'नयाँ प्लेयर नआओस् भनेर केही सिमेन्ट उद्योगीले प्रोपोगाण्डा गरे,' राजेश अग्रवालको अन्तर्वार्ता




आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल नेपाल उद्योग परिसंघका उपाध्यक्ष पनि छन्। उनको  अग्रवाल समूह जस्तापाता र सिमेन्ट लगायतका निर्माण सामाग्री उद्योगमा स्थापित  छ।

पछिल्लो समयमा क्लिकंरसहितको पाल्पा सिमेन्टको उत्पादन बजारमा ल्याइसकेका छन्। तीन हजार टन क्षमताको पाल्पा सिमेन्टको तानसेन ओपिसी सिमेन्ट बिक्री सुरू गरेपछि विदेशी लगानीको होङ्सी शिवमदेखि स्वदेशी लगानीमा स्थापित पुराना उद्योगी समेत झस्किए।

TATA
Sanima Bank
Riddisiddi Cement

कारण थियो- तानसेन ओपिसी सिमेन्टको उद्योग मूल्य ५ सय ६५ रूपैयाँ। अरु उद्योगको मूल्य ७ सय रूपैयाँभन्दा बढी राखेर मुनाफा खाएर बसेका उद्योगीले अग्रवालमाथि औंला समेत ठ्डयाइरहेका छन्। उनै अग्रवाललाई बिजमाण्डूले सोध्यो 'सिमेन्ट उद्योगमा पाल्पा सिमेन्ट 'डिस्ट्रप्टिभ' ब्राण्डका रूपमा बजारमा किन ‘एराइज’ भएर आयो ?

हामी ‘डिस्ट्रप्टिभ’ र ‘कन्स्ट्रक्टिभ’ दुवै हिसाबले आयौं। परम्परागत रूपमा काम चलिरहेको भएपनि व्यवसायका प्रक्रियालाई केही समय पछाडि परिवर्तन गर्नैपर्ने आवश्यकता हुन्छ। सिमेन्ट र स्टील लगायतका सामानको परम्परागत रुपमा व्यापार चलिरहेको छ।

अहिले नयाँ प्रविधि र नयाँ तरिका आइसकेको छ। मार्केटिङमा समेत नयाँ प्रयोग आवश्यक भइसकेको छ। परम्परागत रूपमा चल्दा मार्केटमा 'स्टयागनेशन' समेत आयो। नयाँ कुनै इनोभेसन पनि देखिएन। बजारमा यस्तो पनि भयो, बजारमा सिमेन्ट बिक्री भइरहेको छ। उधारोमा बढ्दै गइरहेको छ। त्यसमा हामीले केही डाइरेक्सन दिनुपर्ने आवश्यकता देख्यौं। सिमेन्ट र स्टीलको व्यापारमा लागेको २५ वर्ष भइसकेको छ। हामीले यो योजनाबद्ध रूपमा ल्याएका हौं।

क्लिकंरको भाउ टनको चार हजार रुपैयाँ घट्दा त्यसको दाँजोमा सिमेन्टको भाउ पनि घट्नुपर्ने हो, तर घटेन्। घटेन भने त्यो मार्जिन कहाँ गयो ? त्यो मार्जिन उद्योगीसँग पनि छैन। त्यो मार्जिन बीचका केही व्यक्तिहरुले खाइरहेका छन्, जसमार्फत सिमेन्ट बिक्री भइरहेको छ।

त्यो मार्जिन दिँदा उपभोक्तालाइ पनि सिमेन्ट महँगो परिरहेको थियो। र, उद्योगले पनि केही नपाउने अवस्था थियो। दोस्रो अवस्था, लगानी पनि उद्योगीकै थियो। बीचका मान्छेहरुले उद्योगसँग उधारोमा लिएर उधारोमा बेचिरहेका थिए। बीचका मान्छेले पैसा उठ्यो भने तिरे, उठेन भने तिरेनन्। त्यसले गर्दा मार्केटमा 'डिस्ट्रोर्सन' पनि आएको थियो।

सिमेन्टको उधारो ३०, ६० दिन हुँदै ९० र १२० दिनसम्म पुगेको छ। उपभोक्ता जसले सिमेन्ट किनिरहेको छ, उसले नगदमा किनिरहेको छ। ठूला निर्माण कम्पनीले परियोजना बनाउँदा उधारो लिएको होला। त्यसको अंश ३०/४० प्रतिशत होला। तर बाँकी ६० प्रतिशत उपभोक्ताको हो। उपभोक्ताले नगद दिँदा पनि उद्योगीले पाइरहेका छैनन्। गएको १५ वर्षमा बजारमा जुन 'डिस्ट्रोर्सन' सिर्जना भएको थियो, त्यसलाइ सुधार्न पनि आवश्यक थियो। त्यसैले हामीले सोचेर नै यो हिसाबको सिमेन्टको मूल्य ल्याएका हौं। केही महसुस पनि भएको छ, हामीले डिस्ट्रप्टिभ नै गरेका हौं।

'डिस्ट्रप्टिभ' गर्नका लागि के कुराले बल गरिरहेको छ ? के तपाइँहरूका लागि अनुकूल बनिरहेको छ र अरूका लागि प्रतिकूल ?

प्रतिकूल कसैका लागि छैन। जब हामीले यो मूल्य गरेका छौं भने क्यालकुलेसन गरेर नै गरेका छौं। नाफा जति अरू उद्योगलाई थियो, त्यति नाफा नहोला। तर प्रतिकूल कसैका लागि पनि छैन। क्लिंकरसहितका उद्योगका लागि कुनै समस्या छैन।

जो पाँच/सात वर्षदेखि उद्योग संचालनमा थिए। उनीहरुको ऋण चुक्ता भइसक्यो। त्यसैकारण लागत कम पर्छ। तर तपाइँ नयाँ हुनुहुन्छ। ऋण पनि सर्भ भएको छैन। बजारमा जायन्ट कम्पनी पनि छन्। तपाइँको समूहलाई कसरी अनुकूल भयो ?

एउटा भ्रम नै हो, उनीहरुको ऋण चुक्ता भइसक्यो। हामीजस्तो नयाँ आउनेलाइ तर्साउने माध्यम मात्रै हो। नेपालभित्र संचालन भएका कुनै पनि उद्योगको सबै ऋण चुक्ता भएको हुँदै हुँदैन। पुराना जो पाँच/सात वर्ष भयो, उनीहरू एक्सपान्सनमा गए। उनीहरुले थप ऋण लिए।

उनीहरुको ऋण छँदैछ। 'वर्किङ क्यापिटल' का रूपमा बजारमा उनीहरुले यति धेरै उधारो राखेका छन्। त्यो पनि उनीहरुको ऋण नै हो। हरेक वर्ष डिभिडेन्ड लिएका छन्, त्यो पनि ऋण थपिएकै छ। उनीहरूको ऋण छँदै छैन र हाम्रो ऋण बढी भयो भन्नु आफ्नो ठाउँमा होला।

संचालनमा रहेको उद्योगमा आफ्नो हिसाबको हुन्छ होला। कुनै पनि उद्योगका लागि लोनको ब्याज मात्रै लागतमा एउटा 'पोर्सन' होइन नी। यो धेरै सानो 'पोर्सन' हो। त्यो भन्दा धेरै चुनढुंगा उत्खनन, ढुवानी, बिजुली, मजदुर र कोइलाको लागत छ। यी लागतका आधारमा ब्याजको लागत अत्यन्तै कम छ। ऋण कम र बढीले सिमेन्ट उद्योगमा असर पर्छ जस्तो लाग्दैन।

तर अधिकांश उद्योगको लागत बिजुली, ढुवानी र कोइलाको करिब-करिब त्यही नै छ। त्यो एडभान्टेज तपाइँलाइ किन हुने र अरूलाइ किन नहुने ?

मलाइ एडभान्टेज छ भनेको होइन। हामी 'एटपार' नै छौं। पहिलाका उद्योगहरुले नाफा बढी गरेका थिए, अहिलेका उद्योगहरुले नाफा कम गर्ने मात्रै भनेको हो।

तपाइँ जुन 'रेस'मा हुनुहुन्छ, त्यो कति थेग्न सक्छ भन्ने पनि सिमेन्ट उद्योगमा चर्चा छ ?

हाम्रो भित्री कुरा हामीले नै बढी जानेका छौं होला। हाम्रो बारेमा अरुले अनुमान गर्न सक्दैनन् होला। हाम्रो हिस्ट्री हेर्ने हो भने सानोबाट उठेर दौडिँदै आएका हौं।

जब हामीले सुरुमा राजेश मेटल स्थापित गर्‍यौं, हामी पहिला सानो ट्रेडर्स थियौं। राजेशले सानो पाइपको फ्याक्ट्री स्थापना गर्दा हुलास स्टील र भगवती स्टील मात्रै थियो। ठूला 'प्लेयर' नै थिए। त्यसमा हामी पाइपमा आयौं। त्यसमा पनि हामी प्रतिस्पर्धा गरेर स्थापित नै भयौं।

त्यसपछि हामीले जस्तापाताको उद्योग लगायौं। त्यसमा पनि ठूला 'प्लेयर' नै थिए। अहिले पनि हामी विस्तारै बढ्दै गएर सिमेन्टको उद्योग लगाएका छौं। निश्चय पनि यसमा ठूला 'प्लेयर' नै छन्। तर यसमा धेरै फ्याक्टरहरु हुन्छन्। मार्जिन बढी छ भने खर्च बढी हुन्छ।

त्यस्तो चलन चलिरहेको पनि हुन्छ अरू उद्योगको। र, त्यो कारणले अप्ठ्यारो पर्ने अवस्था पनि हुन्छ। हामी नयाँ आएका छौं, सुरुदेखि नै कस्ट कन्ट्रोलमा चलेका छौं। त्यो हिसाबले पनि हामीलाइ 'बेनिफिट' हुन्छ। 'अल्टिमेट्ली प्लान्ट कस्ट पनि म्याटर' गर्छ।

त्यो बेला कति लागतमा उद्योग लगाएको छ ? हामीले अहिले कतिमा लगाइरहेका छौं ? होङ्सीकै कुरा गर्ने हो भने ६ हजार टनको उद्योगमा ३६ अर्ब रूपैयाँ लागेको छ। हामीले तीन हजार टनको उद्योग साढे सात अर्ब रुपैयाँमा लगाएका छौं। यो निर्माण हुनासाथ तीन हजार टन थप्दैछौं। यो दोब्बर गर्दा जम्मा अढाइ अर्ब मात्रै लाग्छ। हाम्रो १० अर्ब रूपैयाँमा ६ हजार टनको उद्योग लाग्ने अवस्था छ। त्यसकारण उद्योगको लागतले समेत अर्थ राख्छ। तपाइँको 'ओभरअल' लागत पनि 'म्याटर' गर्छ।

'इनिसियल्ली' हामीले १० अर्बको परियोजना भन्ने सुनेका थियौं। तर साढे सात अर्बमा 'स्क्विज' गर्न सफल हुनुभयो ?

हामीले 'बेस्ट इक्वीपमेन्ट' ल्याएका छौं। अरु उद्योगको जस्तै एफएलएस स्मिथ नै ल्याएका छौं। 'फाइफर' को ग्राइन्डिङ मिल ल्याएका छौं। विश्वकै उत्कृष्ट मेसिन ल्याएका छौं। हामीले 'स्क्विज' गर्‍यौं की अरू उद्योगले 'इन्फेल्टेड' गरे !

उद्योगहरू नोक्सानीमा जान थाल्यो, 'सर्भाइभ' नै गर्न नसक्ने अवस्था भयो भनेर अरू सिमेन्ट र डन्डी उद्योगीहरू बर्बाद नै भयो भनिरहेका छन्। यस्तो बेला नयाँ ब्राण्ड बजारमा ल्याउनुभयो। चुनौतीहरु धेरै छैनन् ?

ब्राण्ड नयाँ ल्याएपनि यसको योजना तीन वर्षदेखि भएको थियो। सु्रु हुँदा बजारको यस्तो अवस्था होला भनेर सोचिएन। त्यो बेलाको बजार अवस्था हेरेर लगानी गरिएको हो।

कुनै पनि उद्योग लगाउँदा दुई/तीन वर्ष अगाडिकै योजना हुन्छ। स्टीलको कुरा गर्दा भूकम्पपछि माग बढ्यो। केही उद्योगीहरुले 'प्लानिङ' गरे। त्यो बेलाको अवस्थामा राम्रै 'प्लानिङ' थियो। तर ६/७ वटा उद्योगको उत्पादन एकैपटक आउँदा 'क्यापासिटी' दोब्बर भयो।

उत्पादन दोब्बर भएअनुसार बजार त्यति बढेन। अर्कोतर्फ सरकारको खर्च हुन सकेन्। त्यही बेलामा निर्माण व्यवसायी र सरकारबीच विवाद भयो। त्यसकारण निर्माण व्यवसायी आन्दोलनमा गए, भुक्तानी भएन। निर्माणको काम भएन, एक्सटेन्सन भएन।

खरिद नियमावली पनि धेरैपटक संशोधन भयो। यो सबै कारणले गर्दा त्यसको प्रभाव डन्डी र सिमेन्टमा आयो। तर यो विस्तारै सहज हुँदै गएको जस्तो मलाइ लाग्छ।

यसको 'च्यालेन्जेज'हरू धेरै छन्। यसलाई कसरी 'ओभरकम' गर्नुहुन्छ ?

हरेक वर्ष मार्केट १० देखि १५ प्रतिशत बढ्छ। पहिलो कुरा हामी क्लिकंरमा आत्मनिर्भर भयौं। सिमेन्टमा पनि हामी आत्मनिर्भर छौं। तर थुप्रै उद्योगहरु पुरानो प्रविधिमा चलिरहेका छन्।

उनीहरुको उत्पादन लागत बढी छ। की उनीहरुले त्यो प्रविधि परिवर्तन गर्नुपर्‍यो, की उनीहरू हराउँदै जान्छ। त्यो 'रिप्लेसमेन्ट' पनि हुँदै जानुपर्ने हो।

उपभोक्ताले पनि सस्तोमा सिमेन्ट पाउनुपर्ने हुन्छ र सरकारले पनि ठूला पूर्वाधार बनाउँदा सस्तोमै पाउनु्पर्छ भन्ने हाम्रो मान्यता छ। हामीले जुन मूल्य राखेका छौं, त्यसले कसैलाइ नोक्सानी होस् भनेर गरेका होइनौं। हामी पनि उद्योग-व्यापार गरेका छौं, कमाउनका लागि नै गरेका हौं। तर हुनसक्छ हाम्रो पेट अलि सानो छ, हामीले थौरै कमाउन खोजेका छौं की।

हामी कहाँ धेरै नाफा गरिहालौं, धेरै मार्जिन खाएर पेट भरिहालौं। त्यो हाम्रो अर्थतन्त्रका लागि, पूर्वाधार विकासका लागि यो 'थ्यौरी' ठीक हो ?

ठीक हो कि होइन भन्ने त बहसको विषय हुनसक्छ। कतिपय अवस्था हामी व्यापारीको नियन्त्रणमा पनि छैन। अधिकांश कच्चा पदार्थ आयात हुन्छ।

डन्डीको कुरा गर्दा बिलेट आयात नै हुन्छ। त्यसको भाउ घटबढ हुँदा असर गर्छ हाम्रो नाफामा। अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा यहाँ पनि बढ्छ। पुरानो स्टक भए नाफा बढी भएको हुनसक्छ। भाउ घट्दा घाटा पनि हुन्छ। यो बजारमा आधारित हो, नियतले बढी खाउँ भन्ने होइन।

सिमेन्टको कुरा गर्दा कोइला कच्चा पदार्थको रूपमा आयात गर्नुपर्छ। अर्को भनेको बिजुली नै हो। जति नै सरकारले भनेपनि आजसम्म कतिपय उद्योगले बिजुली नपाएकै अवस्था छ। हाम्रै उद्योगले पूरा बिजुली पाएको छैन। र, जति पाएको छ, त्यो पनि 'क्वालिटी' को पाएको छैन।

थाहै हुँदैन, यहाँ हाम्रो सरकारको नीति तत्कालै परिवर्तन हुन्छ। बैंकको ब्याजदर पनि त्यतिकै अस्थिर भइरहेको हुन्छ। त्यसैले 'बफर' राख्नका लागि अलिकति बढी 'मार्जिन' राख्ने चलन छ। कोशिश पनि त्यसमा हुन्छ। एकदमै बढी राख्न सरकारले पनि दिँदैन।

त्यही कुरामा तपाइँ 'फाइनान्सियल', 'डेटा एनालिसीस' मा अलि बढी 'स्मार्ट' हु्नुहुन्छ भन्ने मार्केटको बुझाइँ छ ?

डेटा एनालिसीस सबै व्यापारीले गरेकै हुन्छन्। तर मेरो एउटा 'सिम्पल लजिक' थियो की चार हजार रूपैयाँ क्लिकंरको भाउ घट्दा सिमेन्टको भाउ घट्नुपर्छ। मैले त्यति मात्रै घटाएको हो। मैले त्यो भन्दा बढी केही पनि गरेको छैन।

क्लिकंरको भाउ चार हजार घट्दा पनि सिमेन्टको भाउ नघट्नुमा हामीले अनावश्यक 'च्यानल' हरू खडा गरेर त्यसलाई पालिरहेका थियौं ?

सही हो, त्यही भइरहेको थियो। त्यसैलाइ हामीले अलि हटाएर गर्न खोजेका हौं।

एउटा सिस्टममा काम गरिरहेको ठाउँमा त्यो च्यानल हटाउनु भनेको 'च्यालेन्जिङ' काम होइन ?

यो च्यालेन्जिङ काम होइन। पहिलो कुरा हामीले त्यो च्यानलसँग काम गरिरहेको र त्यो च्यानल हाम्रोमा पनि जोडिएको भए हामीलाई हटाउन गाह्रो हुन्थ्यो।

तर हामी नयाँ उद्योग आएका छौं, नयाँ आफ्नो टिम बनाएका छौं। नयाँ तरिकाले मार्केटिङ गर्दैछौं भने हाम्रो त्यो च्यानलको कुनै भूमिका नै भएन नी।

तर तपाइँ यही 'सिमीलर' उद्योगमा लामो समयदेखि हुनुहुन्छ ?

छौं। तर अब हाम्रो त्यो सिमेन्ट उद्योग भनेको सानो 'स्केल'को हो। त्यसको उत्पादन पनि कम हुने र त्यसमा त्यो 'च्यानल' को भूमिका पनि त्यति थिएन। यो ठूलो 'स्केल' को उद्योग भएर ठूलो सोच लिएर नै चलाउनुपर्‍यो।

सिमेन्टको मूल्य घट्दा भविष्यमा दिने 'रिजल्ट' के के हुन सक्छन् ?

हाम्रो देशलाइ पूर्वाधारको धेरै आवश्यकता छ। त्यसका लागि निर्माण सामाग्रीको मूल्य कम हुनुपर्छ। हामीले सरकारलाइ भन्दै आएका पनि छौं- बालुवा र गिट्टीमा लगाउँदै आएको 'रेस्ट्रिक्सन' स्वदेशी उपयोगका लागि खुकुलो बनाइयोस्।

सिमेन्टमा पनि 'सरप्लस' भइसकेर निकासी गर्ने भन्ने कुरा आइसकेको छ। निकासीका लागि सिमेन्टको मूल्य भारतको बराबर हुनुपर्छ। त्यसपछि मात्रै निकासी सम्भव हुन्छ। यहाँ नै मूल्य बढी छ भने निकासीतिर कसले ध्यान दिन्छ ? मूल्य प्रतिस्पर्धी पनि हुनुपर्‍यो।

हामीले महँगोमै बेचेर मात्रै प्रतिस्पर्धा गर्न सक्दैनौं। अन्तर्राष्ट्रिय स्तरको प्रविधि ल्याएपछि त्यही लागतमा उत्पादन गरेर बेच्नुपर्छ। हामीलाई कुन-कुन वस्तुमा बढी लागत परिरहेको छ, त्यो घटाउनेतिर लाग्नुपर्ने हो। लागत प्रतिस्पर्धी भएर भारतको दाँजोमा आयो भने निकासी सम्भव हुन्छ।

त्यो भएमा भारतसँग जोडिएका सीमा क्षेत्रमा कुनै ठाउँ (उत्तर प्रदेश र विहार) मा पनि सिमेन्ट उद्योग छैन। त्यहाँ ठूलो 'मार्केट' छ। यहाँ सात सय रूपैयाँ सिमेन्ट, छ तर त्यहाँ ६ सय रूपैयाँ छ भने यहाँबाट कहिल्यै पनि जाँदैन। अहिलेको मूल्य गर्दा नाफा अलिकति जाला तर घाटा नै हुन्छ भन्ने छैन। कुनै उद्योगको अनावश्यक खर्च राखेर लागत बढाइरहेको छ भने उसलाइ घटाउन पनि दबाब पर्छ।

उसले आफ्नो लागत प्रतिस्पर्धी बनाउनुपर्‍यो। आजको दिनमा नेपालमा सबैभन्दा महँगो सिमेन्टको मूल्य छ। होङ्सी यहाँ आउनु पनि त्यही कारण हो। होङ्सीले चीन र नेपालको सिमेन्टको भाउ दाँजेर हेर्‍यो। त्यसपछि उत्पादन लागत दाँज्यो। त्यसपछि होङ्सी यहाँ आएको हो। लागत हामीले घटाउनुपर्ने छ। र, उद्योग अन्तर्राष्ट्रिय स्तरमै लैजाने हो।

सिमेन्टको मात्रै होइन हरेक वस्तुको अन्तर्राष्ट्रिय स्तरमै लैजानुपर्छ। लागत पनि अन्तर्राष्ट्रिय स्तरकै ल्याउनुपर्छ। पक्कै, पनि हाम्रो केही आन्तरिक कुराहरुले हाम्रो लागत बढिरहेको छ। त्यसलाइ कसरी घटाउने भनेर सरकारसँग कुरा गर्नुपर्छ।

उदाहरणका लागि बिजुली हाम्रो महँगो छ। अहिले ठूला उद्योगलाइ ७० प्रतिशत महँगो छ, त्यसलाइ कसरी कम गर्ने भन्नेतर्फ लाग्नुपर्छ। डिजल लगायतका लागत घटाएर अन्तर्राष्ट्रिय स्तरमा ल्याएर मात्रै निकासी गर्न सकिन्छ। सरकारको संरक्षणमा अत्यधिक नाफा राखेर धेरै लागत राखेर सिमेन्ट उत्पादन गर्ने हो भने कुनै पनि दिन भारत निकासी गर्न सक्नुहुन्न। अन्तर्राष्ट्रिय स्तरमा उत्पादनको लागत ल्याउनुपर्छ। सरकारले चाहेको पनि आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने नै हो। त्यसमा पनि हाम्रो पाइला त्यतैतिर होकी भन्ने पनि बुझ्नुपर्छ।

सबै उद्योगीहरुले के भनिरहेका छन् भने धेरै उत्पादन भयो। सिमेन्टको 'होलिडे' गर्नुपर्ने भयो। डन्डीको होलिडे गर्नुपर्ने भयो। त्यसो भए यो हाउगु्जी मात्रै हो ?

डन्डीको कुरा गर्ने हो भने अलिकति समस्या छ। एकैपटक ६ वटा उद्योगको 'प्रोडक्सन' आयो। त्यो चाँही समस्या हो। त्यही बेलामा निर्माण सम्बन्धी गतिविधि पनि रोकिएको हो।

यो पनि एक वर्षको समस्या होला, त्यो भन्दा बढी जाँदैन जस्तो लाग्छ। सिमेन्टमा उत्पादन बढी भयो भन्ने कुरामा सेप्टेम्बर-अक्टोबर बिदाको समय हुन्छ। त्यसपछिको सिजन 'लो' नै हुन्छ। त्यसपछि सिमेन्टको माग हुने हो। 'लो' सिजनमा सरकारको विकास खर्च र निर्माण व्यवसायीको विवादका कारण सिमेन्टको माग कम भएको हो।

तर त्यति साह्रै समस्या छ जस्तो मलाइ लाग्दैन। हाम्रा केही साथीहरुले 'प्रोपगण्डा' समेत गरेको जस्तो लाग्छ की अरू नयाँ 'प्लेयर' नआओस्। बैंकहरूले पनि यो 'प्रोपगण्डा' हेरेर 'फाइनान्स' नगरोस्। अलि थोरै थोरै समस्या त छ, तर 'प्रोपगण्डा' बढी भयो जस्तो मलाइ लाग्छ।

यसले त 'इन्डस्ट्रिज' लाई नै 'ब्याक फायर' गरिरहेको छ नी होइन ?

त्यही कुरा उहाँहरुले नबुझेको जस्तो लाग्छ। अरुलाइ रोक्नु भनेको पनि ठीक होइन। जो आउँछ, त्यसलाइ कसरी रोक्न सकिन्छ ? यस्तो 'प्रोपोगाण्डा' गरेर तपाइँको फाइनान्सरहरुले 'नेगेटिभ' सोच्न थाल्नुहुन्छ।

अर्को प्रोपगण्डाको कारण थियो, विदेशी लगानी नआओस् भन्ने पनि हो। विदेशी लगानीसँग किन डराउने हामी ? हामी 'कम्पिटेटिभ' हुनुपर्‍यो नी। विदेशी लगानी आउँदा पैसा आउँछ। केही न केही प्रविधि आउँछ। उसले कुनै बदमासी गर्‍यो भने सरकारले नियन्त्रण गर्छ। बदमासीमा हामीले भन्ने हो।

विदेशी लगानी नआओस् , नयाँ 'प्लेयर' नआओस् भनेर अलि बढी प्रोपगण्डा भयो जस्तो मलाइ लाग्छ। 'मिस फायर' त हुने नै थियो। अहिले पनि कुनै बैंकरले भन्छ भने- 'म अर्को उद्योग लगाउन तयार छु।' हामीले पाल्पा सिमेन्टको निर्माण सकिनेबित्तिकै क्षमता दोब्बर बनाउँदैछौ। हाम्रो 'प्लानिङ' भइरहेको छ। तर हामीले प्रतिस्पर्धी लागतमा उद्योग र प्रतिस्पर्धी लागतमा सामान उत्पादन गर्नुपर्छ।

'प्रोडक्सन लाइन'मा अर्को चिनियाँ कम्पनी हुवासिन आउँदैछ। सौर्य सिमेन्ट पनि आउँदैछ। अरु उद्योगले पनि क्षमता बढाउँदै छन्। कहीँ गएर त्यो दुर्घटना त हुँदैन ?

दुर्घटना हुने म देख्दिन्। जसले प्रतिस्पर्धी मूल्यमा सिमेन्ट बनाउँछ, उनीहरु 'सर्भाइभ' गर्छन्। जसले अनावश्यक लागत राखेको छ, उनीहरू 'सरभाइभ' गर्दैनन्।

यो व्यापार र उद्योगको नियम पनि हो। 'सर्भाइभल अफ फिटेस्ट' विश्वकै नियम हो। प्रतिस्पर्धा हुनेबित्तिकै प्रतिस्पर्धी मूल्यमा समान बनाउन कोशिश गर्छौं। प्रतिस्पर्धी मूल्य हुनेबित्तिकै निकासी गर्न सक्छौ। प्रतिस्पर्धी मूल्यमा उत्पादन गरेर निकासी गर्न सक्यौं भने बजार नै बजार छ। हाम्रो सिमेन्टको प्रतिव्यक्ति खपत अत्यन्तै न्यून छ।

पूरै पूर्वाधार बन्न बाँकी छ। म धेरै आशावादी छु। डेढ-दुइ वर्ष स्थानीय सरकार बनेपनि अन्योल थियो। तर अब विस्तारै सबै चिजमा 'क्लियारिटी' आउँदैछ, बजेट जाँदैछ। ७० देखि ८० प्रतिशत बजेट स्थानीय सरकारले खर्च गर्ने हो। उनीहरुले सबैभन्दा पहिला बनाउने भनेको पूर्वाधार नै हो। अबको भविष्य दुई-तीन वर्ष 'गोल्डेन' देखिरहेको छु।

कुनै स्थानीय सरकारले बाटो नै बनाउला, ढल बनाउला, बत्तिको पोल राख्ला, पानीको ट्यांकी बनाउला। उनीहरूले सुरू गर्ने काम त्यहाँबाट हो। हामीले अहिले यहाँ सहरको सुविधा हेरिरहेका छौं। धेरै ठाउँमा बाटो नै पुगेको छैन। बाटो खन्नुभन्दा अगाडि बोकेर लगेको निर्माण सामाग्री गाडीमा जान्छ।

त्यसपछि अलि सस्तो पर्छ। त्यहाँ अहिले खरको घर होला, त्यसपछि पक्की घर बनाउन सुरू हुन्छ। स्थानीय तहको विकास आउन बाँकी छ जस्तो लाग्छ। एकपटक फेरि यस्तो 'डिमान्ड सुट' हुन्छ, त्यसबेला हामीले दिन सक्दैनौ कि जस्तो लाग्छ।

सिमेन्ट यति धेरै आएपछि ग्राइन्डिङ युनिट 'कोल्याप्स' हुन्छन् भन्ने आम बुझाइ थियो। तर पछि हेर्दै जाँदा क्लिकंरको मूल्य घटेपछि सबैभन्दा बढी 'बेनिफिसियल' भए। त्यसपछि उनीहरूको 'लाइफ लङ' भयो। त्यो 'लाइफ' अझै 'लङ' हुने सम्भावना देख्नुहुन्छ ?

त्यही बुझाइको फरक छ। एक वर्षअघि साथीहरुले क्लिकंरको 'क्यापासिटी' धेरै भयो, भोलि टोकरीमा राखेर बेच्नुपर्ने अवस्था आउँछ पनि भन्थे। तर मैले भन्ने गर्थेँ- त्यस्तो हुँदैन।

त्यो कुरा उनीहरुले नबुझेको हो। त्यसैको परिणाम हाम्रो यो 'प्राइसिङ' आएको हो। 'अल्टिमेट्ली' उनीहरू 'रिप्लेसमेन्ट' हुने हो। र, उनीहरू 'रिप्लेसमेन्ट' हुनैपर्छ। कि उनीहरुले 'टेक्नोलोजी' परिवर्तन गर्नुपर्‍यो कि क्लिकंरसहितको प्लान्ट लगाउनुपर्‍यो। हाम्रो उत्पादन बजारमा आइसकेपछि त्यो प्रक्रियासमेत सुरू भइसकेको छ।

दुई वर्षमा त्यत्रो उद्योग तयार गर्‍यो भनेर सबैले होङ्सी सिमेन्टको प्रशंसा पनि गरे। त्यो कुरालाइ पाल्पाले पनि प्रमाणित गर्‍यो। २४ महिनाको लक्ष्य १४ महिनादेखि नै उत्पादन थाल्नुभयो। के कुराले यो सम्भव भयो ?

निजी क्षेत्रले चाँडो निर्णय लिन सक्छन्। अरु उद्योगको मैले भन्न सक्दिन कुनै पनि परियोजना कति योजनाबद्ध रूपमा गर्नसक्छौं भन्ने कुराले धेरै कुरा निर्धारण गर्छ।

निश्चय पनि चिनियाँहरू धेरै 'प्लानिङ' गरेर काम गर्छन्। तर हामीले नेपाली उद्योगीहरूले पनि गर्नसक्छ भनेर देखाइदियौं। समयबद्ध पनि गर्न सक्छ र लागत कम गरेर पनि गर्न सक्छ। विदेशी ब्राण्ड भन्दैमा उसँग डराउनुपर्दैन, प्रतिस्पर्धा गर्न सक्छ।

डिसिजन मेकिङ, ग्रुप अफ इन्भेष्टर, फाइनान्सिङ क्यापासिटी, इक्विटी हाल्ने क्षमता र राम्रो 'कन्ट्रयाक्टर' छान्ने विषयमा वा अरू कुनै कारणले यो सम्भव बनाउँछ ?

कुनै पनि परियोजना समयमा सक्न तपाइँले भनेका सबै कुरा चाहिन्छ। आफ्नो पैसा हाल्नै पर्‍यो। बैंकबाट सबै हाल्छु भन्दा 'म्यानेज' गर्दागर्दै ढिला हुन्छ। ठेकेदार सबै भारतकै हुन्। सबै उद्योगका त्यही ठेकेदार हुन्।

उनीहरूलाइ निर्माण सामाग्रीको उपलब्धता हुनुपर्‍यो। र, समयमा पैसा पाउनुपर्‍यो। समयमा ड्रोइङहरू आउनुपर्‍यो। फिल्डमा 'इम्प्लिमेन्टेसन' कसरी गर्ने हो ? यो सबै कुरा थोरै-थोरै जोडेर जाने हो। तर हामी उद्योगीहरूले गर्ने गर्ने भनेर एकैचोटी काम सुरू गरिहाल्छौं, 'प्लानिङ' गरेका हुँदैनौ। हामीले भने ६ महिनापछि सुरु गर्ने हो भने ६ महिना पहिला नै 'प्लानिङ गर्‍यौं। सबै कुरा 'फाइनल' गरेर मात्रै सुरु गर्दाखेरि आफ्नो 'सिस्टम' ले 'स्मुथली' चलेर गयो बनिहाल्यो 'प्रोजेक्ट'।

तपाइँको समूहको 'हिस्ट्री' हेर्ने हो भने ३०/४० वर्षको अवधिमा गुणात्मक फड्को समेत मारेको देखिन्छ। यसलाइ कसरी 'डिफाइन' गर्नुहुन्छ ?

एउटा भिजन हो। हामीले कहाँ पुग्नु छ भन्ने भिजन हुन्छ। मेरो बुबाले सुरू गर्दा विस्तारै उद्योगमा जाने भिजन थियो। जमानामा हाम्रो बुबा-बाजे कपडाको ब्यापार गर्नुहुन्थ्यो। त्यो बेलामा फलाम यहाँ सबै आयात हुन्थ्यो। कोरिया र जापानबाट आयात हुन्थ्यो।

आयात गरेर उद्योग नै लगाउने भन्ने भिजन लिएर हिड्यौं। आफ्नो क्षमताभन्दा बढी रिक्स लिएर अगाडि बढेको पनि अवस्था छ। जुन बेलामा हामी सानो ट्रेडर्स थियौं, त्यो बेलामा हामी ट्युबमिल राखेर आँटेर अगाडि बढ्यौं।

जब आटेर गर्छौं भने त्यतिबेला हामीसँग सक्सेस गर्नु बाहेक अर्को कुनै विकल्प हुँदैन, किनभने हामीले सबै सम्पत्ति सबै लगाइसकेका हुन्छौं। आफ्नो क्षमताभन्दा ठूलो परियोजना लगाउँदा सक्सेस गर्नु बाहेकको विकल्प हुँदैन। गर्नुपर्छ भनेर लागेपछि सक्सेस भइहाल्छ। भिजन हो र भाग्य पनि हो।

हाम्रोमा 'सर्ट टर्म गेन' लाई धेरै नै प्राथमिकतामा राख्ने चलन छ। व्यापारमा छिटो नगद प्रवाह हुन्छ। उद्योगमा लगानी गर्दा कहिले आउँला भन्ने छ। तर त्यो कुरामा तपाइँहरू पहिलादेखि नै अलग हुनुभयो ?

अलग हुनुमा हाम्रो परिवार सानो छ। हामी दुईजना दाजुभाइ मात्रै हौं। बुबाहरू दुईजना हुनुहुन्छ। हामीसँग त्यति ह्यान्ड्स पनि छैन, व्यापार पनि गरौं भन्ने। जुन लाइनमा गयो त्यतै जाने 'फेनोमेना' नै हो।

हामीलाइ उद्योग- व्यापार गर्ने नसा नै हुन्छ। कसैलाइ व्यापारको छ, हामीलाई उद्योगको नसा छ। सुरुदेखि उद्योगमा लाग्यौं, उद्योग मात्रै आउँछ। व्यापार आउँदै आउँदैन।

अहिले उद्योगीको भूमिका अलि 'प्रेस्टिजियस' भएको छ। पाँच-सात वर्ष अघिसम्म उद्योगबाट केही पनि भएन। बरू व्यापारमा लागेको भए केही गर्न सकिन्थ्यो भन्ने सुनिन्थ्यो। अब चाँही व्यापारीको तुलनामा उद्योगीको 'प्रेस्टिज गेन' हुन थालेको हो ?

उद्योगीको 'प्रेस्टिज गेन' हुन थालेकै हो। समग्र रूपमा सोचमै परिवर्तन आइसक्यो। पहिला हामीसँग त्यति इन्फ्रास्ट्रक्चर पनि थिएन। सरकार पनि पुरातन सोचमा चल्थ्यो। व्यापारिक गतिविधि र राजस्वमै केन्द्रित हुने गरेको थियो। भन्सारबाट राजस्व उठ्यो त्यही हिसाबले हेर्थ्यो।

अब विस्तारै अन्तर्राष्ट्रिय स्तरमा पनि परिवर्तन आउन थाल्यो। ब्यालेन्स अफ पेमेन्ट, व्यापार घाटा लगायतका धेरै कुरा आउन थाल्यो। विश्वको अर्थतन्त्र पनि एकीकृत हुन थाल्यो। आफ्नै उत्पादन बढाउनु पर्‍यो, जसका लागि हामीसँग विदेशी मुद्रा संचिति छैन भन्ने रियलाइजेसन आएको छ।

आफ्नै उत्पादन गर्दा सस्तो पर्छ भन्ने पनि छ। हाम्रो एउटा 'लिमिटेसन' 'ल्याण्डलक' भएकाले आयातित सामान महँगो पनि पर्छ। सकेसम्म यहाँ उत्पादन गर्ने भन्ने सोचमा गएको देखिन्छ।

पुरानो जमानामा पनि हिमाल स्टील, हुलासले विराटनगरमा जुट मिल लगाएर औद्योगिकरणको सुरुवात गरियो। यसको उद्देश्य उद्योग स्थापना गरेर औद्योगिक वातावरण तयार गर्नु थियो। र, त्यसबाट देशको विकास गर्नु नै थियो। रोजगारीका लागि उद्योग नै चाहिन्छ। रोजगारीका लागि सरकार संवेदनशील भएको छ। विस्तारै सबैले उद्योगको महत्व बुझ्दै गएका छन्।

सरकारमा बस्ने कर्मचारीतन्त्रमा पनि व्यापारी र उद्योगीलाइ फरक रूपमा हेर्नुपर्छ भन्ने कु्रा आउन थालेको हो ?

इज्जत दिन थालेका छन्। कर्मचारीतन्त्रले पनि उद्योगको महत्व बुझ्न थालेका छन्।

तपाइँको 'लाइन अफ विजनेस'ले कस्तो गरिरहेको छ ?

सिमेन्ट र डन्डीको व्यापार ठीकै भएको छ। अहिलेसम्म राम्रै छ।

तपाइँको समूहले लगानीमा विविधीकरण गर्ने योजना कसरी बनाइरहनुभएको छ ?

हामी अलिकति धेरै ठाउँमा हात हाल्नुभन्दा एउटा प्रोजेक्ट गरेर त्यसलाई स्थापित गरेर अर्कोमा जानेमा विश्वास गर्छौ। पाल्पा सिमेन्ट पनि ठूलो प्रोजेक्ट हो, यसलाई स्थापित गरेर मात्रै अरू योजनामा हामी लाग्छौं।


Share this Story

   

'नयाँ प्लेयर नआओस् भनेर केही सिमेन्ट उद्योगीले प्रोपोगाण्डा गरे,' राजेश अग्रवालको अन्तर्वार्ता को लागी १ प्रतिक्रिया(हरु)

dambar nepali[ 2020-02-10 11:04:36 ]
hats off to Rajesh ji and many more industrialists, building our nation.

   हालसम्म २२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell