काठमाडौं। सरकारले कृष्णहरि पुष्कारलाई अर्थसचिव बनाएको छ।
घर बिदामा बसेका मधुकुमार मारासिनीलाई प्रधानमन्त्री कार्यलय तानेपछि रिक्त रहेको अर्थसचिवको भूमिका पुष्करलाई दिइएको हो।
यस्तै, अर्थ मन्त्रालयका दुई सचिवमध्ये राजस्व सचिवको जिम्मेवारी भने रामेश्वर दंगाललाई दिइएको छ।
अर्थसचिव बनेका पुष्कर अर्थको पृष्ठभूमिका होइनन्। राजनीतिक वृत्तलाई रिझाउन सक्ने खुबी भएको मानिने पुष्कर सरकार नेतृत्वको दललाई खुसी पार्ने गरी अर्थसचिवमा आएको एक किसिमको टिप्पणी पुष्कर र अर्थमन्त्रालयलाई नजिकबाट बुझेकाहरुको छ।
दंगाल भने राजस्वकै क्याडर हुन्। उनी यस क्षेत्रलाई राम्रोसँग बुझेका प्रशासक समेत मानिन्छन्।
गतवर्ष साउनमै राजस्व सचिव बनेका पुष्कार अहिले कार्यवाहक अर्थसचिवको भूमिकामा थिए। २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्कर गत वर्ष नै सचिव भएका थिए।
उनीसँग राजस्व प्रशासनमा प्रत्यक्ष बसेर काम गरेको अनुभव छैन। तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेको पुष्करसँग अनुभव छ। प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा राजस्व चुहावट नियन्त्रणको अध्यक्ष भएर काम गरेर राजस्वका बारेमा जानकार छन्।
पुष्कर श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेका छन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन्। यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अतिरिक्त सचिव पनि थिए।
यस्तै, दंगाल पनि गत पुसमा मात्र सचिवमा बढुवा भएका हुन्। अर्थमन्त्रीमा जनार्दन शर्मा आएपछि मन्त्रालयका अन्य थुप्रै प्रशासकहरु सरुवामा पर्दा उनी भने अर्थकै क्याडर र यस मन्त्रालयलाई राम्रोसँग बुझेको भएकाले पनि जोगिएका थिए।
यसअघि हाल अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख रहेका दंगला सहसचिवका रुपमा अख्तियार दुरुपयोग अनुसन्धानमा समेत थिए।
उनी अर्थमन्त्री विष्णुप्रसाद पौडेलको समयमा पुन: मन्त्रालयमा आएका थिए।










