काठमाडौं। बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। दिनभरको उतारचढावका बाबजुद अन्तिममा नेप्से परिसूचक ०.३६ अंकले घटेर २०४०.७० बिन्दुमा ओर्लिएको हो ।
बुधबार कारोबारमा देखिएका १३ उपसमुहमध्ये वाणिज्य बैंक, होटल, लगानी, जीवन बीमा, अन्य तथा ट्रेडिङ उपसमुह सामान्य घटेका छन्। बाँकी उपसमूह भने बढेका छन् ।
यस्तै कारोबारमा आएका २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड बराबरको सेयर कारोबार भएको छ। जुन २१ कारोबारी दिन यताकै कम कारोबार हो।
त्यसैगरी भर्खरै सेयर बजारमा आएको श्वेतगंगा हाइड्रोपावरको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। दोस्रो बजारमा प्रवेश गरेका नयाँ कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्ने भएकाले हाइड्रोपावरको सेयरमूल्यमा सर्किट लागेको हो।
योसँगै मन्दाकिनी हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर, अपर सोलु हाइड्रो र सपोर्ट माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्यमा पनि सर्किट लागेको छ ।
कारोबारको आधारमा आज रिडी पावर कम्पनी अग्रस्थानमा छ। कम्पनीको १८ करोड ४३ लाख बराबरको सेयर किनबेच भएको हो। यस्तै शिवम् सिमेन्को पनि ६ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो। समग्रमा दिनभर उतारचढावका बाबजुद पनि बजार घटेर बन्द भयाे।
बुधबार २०४३ बिन्दुबाट सुरु भएकाे बजार २०५२ काे उच्च विन्दुमा पुगेकाे थियाे । तर दीर्घकालीन रुपमा बजार नबढ्ने संकेत देखेएकाले लगानीकर्ता बजारबाट उम्किएका हुन् ।










