पेट्रोलियम व्यवसायीलाई आन्दोलन फिर्ता लिन निगमको आग्रह, ‘चाडबाडमा अभाव सिर्जना नहोस्’



बिजमाण्डू
२०७९ भदौ २४ गते १७:२८ | Sep 9, 2022

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम व्यवसायीहरुलाई आफ्नो आन्दोलन फिर्ता गर्न आग्रह गरेको छ। निगमले आजबाट पेट्रोलयम पदार्थको पीडीओ नलिने एवं भोलिबाट सबै नाकाबाट भारततर्फ लोड गर्न नजाने लगायतका कार्यक्रम सार्वजनिक गरेकोप्रति निगमको गम्भिर ध्यानाकर्षण भएको  जनाएको छ।

Tata
GBIME
Nepal Life

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको मागप्रति निगम व्यवस्थापन सकारात्मक रहेको र उक्तको मागको समाधनको लागि आवश्यक पहल भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

नेपालगञ्ज र धनगढीमा गत २१ गतेदेखि ढुवानी व्यवसायीहरुले हवाई इन्धनको प्रारम्भिक खरिद आदेश अर्थात पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) उठाउन छाडेको भन्दै उनले हवाई इन्धनको अभाव सिर्जना हुन नदिन व्यवसायीहरुलाई आग्रह समेत गरे। उनका अनुसार नेपालगंजमा दैनिक १५ हजार लिटर र धनगडीमा ७ हजार लिटर हवाई इन्धन बिक्री हुने गरेको छ।

आजदेखि व्यवसायीले उक्त स्थानमा पीडीओ नउठाए हवाई इन्धनको अभाव सिर्जना हुन जाने उनको भनाइ छ। ढुवानी व्यवसायीले भाडा वृद्धिको माग गर्दै आन्दोलन जारी राखेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प जस्तै भएको छ।  केही दिनका लागि मात्र पुग्ने इन्धन बाँकी रहेको उनले बताए। 

त्यसैले निगमले पेट्रोलियम व्यवसायीहरुलाई आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो।  उनका अनुसार पेट्रोलियम व्यवसायीहरुले अन्य स्थानमा पनि आफ्नो माग पूरा नभएसम्म पीडीओ नउठाउने भनेका छन्।

२०७५ सालपछिको ढुवानी भाडा समायोजन अनुसार नै अब फेरि भाडा समायोजन हुनुपर्ने माग व्यवसायीले राखेका छन्।  उपाध्यायका अनुसार ढुवानी व्यवसायीहरुले दैनिक पारिश्रमिकदेखि सबै पक्ष घाटामै रहेको भनिरहेका छन्।

यसरी बारम्बार माग राखेर अत्यावश्यक वस्तुको ढुवानी ठप्प पार्दा दसैंका बेला इन्धनको अभाव सिर्जना हुने भन्दै निगमले दसैं तथा तिहारको समयमा आम नागरिकको लागि अति आवश्यक पेट्रोलियम पदार्थको आयात, ढुवानी एवं बिक्री वितरण सहज बनाउन सहयोग गर्न समेत भनेको छ।