काठमाडौं महानगरमा अनलाइन प्रणालीबाट राजस्व बुझाउन सजिलो, यसरी लिन सकिन्छ सेवा

रासस
२०७७ असोज ५ गते १५:५७ | Sep 21, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं महानगरपालिकाले राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेपछि यसको प्रभावकारिता बढेको छ।

कामपाले यही असोज एक गतेदेखि वडा नम्बर २६ बाट अनलाइन प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन कार्य शुरु गरेको थियो। सोही दिन वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ मा पनि यो सेवा शुरु गरिएको थियो।

यसको प्रभावकारिता बढेसँगै सोमवारदेखि थप १० वटा वडामा यो सेवा विस्तार गरिएको बताइएको छ। कामपाले वडा नम्बर ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ मा यो सेवा विस्तार गरेको जनाएको छ। विगत तीन दिनमा यो प्रणालीबाट २ सय ५७ जना करदाताबाट ३६ लाख रुपैयाँ राजस्व संकलन भएको कामपाले जनाएको छ।

कामपा राजस्व विभागका निर्देशक शिवराज अधिकारीका अनुसार यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुलीसम्बन्धी कामलाई स्वचालित बनाउनु हो। यो हप्ताको अन्त्यसम्ममा महानगरका सबै वडामा यो प्रणाली सञ्चालनमा आइसक्ने उनको भनाइ छ।

कोभिड-१९ को महामारीको यस समयमा सम्भावित संक्रमणबाट बच्न व्यक्ति/व्यक्तिबीच भौतिक दूरी कायम राख्न पनि यो प्रविधिले ठूलो सहयोग पुग्ने कामपाको विश्वास छ।

सेवा कसरी लिने?

यो कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो। यसलाई नेपाल सरकारले सञ्चालनमा ल्याउन लागेको नागरिक एपमा इन्टिग्रेसन गराइएको छ। अब महानगरवासीले आफूले महानगरलाई बुझाउनुपर्ने राजस्वका लागि वडा वा कार्यालयसम्म पुग्नु पर्दैन।

कामपाको वेब पेज ठेगानालाई सब डोमेन इसर्भिस डट काठमाडौं डट जिओभि डट एनपीमा लगइन गरेपछि राजस्व तिर्ने पब्लिक पोर्टलमा पुगिन्छ। यही पोटर्लको प्रयोग गरेर सबै प्रकारका कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी गर्न र आफूले भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न सकिन्छ।

पब्लिक पोर्टलमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, घर नक्सापास दस्तुरलगायतका सम्पूर्ण कर र दस्तुरका बारेमा विवरण भर्ने, प्रारम्भिक करको अंक प्राप्त गर्नेलगायत सुविधा लिन सक्छन्।

अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म रहेका छन्। तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन्। यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्नसक्ने सुविधा छ। करदातासँग सम्बन्धित र सोधिएका एंव माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अंक देखाउँछ। यसबाट महानगरलाई कति रकम तिर्नुपर्ने हो करदातालाई थाहा हुन्छ।

करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मूल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन्। त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (इसेवा, कनेक्टआइपिएस, खल्ती, फोनपे, आइएमईपे, प्रभु पेलगायत) बाट भुक्तानी गर्न सक्नेछन्।