काठमाडौं। घरजग्गा र सेयरमा लगानी गरेर सहकारी संस्थाहरु थला पर्न थालेपछि त्यसको असर बैंक निक्षेपमा पर्न थालेको छ।
सहकारी संस्थाहरु समस्यामा पर्न थालेको समाचारहरु सार्वजनिक हुन थालेपछि सामान्य लयमा चलिरहेका सहकारीबाट पनि पैसा झिकिन थालेको छ। उनीहरुका सदस्यले पैसा झिक्न थालेपछि त्यसको असर बैंक तथा वित्तीय संस्थामा पर्न थालेको हो।
सहकारी संस्थाहरुको आफ्नो भल्टमा पैसा राख्दैनन्। उनीहरुले सदस्यसँग उठाएको निक्षेप बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खातामा राख्छन्। आफ्ना निक्षेपकर्ताले पैसा माग्न थालेपछि उनीहरुले बैंकबाट झिकेर भुक्तानी गर्नु पर्ने हुन्छ। त्यही दबाबका कारण बैंकहरुबाट निक्षेप घट्न थालेको हो।
'अहिले संस्थागत निक्षेपकर्ताहरुको निक्षेपमा मुभमेन्ट देखिन्छ। त्यसमध्ये सहकारी संस्थाहरुले निक्षेप झिक्न थालेका छन्,' ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बिजमाण्डूसँग भने, 'पछिल्लो समय सहकारीको बारेमा राम्रो समाचार आइरहेका छैनन्। त्यही भएर पनि उनीहरुले निक्षेप झिकेको हुन सक्छ।'
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, वाणिज्य बैंकहरुको निक्षेप साउनयता १११ अर्ब रुपैयाँले घटेको छ। निक्षेप घट्नुमा अन्य कारणहरुसँग सहकारी पनि रहेको राष्ट्र बैंकको पनि बुझाइ छ।
ओरियन्टल, सिभिल, गुडविल, प्रज्ञान, देउरालीसहित गौतमश्री सहकारीले बचतकर्ताको रकम हिनामिना भएपछि सहकारीमाथि अविश्वास गर्दै निक्षेप झिक्न चाहने बढ्दै छन्। बचत हतार-हतार झिक्न आउनेको भीड बढ्न थालेपछि सहकारीहरु दबाबमा छन्। यही दबाब राष्ट्र बैंकको सुपरिवेक्षणभित्र रहेका बैंक तथा वित्तीय संस्थामा पनि सरेको हो।
अहिले देशभर करिब ३४ हजार बचत तथा ऋण सहकारी संस्थाहरु छन्। सामुदायिक रूपमा चल्ने यस्ता सहकारीमा कतिपय अवस्थामा परिवार नै हुन्छन्। उनीहरुको व्यक्तिगत महत्त्वाकांक्षा पूर्तिका लागि सहकारीको रकम दुरुपयोग गरेर घरुजग्गालगयात क्षेत्रमा लगानी गरिरहेका हुन्छन्।
पछिल्ला दिन बैंक तथा वित्तीय संस्थामा चरम तरलता अभाव छ। यही कारण सहजै ऋण पाइँदैन भने पाइहाले ब्याज पोहोरभन्दा दोब्बर महँगो पुगिसकेको छ। 'बैना-बैना' मै जग्गाको भाउ बढाएर आम्दानी गरिरहेकाहरु पछिल्ला दिन बैंक ऋण ठप्प भएपछि अप्ठ्यारोमा छन्। उनीहरु अप्ठ्यारामा परेर बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने हुँदै गएपछि समस्या सुरु भएको हो। त्यो समस्याको असर बिस्तारै बैंक तथा वित्तीय संस्थामा पर्न थालेको हो।
त्यही भएर सहकारी संस्थाहरुको नियामक सहकारी विभागले घरजग्गामा जथाभावी लगानी गरेर सहकारी संस्थाहरु डुब्न थालेपछि लगानी नगर्न निर्देशन दिएको छ।
विभागले केही दिनअघि कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स-साना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरुमा (मुख्यगरी घरजग्गा) कर्जा लगानी नगर्न कडा निर्देशन जारी गरेको थियो।
सहकारी संस्थाहरुलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन विभागले भनेको छ। विभागले बचतकर्ता सदस्यहरुसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो, भुक्तानीको अग्रिम तालिका बनाएर नियमित भुक्तानी गर्न समेत समेत गराएको छ।
सहकारीले बैंकबाट पैसा झिक्न थालेपछि बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघ्न थालेको छ। ८ वटा बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको छ। नियामकीय प्रावधान अनुसार सीडी रेसियो ९० प्रतिशतभन्दा तल हुनु पर्छ।











