काठमाडौं। सेयर बजारको अन्योलपूर्ण पछिल्लो गतिविधिले लगानीकर्ताले कारोबारमा सक्रियता घटाएको देखिएको छ। कारोबारीहरुको उपस्थिति ह्वात्तै घट्दा सेयर बजारमा किनबेच नै हुन छाडेको देखिन्छ। लगानीकर्ता निष्क्रिय बसिदिँदा कारोबार अर्ब कट्न मुस्किल हुने गरेको छ।
सोमबारको कारोबार रकम ९० करोड रुपैयाँमा सीमित रह्यो। बजारमा सेयरको डिमाण्ड देखिँदैन। यस्तै, परिसूचक स्थिर हुँदा सप्लाई पनि आउन सकेको छैन। सेयर बाजारको भोलाटिलिटि उल्लेख्य घट्दा आगामी रणनिति स्पष्ट प्रक्षेपण गर्न नसकेको लगानीकर्ता बताउँछन्।
स्थिर बजारमा भोलाटिलिटीको लाभ उठाउन नसकिने कारोबारीहरु जिकिर गर्छन्। कारोबार अवधिभर देखिएको उतारचढावका बावजुद सोमबार नेप्से सामान्य ४.२९ अंक मात्र घट्यो। अघिल्लो कारोबार यानि आइतबार एकल अंकको वृद्धि देखिएको थियो।
यस्तै, लगनीको स्रोत समेत उपलब्ध नहुँदा बजारको उतारचढावमा ठूलो प्रभाव परेको लगानीकर्ताको तर्क हो। यस्तो परिणाममा कारोबार सुक्दै जाँदा चुनावअघि बजार चलायमान नहुने उनीहरुको प्रक्षेपण रह्यो।
चाडपर्व नजिँकिदै जाँदा सेयर बजारबाट पुँजी पलायन हुन थालेको बताउँदै बजारका एक अनुभवी लगानीकर्ताले भने, ‘तरलताको चाप यथावत छ। कर्जा सहजै पाइदैन। पाइहालियो भने जोखिम भारले थिच्दा कर्जाको ब्याज डरलाग्दो देखिन्छ।’
बैंकको विकल्पमा सहकारीले कर्जामा पत्याउने गरे पनि स्वयम् सहकारीहरु टाट पल्टिँदा बजारमा ठूलो लिक्विडिटी क्राइसिस भएको उनको विश्लेषण छ।










