काठमाडौ। बर्दियाको गुलरियास्थित नेपाल बैंकको शाखाका प्रबन्धक धबेन्द्र न्यौपाने केही समयदेखि सम्पर्कविहीन छन्। प्रबन्धक न्यौपानेमाथि बैंकको रकम हिनामिना गरेको आरोप लागेको छ।
अहिले यो घटनाको अनुसन्धान नेपाल बैंकको केन्द्रीय कार्यालयले पनि गरिरहेको छ। शाखा प्रमुख न्यौपाने अचानक सम्पर्कविहीन भएपछि खोजी गरिदिन बैंकसँगै परिवारले पनि प्रहरीलाई आग्रह गरेका छन्। न्यौपानेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
'परिवार र बैंकले पनि उजुरी दिएपछि हामीले खोजी गरिरहेका छौं, ' जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी सूर्यप्रसाद सुवेदीले भने।
साउन १४ गते न्यौपानेका परिवारले खोजी गरिदिन आग्रह गर्दै निवेदन दिएका थिए। त्यसै दिन बैंकले पनि निवेदन दिएको हो। त्यस्तै न्यौपानेविरुद्ध प्रहरीमा आर्थिक अपचलन गरेको देखिएको जाहेरी पनि परेको छ।
केही समयअघि मात्र शाखा प्रमुखमा बर्दिया पुगेका न्यौपानेले ५० लाख रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ।
अनलाइनबाट सेवाग्राही र बैंकको पैसा हिनामिना गरेको आरोप छ। अहिले प्रहरी र नेपाल बैंकले पनि घटनाको अनुसन्धान र न्यौपानेको खोजी गरिरहेको छ।











