो। फोनबाटै लोन लिने काम। यो पनि हामीले चार महिनाअघि नबिल बैंकबाट रोलआउट गर्‍यौं। 

मापदण्डअनुसार बैंकमा रहेको सफ्टवेयरले आवेदन दिएको मान्छेलाई ऋण दिन मिल्छ वा मिल्दैन भनेर पहिचान गर्दिन्छ। पहिचान भएका ग्राहकहरुलाई घरमा बसी बसी एक मिनेट भित्र बैंक खातामा ऋण प्रवाह हुन्छ। नबिलसँगै कुमारी र लक्ष्मी बैंकमा यो सेवा सुरु भइसकेको छ। 

सेवा सुरु भएको एक सय दिनमा एक हजार जनाले फोन लोनबाट ऋण पाइसकेका छन्। संख्यात्मक हिसाबले बढ्दै छ तर, हामीले ऋण भन्ने कुरा चाईं बैंकमा गएर ल्याप्चे लगाएपछि मात्रै पाइन्छ भन्ने अवस्थालाई अटोमेसनमा ल्याउन मिल्ने रहिछ भन्ने स्थापित गर्न सफल भयौं। 
राष्ट्र बैंकले पनि दुई लाख रुपैयाँसम्म विद्युतीय माध्यमबाट ऋण दिन मिल्ने प्रावधान ल्याएर एकदम परम्परागत रुपमा सोच्ने बैंकहरुलाई पनि अवगत गराउन सहयोग गर्नु भयो। फोन लोन पनि हाम्रो पछिल्लो उपलब्धि मध्येको एउटा प्रडक्ट हो। यो प्रविधिबाट अझै के के गर्न मिल्छ भन्नेमा हाम्रो टिम लागिपरेको छ।   


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell