काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० वर्ष यताकै कम लाभांश वितरण प्रस्ताव अघि सारेको छ।
बैंक संचालक समितिको सोमबार सम्पन्न २७४ औं बैठकको निर्णयले सेयरधनीलाई आव. २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ८.५० बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो। जुन १० वर्षयताकै कम हो।
बैंकले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९ रुपैयाँको ८.५० प्रतिशतले हुन आउने ९ करोड ७९ लाख २ हजार ३३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ।
यस्तै बोनस सेयर प्रयोजनका लागि ०.४५ प्रतिशतले हुन आउने ५१ लाख ५२ हजार ७५४ रुपैयाँको नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ। उक्त बोनस तथा नगद लाभांश ०७७/७८ को वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने छ।
अघिल्ला वर्षहरुमा बैंकले करिब यसको दोब्बर लाभांश वितरण गर्दै आइरहेको थियो। बैंकले आव. २०६७/६८ को मुनाफाबाट २५ प्रतिशत, ६८/६९ को मुनाफाबाट २५ प्रतिशत, ६९/७० को मुनाफबाट चुक्ता पुँजीको ५२.६४ प्रतिशत लाभांश वितरण गरेको थियो।
यसैगरी ७०/७१ को मुनाफबाट चुक्ता पुँजीको ३६.८४ प्रतिशत, ७१/७२ मा २७.३६ प्रतिशत, ७२/७३ मा २६.३१ प्रतिशत, ७३/७४ मा ३१.७ प्रतिशत, ७४/७५ मा १७ प्रतिशत, ७५/७६ मा १८ प्रतिशत र ७६/ ७७ मा १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो।










