ज्ञानेश्वरमा लक्जरियस अपार्टमेन्ट अभ्रा भिल्लाज बनाउँदै मित्तल समूह, साढे ५ देखि १२ करोडसम्म



उन्नत सापकोटा/बिजमाण्डू
२०७९ भदौ १७ गते ११:५५ | Sep 2, 2022
ज्ञानेश्वरमा लक्जरियस अपार्टमेन्ट अभ्रा भिल्लाज बनाउँदै मित्तल समूह, साढे ५ देखि १२ करोडसम्म


काठमाडौं। गोपाल मित्तल अध्यक्ष रहेको आरभी इन्भेष्टमेन्ट्सले ज्ञानेश्वरमा लग्जरियस अपार्टमेन्ट अभ्रा भिल्लाज निर्माण गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंको ज्ञानेश्वरमा निर्माण हुने उक्त अपार्टमेन्ट दुई रोपनीमा फैलिनेछ भने १२ तलाको बन्ने छ। जसमा १८ वटा व्यक्तिगत अपार्टमेन्ट युनिट निर्माण हुँदै छन्। मित्तलको बालाजुमा स्यानेटरी वेयरको पसल छ। यो वाहेक नेशनल स्ट्रक्चर एण्ड इन्जिनियरिङ कम्पनी पनि छ।

१८ युनिटहरु न्यूनतम २०४४ वर्गफिटदेखि ४३ सय वर्गफिटसम्म रहने कम्पनीले जनाएको छ। यी युनिटहरु तीन र चार बेडरुमका हुने छन्।

कम्पनीले तीन प्रकारका युनिट निर्माण गर्दैछ। एउटा नन फर्निस्ड नर्मल युनिट, दोस्रो डुप्लेक्स र अर्को पेन्ट हाउस रहेको कम्पनीले जनाएको छ। यी तीनवटै प्रकारका युनिटको मूल्य आरभी इन्भेष्टमेन्ट्सले फरक फरक तोकेको छ।

कम्पनीले युनिटको न्यूनतम मूल्य प्रति वर्गफिट २६ हजार पाँच रुपैयाँ तोकेको छ। जसअनुसार नन फर्निस्ड नर्मल युनिटको मूल्य ५ करोड ४१ लाख ६६ हजार रुपैयाँ पर्छ। डुप्लेक्स युनिटको मूल्य करिब १० करोड रुपैयाँ (२८ हजार ५ सय रुपैयाँ प्रति वर्गफिट) पर्ने कम्पनीले जनाएको छ। डुप्लेक्स अपार्टमेन्ट चार हजार वर्गफिट क्षेत्रफलको बन्दैछ।

डुप्लेक्स युनिट दुई तलामा फैलिएको हुन्छ। युनिट भित्रबाटै दुवै तला ओहरदोहोर गर्न मिल्छ। कम्पनीले सातौं र आठौं तलामा डुप्लेक्स निर्माण गर्ने जनाएको छ।

त्यसैगरी, अपार्टमेन्टको सबैभन्दा माथिल्लो तलमा पेन्ट हाउस बन्नेछ। कम्पनीले पेन्टहाउसको मूल्य करिब १२ करोड रुपैयाँसम्म पर्ने जनाएको छ।कम्पनीले शुक्रबार नै परियोजना लञ्च गर्दैछ। दसैंपछि अपार्टमेन्ट परियोजना सुरु गर्ने तयारी गरेको छ।

अहिले परियोजनास्थलमा बोरिङ र कम्पाउन्ड वाल निर्माण सकिसकेको छ। खरिदकर्तालाई परियोजना साढे दुई वर्षदेखि तीन वर्षमा हस्तान्तरण गर्ने लक्ष्य राखेको छ। अपार्टमेन्ट ल्याबिस भएकाले निर्माणमा कुनै सम्झौता गर्ने हाम्रो मनसाय नभएको भन्दै केही बढी समय नै लिएर निर्माण गर्ने योजना रहेको बताइएको छ।

परियोजनाको डिजाइन भारत मुम्बईका आर्किटेक्ट सन्जय पुरीले गरेका छन्। उनी विश्वकै शीर्ष १०० आर्किटेक्टमा पर्ने दाबी आरभी इन्भेष्टमेन्ट्सको छ।

डेभलपर आरभी इन्भेष्टमेन्ट्ससहित आर्किटेक्टको काम सन्जय पुरी आर्किटेक्ट्स र इन्जिनियरिङ क्रियसन्सले प्राविधिक नेतृत्व गर्नेछ।

कम्पनीमा गोपाल मित्तलसहित उनको छोरा निशित मित्तल र अनिसा अग्रवाल मित्तलको लगानी छ। परियोजनामा इन्डोर स्वीमिङ पुल, जिम हल, कम्युनिटी हलदेखि अन्य आवश्यक सेवासुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।