अनलाइन बनाएपछि काठमाडौं महानगरमा कर उठाउन सहज, एक महिनामै साढे ५ करोड उठ्यो

रासस
२०७७ असोज २१ गते १०:१३ | Oct 7, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। अनलाइन प्रणालीबाट राजस्व निर्धारण तथा संकलन शुरु गरेको एक महिना नबित्दै काठमाडौं महानगरपालिकाले पाँच करोड ५० लाख रुपैयाँ असुल गरेको छ।

कामपाले यस प्रणालीको शुरुआत यही असोज १ गतेदेखि गरेको हो। शुरुआती चरणमा १० वटा वडाबाट काम भएको हो। यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजस्व निर्धारण तथा संकलन प्रभावकारी बन्दै गएको कामपाको भनाइ छ।

कामपा राजस्व विभागका निर्देशक शिवराज अधिकारीका अनुसार राजस्व संकलनमा पारदर्शी नभएको कामपालाई आरोप थियो। यो प्रणालीको कार्यान्वयनले त्यो आरोपको जवाफ दिएको उनले बताए। यस कार्यको शुरुआतसँगै कामपालाई कर्मचारीको व्यवस्थापन र पारदर्शी बनाउन सहयोग पुगेको निर्देशक अधिकारीले बताए। उनका अनुसार यसले सेवाग्राहीलाई पनि सहज भएको छ।

यो प्रणाली सांग्रिला इन्फरमेटिक्सले विकास गरेको हो। यही असोज १ गतेदेखि वडा नम्बर १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट, असोज ५ गतेदेखि वडा नम्बर ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ बाट प्रणाली कार्यान्वयनमा ल्याइएको हो।

यसैगरी असोज १३ गतेदेखि वडा नम्बर ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ मा प्रणाली सञ्चालनमा ल्याइयो। अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुईवटा प्लेटफर्म छन्। तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन्।

यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्यांकन करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुविधा छ। करदातासँग सम्बन्धित र सोधिएका/माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्यांकन गरेर तिर्नुपर्ने राजस्वको अंक देखाउँछ।

यसबाट महानगरलाई कति रकम तिर्नुपर्ने हो? करदातालाई थाहा हुन्छ। करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धि हो।