रियलस्टेटमा लगानी गर्नका लागि अध्ययन भइरहेको छ, नेपाल लाइफका सिइओ झाको अन्तर्वार्ता


जीवन बीमा कम्पनीमध्ये ३३ प्रतिशत हिस्सा एकलौटी रहेको नेपाल लाइफ इन्स्योरेन्स निरन्तर अगाडि बढिरहेको छ । ब्रान्डसँगै बीमाको कभरेज पनि बढाउँदै लगेको छ। पुँजी वृद्धिसँगै प्रतिफललाई पनि केन्द्रमा राखेर ब्यापार गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई बिजमाण्डूका अरुण सापकोटाले सोधे- कम्पनीले केही वर्ष अगाडि निष्कासन गरेको एफपीओमार्फत जगेडा कोष बलियो बन्यो। जगेडा कोष र नाफाबाट राम्रो लाभांश दिन सफल पनि देखियो। तर पुँजी बृद्धिको अनुपातमा प्रति शेयर आम्दानी बढ्न सकेको छैन। लगानीकर्ताले भोलिका दिनमा पनि विगतकै लाभांशको पाउन सक्लान् ?
हामीले चार वर्षअघि निष्कासन गरेको एफपीओबाट धेरै राम्रो प्रतिक्रिया प्राप्त गर्‍यौं। त्यतिबेला नै हामीलाई राम्रो काम गर्‍यौं भन्ने लागेको थियो। कम्पनीले गरेको उत्कृष्ट कामकै कारण चार अर्ब ४१ करोड रूपैयाँको एफपीओ निष्कासन गर्दा ५४ अर्ब रूपैयाँको आवेदन परेको थियो।

एफपीओ निष्कासन अगाडिको कम्पनीले वितरण गरेको लाभांशको ट्रयाक रेकर्डले आकर्षण बढेको थियो। अहिले पनि हाम्रो शेयरधनी कोषमा करिब ८ अर्ब रूपैयाँभन्दा माथि पैसा छ। जसमा एफपीओमार्फत आर्जन भएको प्रिमियम अझै साढे दुई अर्ब रूपैयाँ बाँकी नै छ। 

TaTa
Riddisiddi Cement

म आइकन साढे ३७ करोड रूपैयाँको पुँजीबाट साढे ५ अर्ब रूपैयाँ पुगिसकेको छ। साढे दुई अर्ब रूपैयाँ कम्पनीको नियमित नाफाबाटै वितरण पैसाबाट पुँजी बढेको हो। यसबाहेक करिब दुई अर्ब ४० करोड रूपैयाँको नगद लाभांश बाँडिसक्यौं। नगद लाभांश नितान्त कम्पनी आफैंले कमाएको पैसाबाट वितरण गरिएको हो। यसले कम्पनीको आफ्नो स्ट्रेन्थ निश्चय नै राम्रो भएको देखिन्छ। त्यो हिसाबले कम्पनीको कमाइ एउटा स्तरमा भइरहेकै अवस्था छ र आउँदा दिनमा पनि निरन्तरता हुन्छ। 

पछिल्लो समय नयाँ १० जीवन बीमा कम्पनी आए। एकैपटक यतिका धेरै नयाँ कम्पनी आउँदा पनि नेपाल लाइफको बजार हिस्सा ३३ प्रतिशत छ। अबका दिनमा सबै कम्पनीले आफ्नो बजार हिस्सा बढाउन प्रयत्न गर्ने छन्। नेपाल लाइफले आजकै दिनको बजार हिस्सालाई कायम गर्न सक्ला ?
प्रतिस्पर्धालाई हेर्ने दुईवटा तरिका हुन्छन्। व्यवस्थापनमा ‘ब्लु ओसन स्ट्रयाटिजी’ भनेर पढिन्छ। एकैखालको प्रतिस्पर्धाभित्र एउटै किसिमका प्रोडक्ट लिएर, एकै तरिकाको मार्केटिङ गर्नुहुन्छ भने त्यो ‘कट थ्रो स्ट्रयाटेजी’ हो। र, यसलाई रेड ओसन भनिन्छ। त्यसमा रगतै रगत हुन्छ। तानातान गर्ने वातावरण बन्छ। तर नेपाल लाइफको सुरूदेखिको अवधारणा ‘वी बिलिभ इन क्रिएट वन मार्केट’ हो। प्राइस वार आदि इत्यादि कुराहरूमा हामी संलग्न हुँदैनौ। मेरो विचारमा त्यो अल्पकालीन हुन्छ। एउटाले ५ रुपैयाँमा सामान ल्यायो, म चाँहि चार रूपैयाँ ९७ पैसामा ल्याउँछु भन्ने होइन। 

हाम्रो व्यापार भनेको विश्वासको व्यापार हो। हामीले आज बोलेका कुराहरूलाई भोलि पुर्‍याउनु पर्ने दृढताका साथ गयौं भने मात्र दीर्घकालीन व्यापार गर्न सक्छौ, होइन भने हामी गर्न सक्दैनौं। एकातिर नेपालको बीमा बजार 'अण्डर पेनिट्रेटेड' छ। यो दुई वर्षमा संख्या बढेर गएको होलान् तर बजारको आकार अझै सानो छ। 

अहिले हामी बचतको व्यापार गरिरहेका छौं। तर हाम्रो प्रोडक्टमा विविधता आवश्यक छ। अरूको भन्दा फरक र नयाँ नयाँ प्रोडक्ट ल्याउनु पर्‍यो। त्यसपछि मेरा प्रोडक्टलाई बजारमा लिएर जाने मान्छे विश्वासिलो हुनु पर्‍यो। त्यो भनेको हाम्रा अभिकर्ता हुन्। त्यसैले अभिकर्तामा त्यस किसिमको भावना विकास गराउनु पर्छ। यसरी गयौं भने नेपाल लाइफको आजको ३३ प्रतिशतको बजार हिस्सा हिजोका दिनमा भन्दा बढेर जानेछ। 

वास्तवमा आजका दिनमा नेपाल लाइफको बजार हिस्सा हिजोको दिनमा भन्दा बढेर गएको छ। ८/९ वर्ष अगाडि हाम्रो बजार हिस्सा २२ प्रतिशत मात्रै थियो। जबकी १० वर्ष अगाडि पनि नयाँ चारवटा कम्पनी आएका थिए। अब हामी आउँदा दिनमा आफूलाई अझ बढि खरो उतार्नका लागि तयार छौं। जहाँ प्रतिस्पर्धा हुन्छ त्यहीँ इन्भेन्सन हुन्छ। आफ्नो ब्राण्ड बनाउन हामी पुरै केन्द्रित छौं। आउँदा दिनमा देश सुहाउँदो र परिवेश सुहाउँदो प्रोडक्ट ल्याउँछौ। 

अहिले हामीले धेरै बेचिरहेको बीमा ३५ देखि ४५ वर्ष उमेर समुहकालाई हो। आजको दिनमा नेपालमा २५ बर्ष उमेरभन्दा कम भएका मानिस ५० प्रतिशत छन्। यो समुह बल्ल त आउँदैछ। पूर्ण रूपमा निश्चिन्त छौं, हामी हाम्रो बजार हिस्सा यो भन्दा बढाएरै लैजान्छौ। 

तपाईले भनेको जस्तै बजार हिस्सा पनि बढिरहेको छ। भोलिका दिनमा अझै बढ्दै जाने क्रममा छ। यससँगै जोखिमको कुराहरू आउँछ। अब विस्तारै जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने बेला आएको जस्तो देखियो। यस्तो अवस्थामा चाँहि कम्पनीले रणनीतिक साझेदार भित्र्याउने बेला भएन ? ‍
म यसलाई दुईवटा पाटोमा बाँड्छु। एउटा पाटो बीमा कम्पनीको उमेर चेक गर्नु पर्छ है भन्ने भनाइ छ। त्यो किन भनेको हो भने कम्पनीको स्ट्रेन्थको लागि हो। एउटा पाटो स्ट्रेन्थ र त्यो स्ट्रेन्थ कहाँ गएर जोडिन्छ भने हिजो उसले भनेको कुरा पुरा गर्‍यो की गरेन ? हेरिरहेको हुन्छ। 

यो दीर्घकालीन र जोखिमको व्यवसाय हो। जोखिम व्यवस्थापन नै सबैभन्दा महत्वपुर्ण कुरा हो। हामीहरु सारा मानिसलाई तपाईको जीवनसँग सम्बन्धित आर्थिक जोखिमलाई व्यवस्थापन गर्छौ भनिरहका छौं। जोखिम व्यवस्थापन गर्ने भनिसकेपछि व्यवस्थापनको त ठूलो कुरा आउँछ। 

पहिलो पाटो हामीले विश्वका 'टप फाइभ रेटिङ' कम्पनीमा पुनर्बीमा गर्दै आएका छौं। अर्को पाटो बैंकमा जसरी 'क्यापिटल एडिक्युसी' हुन्छ बीमा क्षेत्रमा पनि यसलाई 'सोल्भेसी रेसियो' सँग जोडेर हेरिन्छ। बीमा समितको 'सोल्भेसी रिक्वाएरमेन्ट' एक बराबर एक छ। हाम्रो एक बराबर तीन छ। भनेको तीन गुणामा सोल्भेन्सी लिएर गइरहेका छौं। 

अब छिट्टै नै जोखिममा आधारित पुँजीमा जानुपर्ने बेला हुन लागेको छ। यसलाई जहिले पनि नियामकीय आवश्यकताको रूपमा मात्रै हेर्नु हुँदैन। हामीले पहिलेदेखि नै यो अवधारणालाई पच्छ्याउँदै आएका छौं। 

अर्को सबैभन्दा ठूलो कुरा हामीले बीमा गर्दा दायित्व किन्यौं। बीमितको पैसामा बोनस जोडेर पैसा फिर्ता गर्ने हो। बीमा गर्दाखेरि ल्याएको दायित्वलाई उचित सम्पतिमा लगानी गर्नु पर्‍यो। त्यो सम्पतिको प्रतिफलका आधारमा बीमितको बोनस तय गर्ने हो। त्यसैले सम्पत्तिको सही सदुपयोग हुनु पर्छ। 

जोखिमपूर्ण सम्पतिमा गयो भने भोलिका दिनमा ठूलो असर पर्छ। नेपालमा एउटा कुरा के छ भने सुरूमा जति बोनस दिन्छु भनिएको छ त्यो कुनै पनि हालतमा दिनै पर्छ। नकि बैंकको ब्याजदर तलमाथि भएजस्तो गर्न मिल्छ। 


अरूबाट सिक्ने कुरा कत्तिको हुन्छ ?
सकेसम्म हामीले जानेको बुझेको, पढेको तथा भोगेको कुरा प्रयोग गर्ने हो। कहिलेकाँही बुज्रुकको पनि कुरा सुन्नु पर्छ। घर गाउँमा बुवा हजुरबुवाको सल्लाह लिएजस्तै कर्पोरेट क्षेत्रमा पनि पुराना कम्पनीको सल्लाह लिनु पर्छ। उहाँहरूले व्यवहारिक जीवनमा कसरी ट्याकल गर्नु हुन्छ भन्ने कुरा अनुभव सुन्छौं। 

यसबाहेक हामीले पनि धेरैवटा साझेदारसँग सहकाकार्य गरिरहेका छौं। हामी विश्वका उत्कृष्ट कम्पनीहरूसँग समन्वय गरिरहेका छौं। कसैसँग हामीले तलिम लिने-दिने काम गरिरहेका छौ। एकअर्कासँग भेट्ने लगायतका कुराहरु निरन्तर चलिरहेको छ। त्यस्तो कुराले फाइदा पनि भएको छ। यो काम आजभन्दा आठ वर्षदेखि गरिरहेका छौं। 

हामीले समन्वय गरेका संस्थाहरूमध्ये कसैको सय वर्षको अनुभव छ, कसैको २५ वर्षको। जसको अन्तर्राष्ट्रिय ब्राण्ड छ, उनीहरूबाट केही जान्न बुझ्नका लागि विभिन्न सेमिनारहरूमा सहभागी हुँदै आएका छौं। 

ओभरअल कम्पनीको ३६० डिग्रीको विकास हुने गरि हामी अगाडि बढिरहेका छौं। जसले हाम्रो व्यवस्थापन, जनशक्ति र एजेन्सी फोर्सको क्षमता बढाउने काममा मद्दत पुर्‍याएको छ। त्यस्तै कम्पनीको संरचना र पुँजी संरचनाको व्यवस्थापनका लागि आवश्यक पर्ने प्राविधिक सहयोग लिएर काम गरिरहेका छौं। 

सहकार्य मात्र की भोलिका दिनमा विदेशी रणनीतिक साझेदार भित्र्याउने अवस्था रहन्छ ?
सबै कुरा देखिने गरिभन्दा हाम्रो आफ्नै रणनीति छ। हामी आफै रणनीतिक रूपमा अगाडि बढिरहेका छौं। नेपाल लाइफले सुरुदेखि नै रणनीति बनाएर हिँडेको छ। हामी जहिले पनि बलियो हुन चाहिरहेका हुन्छौं। हामी कुनै पनि बेलामा कुनै पनि पार्टनरिङमा हुन सक्छौं। तल बसेर साझेदारी गर्दैंनौं। 

नेपाल लाइफ यसरी राम्रो र बलियो कम्पनी बन्नु पर्‍यो कि देख्नेले पनि भनोस्- ‘यस आइ उड लाइक टु पार्टनर विथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी।‘ हामीले सुरूदेखि नेपालको यो ब्राण्ड अन्तर्राष्ट्रिय स्तरमा जाँदाखेरि माथि होस भनेर काम गरिरहेका छौं। 

आज बंगलादेशको माइक्रोफाइनान्स मोडल विश्वव्यापी रूपमा लोकप्रिय हुन सक्छ भने नेपालको पनि कुनै मोडल किन हुन नसक्ने ? हामी पनि प्रयास गर्दैछौं। इन्डिभिजुअल एजेन्सीमा नेपाल लाइफले विश्वास गर्‍यो। केही समय अगाडि एउटा विदेशी कम्पनीसँग कुराकानी गर्दा हाम्रो मोडलबाट प्रभावित हुनु भएको थियो। 

धेरै लामो समयदेखि बीमा कम्पनीहरूले हाम्रो लगानीको दायरा धेरै सीमित भयो, बैंकको ब्याजदरका आधारमा नाफा तल-माथि हुन्छ भनेर गुनासो गरेपछि बीमा समितिले लगानी निर्देशिका परिमार्जन गर्‍यो। यसमा कम्पनीहरूले घरजग्गामा लगानी गर्ने विषय थपियो। यसै अनुसार रिजर्भको ५ प्रतिशत रकम घरजग्गामा लगानी गर्न पाउने बाटो खुल्यो। यस सन्दर्भमा नेपाल लाइफले घर जग्गामा कारोबार गर्ने मोडालिटी कसरी बनाउँदै छ ? 
लगानीमा दुई किसिमका समस्या थियो। एउटा सम्पति र दायित्वको मिसम्याच थियो। अर्को बैंक ब्याजदरको उतारचढाव। एक वर्ष अगाडि १२ प्रतिशतको ब्याजदर झरेर तीन प्रतिशतसम्म आएको पाइन्छ। यस्तो अवस्थामा हामीसँग लगानीका दायरा एकदमै सीमित थियो। 

नयाँ लगानी नर्देशिका ल्याएर बीमा समितिबाट एकदमै राम्रो काम भयो। निर्देशिका परिवर्तन हुने वित्तिकै आफूलाई तयारी गर्नु पर्छ। यस्तो अवस्थामा हामी हाम्रा रणनीतिक साझेदारहरूसँग पनि केही कुरा गर्छौ। उनीहरूले रियल स्टेट तथा हाउजिङका क्षेत्रमा ५० वर्ष अगाडि नै काम गरिसके। उनीहरूसँग यस्तो क्षेत्रको मोडालिटी छ, साथै अनुभव पनि छ। अहिले हामी अध्ययनकै अवस्थामा छौं। 

यसो भन्दै गर्दा हामीले रियल स्टेट तथा भौतिक पूर्वाधारसँग सम्बन्धित कुराहरू, कृषि, पर्यटन, जलविद्युतमा लगानी गर्नु पर्छ। त्यस्तै शेयरमै पनि लगानीको दायरा बढेको छ। सबै पक्षलाई मिलाएर पोर्टफोलियो व्यवस्थापन गर्नु पर्छ। 

विदेशमा हाउजिङका स्किम पनि इन्स्योरेन्सबाट हुन्छ। हाम्रो देशमा पनि यसको आवश्यकता बढि छ। यदि आज म बैंकबाट हाउजिङका लागि ऋण लिन गए भने १२ प्रतिशतमा पाउँछु। अझ तरलता धेरै सहज हुँदा ८ प्रतिशतमा हाउजिङ ऋण पाइएको थियो। तर ८ प्रतिशतमा ऋण लिएको दुई वर्ष भाको हुँदैन ब्याजदर बढेर १२/१४ प्रतिशत पुग्छ। उसले आज गरेको फाइनान्सियल प्लान तीन वर्षपछि उसैलाई बोझ हुन्छ। यस्तो किसिमको मिसम्याच ब्यवस्थापनका लागि विदेशका जीवन बीमा कम्पनीले रियलस्टेट क्षेत्रमा कर्जा प्रवाह गरेको पाइन्छ। 

बीमा क्षेत्रमा ब्याजदर निश्चित हुन्छ। जो रिटेल क्लाइन्ट छ उ पनि खुसी। उ आफ्नो योजना अनुसार चल्न सक्छ। हाम्रो देशमा आजको बेलामा यसको आवश्यकता बढि छ। आजका दिनमा मध्यम वर्गलाई माथि ल्याउन खोजिरहेका छौं। यस्तो बेलामा विदेशी बीमा कम्पनीले गरेका रणनीतिहरूलाई नेपालमा प्रयोग गर्न सक्छौं।  

भन्नाले हामी व्यक्तिगत रूपमै यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्छौ कि आफैले अरू हाउजिङको योजना बनाएर जान सक्छौ ?
आजको मितिमा हामीलाई यस्ता क्षेत्रमा लगानी गर्ने अनुमति छैन। हामीले यस विषमा परिकल्पना गरेका छैनौं। अहिले कम्पनीहरूले के गर्न सक्छन् भन्दा, पाएको ५ प्रतिशतको सिमाबाट रियल स्टेट खरिद गर्ने। व्यापारिक प्रकृतिका हाउजिङ खरिद गर्ने र त्यसबाट आउने आम्दानी राख्ने। यसले कम्पनीलाई सीमित आम्दानी प्रदान गर्छ। अर्को फाइदा पुँजीगत लाभ हुन्छ। रियल स्टेट भनेको लाइफ इनस्योरेन्सका लागि एकदमै ठूलो ब्याक-बोन हो। 

भारतमा हेर्‍यो भने मेजर प्रपर्टी लाइफ इन्स्योरेन्सकै छ। जापानमा जानु भयो भने मुख्य सहरका हाउजिङ लाइफ इन्स्योरेन्सकै छ। अधिकांशले हाउजिङ बनाएर बेच्नेभन्दा पनि लिजमा दिएर दीर्घकालीन रूपमा लाभ लिरहेका हुन्छन्। भाडामा दिएर नियमित आम्दानी प्राप्त गरिरहेका हुन्छन् भने ब्याकअपमा हाउजिङको क्यापिटल गेनलाई मूल्यांकन गरिएको हुन्छ। जापानमा राम्रो राम्रो कम्प्लेक्स बनाएर अफिसहरुलाई दिएको देखिन्छ। 

लगानी निर्देशिकाले कर्पोरेट लेन्डिङलाई पनि खोलिदिएको छ। कर्पोरेट लेण्डिङमा पनि हामी पार्टनर हुन सक्छौं। त्यहाँ पनि ५ प्रतिशतको सीमा छ। हामीले सहुलियत पाइसक्यौ, हामी त्यसमा होमवर्क गर्दैछौं। केही कुरा यस्ता छन् जुन तत्काल गर्न सकिन्छ। केही यस्ता छन् जसका लागि थप अध्ययन गरेर काम गर्नु पर्नेछ।
 
अहिलेको अवस्थासम्ममा बैंकहरूबाट ९ प्रतिशतभन्दा माथिको ब्याजदर पाउन सक्ने अवस्था छ। त्यसैले गर्दा बीमा कम्पनीहरू लगानीका दायरा खोल्दा पनि ब्याज आम्दानीमै रमिरहेको हुन् ?
यो संक्रमणकालीन अवधि हो। हाम्रै पहलबाट यो चिज आएको हो। कोही पनि बैंकमा मात्रै पैसा राखेर बस्न खोजेको पक्कै छैन। आजको दिनमा मुद्दति निक्षेपको जुन किसिमको प्रतिफल छ यो बीमा कम्पनीहरूका लागि धेरै राम्रो छ। हामी आफैले ५०/६० प्रतिशत लगानी दीर्घकालीन क्षेत्रमा गरेका छौं। हामीले  १० वर्ष अगाडिदेखि नै गरिरहेका छौं। सम्पत्ति र दायित्व म्याच गर्नका लागि यसो गरिएको हो। 

अहिले शेयरको कुराहरू चलिरहेको छ। अहिले अण्डर भ्यालु भएको अवस्था छ। यसका लागि हामी विश्लेषण गरिरहेका छौं। प्राविधिक समुह बनाएका छौं। ती समुहले पनि हचुवाका भरमा लगानी गर्नु भएन। शेयरमा लगानी गर्न १० वर्षको तथ्यांक निकालेर विश्लेषण गरिरहेका छौं। 

त्यस्तै रियल स्टेटको पनि गएका २० वर्षको तथ्यांक निकाल्ने काम गरिरहेका छौं। त्यसमा पनि रियल स्टेटको इन्डेक्स निकाल्ने कुरा चलिरहेको छ। हाम्रो देशमा टुल्स पनि चाहिएको छ। हामी सबै चिज हेरेर अगाडि बढ्छौ। मेरो विचारमा आउँदा तीन वर्षमा जीवन बीमा कम्पनीको इन्भेष्टमेन्ट पोर्टफेलियोमा धेरै परिवर्तन देख्न सक्नुहुन्छ।

जीवन बीमा गर्नु पर्‍यो भने अभिकर्तामार्फत तत्काल बीमित हुन सक्छौं, तर दाबी भुक्तानीका क्रममा चाहि एकदमै ढिलासुस्ती हुने गरेको छ। बीमा समितिमा पनि दाबी भुक्तानी नगर्दाका धेरै मुद्दा परेका छन्। बीमा तत्काल हुने तर दाबी भुक्तानी नहुने व्यवहारिक अप्ठ्यारोको समाधान के हुन सक्छ ?
बीमाको दाबी नदिने हो भने जीवनबीमा कम्पनी या कुनै पनि इन्स्योरेन्स कम्पनीको औचित्य नै छैन। हामी सबैले त्यहाँ जोखिम छ हामीलाई हस्तान्तरण गर्दिनु र परेछ भने दाबी भुक्तानी गरिदिन्छौं। दाबी भनेको खर्च होइन। एक त त्यो बीमितको अधिकार हो। त्यहि अधिकार दिनका लागि तपाईलाई हिजो पैसा दिएको हो। 

दोस्रो कुरा तुलनात्मक रूपमा जीवन बीमा कम्पनीमा दाबीको अवस्था धेरै चिन्ताजनक छैन। तर केही अवरोधहरु भने छन्। कतिपय अवस्थामा कम्पनीहरुलाई बीमितलाई कसरी दाबी गर्ने भन्ने कुरा पनि थाहा छैन। बीमा गर्न त सिकाइयो। तर दाबी भुक्तानीको क्रममा सबै बीमा कम्पनीका अभिकर्ता नै सक्रिय छैनन्। 

बीमा गरेको १०/१५ वर्षपछि कम्पनी र दाबीकर्ताको बीचमा खाडल बनेको छ। यो खाडललाई कमी गर्नका लागि बीमितको नजिक जानु पर्छ। यसका लागि हामी काम गरिरहेका छौं। धेरै चाँडो यो तय हुनेवाला छ। पहिलो सहजोकरणको बाटो तय गर्ने दोस्रो डकुमेन्टेसनका लागि कुन कुन कागज आवश्यक पर्छ भन्ने कुरामा जानकारी दिने। त्यसैले हामीले केमा ट्रेन्ड गर्नु पर्‍यो भने बीमा गर्न आउनेको भन्दा दाबीको लागि आउनेलाई पहिलो प्राथमिकतामा पार्नु पर्‍यो। कुनै पनि व्यापारमा तपाईले भनेको कुरा जब पूरा गर्नु हुन्छ त्यसपछि कुनै किसिमका मार्केटिङका टुल आवश्यक पर्दैन, त्यो नै तपाइँको ब्राण्ड हो।
 
कतिपय अवस्थामा अभिकर्ताको विश्वासमा परेर बीमा कम्पनीले अण्डर राइटिङलाई ध्यान नदिएर पनि समस्या आएको हो ?
बीमामा अण्डर राइटिङ सबैभन्दा ठूलो कुरा हो। अण्डर राइटिङ कम्पनीभन्दा अगाडि अभिकर्ताले गर्छन्। फिल्डमा अभिकर्ता हुन्छन्। सबैभन्दा महत्वपूर्ण कुरा अभिकर्तालाई ट्रेनिङ दिनु पर्छ। बीमितलाई के सोध्ने भन्ने विषयमा क्लियर हुनु पर्छ। 

कति पैसा भयो भने बीमा गर्ने, कति रूपैयाँको बीमा गर्ने, त्यो बीमा गर्दा के कामको लागि गरिएको हो, उसको आवश्यकता के हो भन्ने विषयमा मूल्यांकन गर्न सक्नु पर्छ। उसको पेमेन्ट प्लान बनाइदिने। कस्तो किसिमको आम्दानीको स्रोत भएको मान्छे हो, यी सबै कुराको मूल्यांकन हुनु पर्छ। बीमा गर्दा प्रमुख दुई वटा पाटो, एउटा तिर्न सक्ने क्षमता र अर्को स्वास्थ्य। फारम भराउँदा स्वास्थ्य अवस्था ठीक छ या छैन हेर्न सक्नु पर्छ। फारम औपचारिकताका लागि भर्ने होइन। कुन व्यक्तिको बीमा गर्ने हो। 

अभिकर्तालाई तालिम दिनु पर्छ भन्ने कुरा सँधै भनिदै आएको हो। तर कार्यान्वयनको पाटो त सँधै नै कमजोरी देखियो त ?
यसपाली हाम्रो कम्पनीमा नाटकीय परिवर्तन देखियो। एक्चुरियल भ्यालुएसनको दौरानमा उनीहरु पनि इम्प्रेस भएका छन्। यसको कारण के हो ? यसको प्रमुख कारण हाम्रा दक्ष अभिकर्ताले गर्दा नै हो। उहाँहरुलाई अब दबाब छैन। कम्पनीको एउटा ब्राण्ड पनि बनिसकेको छ। जीवन बीमा कम्पनीमा पहिले अभिकर्ताको ब्राण्ड हुन्छ त्यसपछि कम्पनीको ब्राण्ड हुन्छ। 

हाम्रा अभिकर्ताहरू जनचेतना दिन सक्ने तहमा पुगिसकेका छन्। उनीहरूले बीमा गराउँदा सम्पूर्ण मापदण्ड बताएर मात्रै बीमा गराइरहेका छन्। उनीहरू भन्न सक्ने भएका छन् कि यस्तो अवस्थामा बीमा नगराउनुस्। नेपाल लाइफ इन्स्योरेन्समा यस्ता अभिकर्ता छन्, उनीहरूले ल्याएका बीमितमध्ये एउटाको पनि दाबी परेको छैन। यो उहाँहरुको अण्डर राइटिङको कारणले पनि हो। 

अहिलेको प्रविधिको युगमा एक क्लिकमा बीमा गर्न सकिन्छ। तर एक क्लिकमै दाबी भुक्तानी हुने अवस्था किन विकास गर्न सकिदैन ?
अब यो नगरी सुख छैन। किनभने तपाई समयसँगै हिड्नै पर्छ। अन्यथा तपाई बाहिरिनु हुन्छ। दुनियामा धेरै परिवर्तन भइसक्यो। विदेशमा गएर बीमाको अवस्था हेर्‍यौं भने यहाँको भन्दा धेरै फरक छ। जुन युगमा हामी छौं, उनीहरू योभन्दा धेरै अगाडि गइसकेका छन्। अबको पुस्ता कुनै पनि कामका लागि कार्यालयमा धाउनेवाला छैन। त्यसैले अब क्लिकमा जाने कि खाली अफिस लिएर बस्ने। त्यसैले आउँदा दिनमा तपाईले देख्नुहुन्छ। 

यसको सुरुवात अस्ति बीमा समितिको निर्देशनबाट देखिइसकेको छ। हामीमा केही समस्या थियो। टिकट टाँस्नैपर्ने, कागज हुनैपर्ने, हार्ड कपी नभइकन मान्यता नपाउने। अहिले धेरै नियमहरू पास भइरहेका छन्। जसले विद्युतीय कपीलाई पनि मान्यता प्रदान गर्ने छन्। बीमा समितिबाट वैदेशिक म्यादी जीवन बीमा अनलाइनबाट गर्नु पर्‍यो भन्ने कुरा त आयो। यो नै बीमाको लागि टर्निङ पोइन्ट हो। यसको सुरुवात सँगै यसमा नाटकीय परिवर्नत आउनेवाला छ। जसले गर्दा अभिकर्ता पनि ग्याजेट बोकेर हिड्ने दिन आउनेछ। अभिकर्ताले फिल्डमा गएर ट्याबमार्फत बीमा गराउँछन्। मेरो विचारमा यो अझ धेरै सुरक्षित हुनेछ। त्यसपछि डिजिटल भुक्तानी हुनेछन्। हामीले पनि सोचिरहेको त्यही हो। दाबी पनि किन खातामै नजाने। ठाउँको ठाउँमा किन दाबी भुक्तानी नपाउने ? यो नभइ हामी अगाडि बढ्नै सक्दैनौ। 

कतिपय अवस्थामा बीमित यस्तो अवस्थामा पुग्छ, उसले बाँकी प्रिमियम तिर्नै सक्दैन अथवा पोलिसीलाई अगाडि बढाउनै चाहँदैन भने उसले किन सहजै एक्जिट हुन नपाउने ?
यस्तो व्यवस्था बन्नु पर्छ र मेरो विचारमा बन्छ। किनभने अहिलेको अवस्थामा पनि दुई किसिमको परिपक्वता हुन्छ। एउटा म्याच्योर्ड भएपछि उसले पैसा पाउँछ। अर्को कसैले म्याच्योर्ड नहुँदै सरेण्डर हुन चाह्यो भने पनि पाउँछ। म नेपाल लाइफ भित्रिँदा बीमाको कभरेज जम्मा ४/५ प्रतिशतको मात्रै थियो। त्यतिबेला १५ वर्षसम्मको लागि बीमा गर्दा त्यसपछि यो कम्पनी नै हुन्छ हुँदैन भन्ने किसिमको भनाइ पाइन्थ्यो। त्यस्तो अवस्थामा हामी आक्रमक रुपमा 'मनि ब्याक प्लान' मा गयौं। हामीले दुई, चार, पाँच वर्षमै पैसा फिर्ता गर्ने योजना ल्यायौं। 

त्यस्ता योजना धेरै संख्यामा बिक्री भयो। पार्सियल म्याचुरिटी आउने बित्तीकै अभिकर्ताहरु घर घर दौडनु पर्‍यो। विश्वास कम भएकाले कम पैसाको बीमा भइरहेको थियो। त्यस्तो अवस्थामा उक्त बीमितले त्यहि पैसाले अर्को बीमा गर्नु भयो। पहिला लौ धेरै करायो थोरैको भए पनि बीमा गरिदिउँन भन्नेहरू पनि धेरै रकमको बीमा गराउन थाले। 

एक्जिटको कुरा ?
एक्जिट हुने कुरा दुईवटा किसिमले हेर्नु पर्छ। एउटा बीमितको आम्दानीका विषयमा सुरुमै मूल्यांकन भएन भने समस्या रहन्छ। अर्को जुन किसिमले आम्दानीको स्रोत थियो त्यो बन्द भयो भने समस्या हुन्छ। 

तर धेरै बीमितलाई यो कुरा थाहा छैन कि बीमा गरियो भने ऋण पाइन्छ भनेर। यसले गर्दा फोर्स्ली सरेण्डर गर्ने वातावरण आउँथ्यो। सरेण्डर गर्दा बीमितलाई घाटा चाँहि हुन्छ। अरू कसैलाई घाटा हुँदैन। बीचमा एउटा कम्पनीमा सेरेण्डर गराएर अर्को बीमा कम्पनीमा गएको पनि पाइन्छ। यो मिस सेलिङ हो र गलत पनि। 

बीमित जनचेतनाको कमिले गर्दा पनि यस्ता गतिविधि हुन्छ। वास्तवमै बीमितले प्रिमियम तिर्न नसक्ने अवस्था आयो भने उसले सरेण्डर गर्न पाउनु पर्छ। तर कसैले गलत रुपमा फकाएर मेरोमा बीमा गराउनु पर्‍यो भन्छ भने कम्तिमा पनि बीमितले एकपटक सोध्नु पर्छ। हाम्रो कम्पनीमा ऋण लिन, म्याचुरिटी हुन र सरेण्डर गर्न पाउँछ। 

मर्जरको अवधारणा बीमा कम्पनीमा पनि लागू गर्ने विषयमा बहस चलिरहेको छ। अहिलेको अवस्थामा पेनिट्रेसन कम भएको हुँदा केही वर्ष १९ वटै कम्पनी एक्लै चल्न सक्लान। तर बीमाको पनि एउटा तहमा पुगेपछि अवको योजना मर्जर हुन सक्छ ?
अबको योजना मर्जर भनेर मैले कहिले पनि पढिन। चार्टर्ड एकाउन्टेन्सी गर्दै गर्दा मैले के पढेको थिए भने- मर्जर एक्विजिसन भनेको व्यापारको एउटा पाटो हो। व्यापारमा जुनसुकै बखतमा यस्ता काम भइरहन्छ। मानौ अलिबाबालाई नयाँ बजारमा छिर्न मन लाग्यो भने उसले त्यहाँको स्थानीय कम्पनीलाई एक्वायर गरिदिन्छ। यो व्यापारको एउटा पाटो हो। कहिले दुईवटा धेरै राम्रा कम्पनी हिँडिरहेको हुन्छ। सिनर्जी बराबर हुन्छ। कसैले हामी दुई वटा मिलौं, फिक्स कस्ट शेयर गरौं, स्ट्रेन्थेनिङ गरौं, प्रफिट बढिहाल्छ भनेर गर्छन्। 

हाम्रो देशको अवस्थामा पनि एउटै डर के हो भने फिक्ट कस्ट नाटकीय रूपमा बढ्दै बढ्दै गइरहेको छ। यो बैंकमा पनि लागू हुन्छ। हरेक वर्ष यस्तो खर्च बढ्दै गइरहेको छ। जसले गर्दा नाफामा प्रभाव पार्छ। त्यो अवस्थामा प्रफिट प्लानिङको माध्यमले फिक्स कस्ट कटौतीका लागि हामी मिलौ भन्ने एउटा पाटो रहन्छ। अर्को कुनै कम्पनी सर्भाइव हुनै गाह्रो भयो। म तपाईसँग मिसिन आउछु हामी मिलेर जाउ भन्ने अवस्था आउँछ। 

बैंकमा मर्जरका लागि गयो भने विभिन्न सुविधाको व्यवस्था छ। यसले गर्दा पनि मर्ज भइरहेको छ। म अलि फरक ढंगले हेर्छु। मानौ १० वटा नयाँ कम्पनी बजारमा आएछन् भने ती कम्पनी ल्याइएका हुन्। आएका होइनन्। मैले आफैं कम्पनी ल्याएको हो भने मसँग पनि त योजना होलान् नि। मैले दुई अर्ब रूपैयाँ त्यसै त लगाउँदिन होला। आजकै दिनमा मर्जरको प्लान हुन्छ भन्नेभन्दा पनि यो कुनै पनि दिनमा हुन सक्छ। यदि नयाँ महँगो टेक्नोलोजी प्रयोग गर्नुपर्ने भयो भने त पक्कै पनि पार्टनर त खोजिन्छ होला नी। 

केही समय अगाडि बीमाको कारणले केही आपराधिक गतिविधि भए। कम्पनीहरुको बजार विस्तार गर्ने होडबाजीले पूर्ण अण्डरराइटिङबिना नै पोलिसी बिक्री गरेको पाइयो। बीमाको विस्तार सँगसँगै बढिरहेको आपराधिक गतिविधि रोक्ने अवको उपाय के हुन सक्छ ?
कुनै पनि व्यवसायमा सबै भन्दा डरलाग्दो पक्ष नै यही हो। हरेक व्यवसायमा निहित जोखिम हुन्छ। जस्तो बैंकले ऋण दिँदा डुब्ने अवस्था हुने हुन्छ। जीवन बीमामा झन् ठूलो सम्भावना हुन्छ, यो देखियो पनि। 

यसको नियन्त्रणको पहिलो काम बीमा प्रतिको जनचेतना नै हो। यसले सबैभन्दा पहिले प्रलोभनलाई रोक्छ। आपराधिक मानसिकतामा चाँहि यस्ता किसिमका गतिविधिलाई सुरुवातमै अपराधको पराकाष्ठा मानेर घोर कानुनी कारबाही गरिएन भने यस्ता गतिविधि भइरहन्छ।

एउटाले गर्‍यो भन्दैमा छाड्ने हैन कि तत्काल कारबाही गर्नु पर्छ र कम्पनीले आफ्नो अण्डरराइटिङलाई एकदमै कडा बनाउनु पर्छ। हामीले एक किसिमले अण्डरराइटिङ गराएका हुन्छौं नै। अर्को कुरा हामीले पोलिसी कन्फर्मेसन पनि गरिरहेका छौं। ठुला ठुला बीमा बुझेर गरे कि गरेनन्। हामीले अहिले देखिरहेको यस्ता गतिविधि बाहेक अर्को सबैभन्दा ठूलो अपराध एण्टी-मनि लण्ड्रिङ हो। यो पनि त आपराधिक घटना हो। 

तपाईले भनेको जस्तो आजका दिनमा बीमाको दायरामा आउने क्रममा रहेका २५ वर्षभन्दा कम उमेर समुहका मानिसलाई बीमाको दायरामा ल्याउदै गर्दा राज्यको पनि भार कम हुने गरि पेन्सन प्लान जस्ता प्रोडक्टका लागि कसरी इन्करेज गर्ने ?
अहिलेसम्म अधिकांश प्रोडक्ट बचत गर्ने किसिमका छन्। अबको सामाजिक परिवेश जागिरबाट अवकास भएपछि पनि १५/२० वर्ष बाँच्ने अवस्थाको रहन्छ। यसका लागि ठूलो खर्च हुनेछ। जागिर अवधिसम्म त पैसा आउँछ। अवकासपछि त झन ठूलो खर्च छ। स्वास्थ्य उपचारमा अझ धेरै खर्च हुन्छ। समाजिक परिवेश सानो परिवारतर्फ गइरहेको छ। अवकासको जीवनमा हेर्ने मानिस हुँदैनन्। अबको बजारमा यस विषयमा पनि सोच्नु पर्ने आवश्यकता छ। आगामी दिनमा न्यु प्लान निश्चय नै आउने छन्। आज मैले जति कमाइरहेको हुन्छु कम्तिमा पनि अवकास जीवनमा ७५ प्रतिशत पाउने गरि अवकासको योजना बनाउनु पर्छ। 

अर्को कुरा अवकास एउटा महत्वपूर्ण पार्ट भयो। जापान जस्तो देशमा के समस्या छ भने मानिसहरु धेरै बाँचे। युवा पुस्ता नै छैन। उनीहरुको खर्च धेरै माथि छ। बीमा कम्पनीको सबैभन्दा धेरै जोखिम त्यहाँ छ। हाम्रो देशमा ठीक उल्टो छ, युवा पुस्ता धेरै छन्। अब बल्ल बीमा गर्ने मानिस बढ्दै छन्। 

अवकासका लागि हामीसँग जति उपलब्ध स्रोत छन्, त्यसमध्ये एउटा स्रोत जीवन बीमा पनि हो नि। त्यसैले बीमाका लागि अलिक सहजीकरण गर्न आवश्यक छ। 

कम्पनीको साधारणसभा समयमा सम्पन्न गर्नु भनेको गुड गभर्नेन्स अन्तर्गत पर्छ। एक्चुरीलाई बहाना देखाएर बीमा कम्पनीहरूले जहिले पनि साधारणसभालाई ढिलाइ गर्दै आएका छन्। कम्पनीहरू आफैं इमान्दार भएर एक्सचुरियल मूल्यांकन चाँडै सकाएर समयमा साधारणसभा गर्ने अभ्यास सुरू गर्ने बेला भएन र ?
हरेक चिजको विकास क्रमशः हुन्छ। आजका दिनमा बीमा समितिले लिएका केही स्टेपको कारणले देशको बीमा व्यवसायमै कायापलट भयो। एकातिर ठूलो मात्रामा व्यापार बढेको छ। अर्कोतिर कन्ट्रोल एसपेक्ट पनि सँगसँगै बढेको छ। 

हामीले सबै राम्रो गर्दै गर्दा पनि एक्चुरीको समस्या भने समाधान गर्न नसकेको काम भित्र पर्छ। यसका लागि बीमा समितिमा निरन्तर छलफल भइरहेको छ। हाम्रोमा चार वटा त्रैमासिक प्रतिवेदन आएपछि बल्ल एक्चुरी सुरू हुन्छ। देशमै एउटा पनि एक्चुरी नभएको कारणले यसमा थप ढिलाइ हुन्छ। बाहिरबाट ल्याएका एक्चुरीलाई यहाँबाट रेगुलेट गर्न सकिँदैन। एउटा एक्चुरीबाट ल्याएको मूल्यांकन अर्को एक्चुरीबाट चेक हुने, अनि बल्ल लेखापरीक्षण गर्ने। अडिट नगरेसम्म एजीएम गर्ने कुरै आएन। 

यो भन्दै गर्दा सम्बोधन नगर्ने भन्ने कुरा हुँदैन। पछिल्लो समय एउटा एक्चुरीसँग कुरा गरेको थिए। जब हामी त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्छौ। जसरी बैंकले त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दा लोनलस प्रोभिजनिङ गरिरहेको हुन्छ बीमा क्षेत्रमा पनि त्यस्ता किसिमका मोडालिटी ल्याउन सक्दैनौ त हामी ? अथवा अहिले वार्षिक रूपमा हुने एक्चुरियल मूल्यांकनलाई त्रैमासिक रुपमा गर्ने नियम के हुन सक्छ ? पहिला हाम्रोमा तीन वर्षमा एक्चुरी हुन्थ्यो। तीन वर्षबाट एक वर्षमा झार्‍यो। तीनबाट एकमा आउँदा पनि कतिपयलाई चित्त बुझेको थिएन। एकमा आएजस्तै गरि त्रैमासिक रूपमा पनि जानु पर्‍यो। त्यो हुन सक्यो अथवा जुन दिन त्यस्तो गर्न सक्छौं। बाहिरतिर सफ्टवेयर प्रयोग गर्दा प्रत्येक दिन एक्चुरी हुन्छ रे। 

समितिमा पनि यस विषयमा धेरै छलफल चलिरहेको छ। उहाँहरुले एक्चुरीहरू सँग पनि कुरा गरिरहनु भएको छ। यसलाई कसरी एड्रेस गर्ने भनेर अगाडि बढ्ने भन्ने विषयमा कुरा भइरहेको छ। यस्तो भयो भने एजीएम ढिला हुने समस्या पूर्ण रूपमा समाधान हुन्छ। यो प्राविधिक विषय हामी पनि सिकिरहेका छौं। प्राविधिक विषय भएकाले विस्तारै यसलाई सम्बोधन गर्नु पर्छ। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell