काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीमार्फत हाल कायम चुक्ता पुँजीको शतप्रतिशत रकम उठाउने भएको छ। इन्स्योरेन्सको सूचना अनुसार कायम सेयरधनीले आफ्नो लगानीको शतप्रतिशत रकम जम्मा गर्नुपर्नेछ।
इन्स्योरेन्सको चुक्ता पुँजी हाल १ अर्ब ४० करोड रुपैयाँ छ। यसको १०० प्रतिशत रकम पुनः लगानीकर्ताले थप्दा चुक्ता पुँजीको आकार २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २०७९ चैतसम्म चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ। समितिको निर्देशनबमोजिम पुँजी पुर्याउन रिलायबललाई २५७ प्रतिशत अधिक पुँजीको खाँचो छ।
शतप्रतिशत रकम चुक्ता पुँजी संस्थापकहरुबाट उठाएपछि पनि इन्स्योरेन्सले थप २ अर्ब २० करोड रुपैयाँ पुँजीको जोहो गर्न आवश्यक देखिन्छ। जसको प्रमुख समाधान आइपीओ जारी गर्ने र मर्जरमा जाने हो। तर कम्पनी स्रोतका अनुसार कम्पनीले स्वयं पुँजीको जोहो गर्दैछ। अन्य संस्थासँग मर्जरमा नजाने कम्पनी बोर्डको निर्णय हो।
हालसम्म कम्पनीले कुनै पनि प्राथमिक सेयर निष्कासन भने गरेको छैन। यद्यपी रिलायबल नेपालले एक अर्ब २७ करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सेयर जारी गर्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११२ रुपैयाँ प्रिमियम थप गरी आइपिओ जारी गर्ने योजना बजाएको थियो।
निवेदन पेश गरेको करिब एक वर्ष बितिसक्दा पनि जीवन बीमाको प्राथमिक सेयर भने निष्कासन भएन। धितोपत्र बोर्डले आवश्यक कागजातका लागि ताकेता दिएको पनि हो। तर, जीवन बीमा आफैले आइपिओको योजना पर सार्दा कम्पनीको आवेदन करिब एक वर्षदेखि पाइपलानमा छ।
गत जेठ २५ गते बसेको कम्पनीको साधारणसभामा कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित भएको हो। त्यस्तै, कम्पनीले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव समेत अनुमोदन गरेको थियो।
सोही बमोजिम रिलायबलले संस्थापक सेयरधनीमार्फत १ बराबर १ को अनुपातमा रकम सङ्कलन गर्दैछ। संस्थापक सेयरधनीहरुबाट थप लगानी रकम माग गरी पुँजी वृद्धि गर्न इन्स्योरेन्सले बीमा समितिबाट अनुमति समेत पाइसकेको छ।
इन्स्योरेन्सले सेयरधनीहरुलाई भदौ ६ गते सम्म कम्पनीको बैंक खातामा रकम जम्मा गर्न अनुरोध गरेको छ।