बिग मर्जर: घोषित नीतिपछि अनौपचारिक पहलमा राष्ट्र बैंक, गभर्नर आँफै कुराकानीमा

बिजमाण्डू
२०७६ असोज २८ गते १२:३४ | Oct 15, 2019
बिग मर्जर: घोषित नीतिपछि अनौपचारिक पहलमा राष्ट्र बैंक, गभर्नर आँफै कुराकानीमा

Tata
GBIME
Nepal Life

काठमाडौं। 'बिग मर्जर' का लागि नेपाल राष्ट्र बैंकले रणनीतिक पहल थालेको छ। चुक्ता पूँजी बृद्धि गरेर वित्तीय स्थायित्वको जग हालेको जस पाइरहेका गभर्नर 'बिग मर्जर' गराए आफ्नो 'सिग्नेचर' छाड्न खोजिरहेका छन्।

त्यही भएर गभर्नर डा. चिरञ्जिबी नेपाल यतिबेला बिग मर्जरका लागि रणनीतिक पहलमा लागेका हुन्।

मौद्रिक नीतिमार्फत 'मर्जर प्याकेज' ल्याएका गभर्नरले केही ठूला बैंक गाभ्न सके साना बैंकहरु स्वत आफ्नो नीतिको पछाडि लाग्ने विश्लेषण गभर्नरको छ। 

विश्व बैंकले संख्या घटाउन भनिसकेको र सरकारले पनि ठूला मर्जरलाई प्रोत्साहन गर्ने नीति लिएका कारण गभर्नर नेपाललाई 'विग मर्जर' गराउन सहज वातावरण तयार भएको हो।

उनी २८ वटा बैंकको संख्या केही कम गराएर स्थायित्वमा इँटा थप्न चाहिरहेका छन्। त्यसैले पनि उनले नीतिगत ब्यवस्थासँगै अनौपचारिक पहल पनि थालेका हुन्।

राष्ट्र बैंकले दिएको सुविधाले मात्र मर्जरमा बैंकहरु आकर्षित नदेखिएपछि राष्ट्र बैंकले ब्यक्तिगत रुपमा बैंकर तथा लगानीकर्तालाई बोलाएर रणनीतिक पहल थालेको हो।

गभर्नर नेपालले दशैंअघि मात्रै दुई ठूला बैंकका अध्यक्षहरुसँग पटक पटक कुराकानी गरेका थिए।

गभर्नर नेपालले नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसँग मर्जरका बिषयमा कुराकानी गरेका थिए। साथै हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोक राणासँग पनि कुराकानी गरेका थिए।

गभर्नर र राष्ट्र बैंक टिमले उनीहरुसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए। 

'अनौपचारिक कुराकानी भएको हो। ठोस निष्कर्ष निस्किएको छैन' सहभागी एकजनाले भने, 'हेर्दै जाउँ आगामी दिनमा केही हुन्छ कि?'

नातेदार र समान शेयरधनी भएका हिसाबले हिमालयन र इन्भेष्टमेन्टको मर्जर गराउन सजिलो हुन्छ भन्ने राष्ट्र बैंकको पहिलो बुझाइ हो। दोस्रो बुझाइ हो, दुई ठूला बैंक गाभिएपछि नबिल, एभरेष्ट, एनआइसी एसियाजस्ता बैंकहरु पनि मर्जरमा जान वाध्य हुन्छन्। 

'प्रतिस्पर्धामा टिक्न पनि बाँकी ठूला भनिएका बैंक मर्जरमा जान्छन् र साना बैंकहरु ठूला बैंकसँग मिसिन्छन् भन्ने बुझाइ हो' गभर्नर निकट स्रोतले भन्यो, 'त्यही भएर कतिपय अवस्थामा रणनीति पहल थालिएको हो। यसले मुर्तरुप लिन्छ/लिँदैन अहिले भन्न सकिँदैन।'

राष्ट्र बैंक अधिकारीहरुका अनुसार, इन्भेष्टमेन्ट बैंकका पाँडेसँग कुराकानी गर्दा हिमालयनको मनोजबहादुर मान्दैनन्, हामी त तयार छौं भन्ने जबाफ आउने गरेको छ। र, हिमालयनको मनोजबहादुरसँग कुराकानी गर्दा हामी तयार छौं तर पाँडे मान्दैनन् भनेर पन्छिन जबाफ आउने गरेको छ।

'यसको अर्थ त दुबै तयार रहेछन् भन्ने हो। उनीहरुलाई एक पटक सँगै राखेर कुराकानी गर्दा मिल्ने अवस्था बलियो छ' ती अधिकारीले भने, 'राम्रो कुराका लागि किन पहल नगर्ने भन्ने हो? यो मर्जर यदि हुन सक्यो भने मर्जरको लहर चल्छ।'

पछिल्लो समय सुचना प्रविधिमा बैंकिङ प्रणाली कमजोर देखिन थालेको छ। विदेशी ह्याकरले बाहिर र देशभित्रैबाट ह्याक गर्न थालेका छन्। बलियो सुचनाप्रविधि प्रणालीका लागि ठूलो लागत पर्छ। त्यसका लागि बैंकहरु मर्जर भएर ठूलो हुँदा यसको प्रविधिमा मनग्य लगानी गर्न सक्छन्। 'त्यही भएर पनि मर्जर आवश्यक छ। यसले वित्तीय स्थायित्वलाई झन् बलियो बनाउँछ' पछिल्लो समय गभर्नर नेपालले भन्ने गरेका छन्।

यदि हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज भएमा देशकै निक्कै ठूलो बैंक बन्ने छन्। दुबै बैंकलाई जोड्ने एउटा कडी छ- छाँया इन्टरनेशनल र छाँया इन्भेष्टमेन्ट प्रालि। हिमालयनमा छाँयाको ८.८९ प्रतिशत शेयर छ। इन्भेष्टमेन्ट बैंकमा ६.७९ प्रतिशत हिस्सा छ। यी कम्पनी इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको हो। 

हिमालयन बैंकमा हिमालय शम्शेर राणा र अशोक राणा परिवारको पनि लगानी छ। पाँडे र राणाहरुबीच ज्वाइँचेलाको सम्बन्ध छ। यसबाहेक पृथ्वी र इन्भेष्टमेन्टका प्रमुख कार्यकारीलगायतको हिलमायन बैंकमा ठूलो मेहनत मिसिएको छ। पारिवारिक सदस्यहरुलाई छुट्टाछुट्टै संस्था दिनुभन्दा एउटै संस्था दिँदा नियामकलाई पनि नियमन गर्न सजिलो हुन्छ।

हिमालयन बैंकको स्थापनानै पाँडेको पहलमा भएको हो। पाँडेले लामो समय प्रमुख कार्यकारी अधिकृतका रुपमा बैंकलाई अगाडि बढाएका थिए। विदेशी साझेदार खोज्नेदेखि राष्ट्र बैंक र तत्कालिन सत्तालाई मनाउने कामसम्म पाँडेले गरेका थिए।

पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई हिमालयन बैकलाई संस्थागत गरेको जस जान्छ। त्यसैले लगानी, पूरानो सम्बन्ध र 'इमोसनल इन्टिमेसी' ले पनि हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज गर्न सकिन्छ।