साउदी जाने यात्रुको सुविधा विस्तार गर्दै निगम, रियादबाट तीन शहरमा कनेक्टिङ बस सेवा दिने



बिजमाण्डू
२०७९ जेठ २२ गते ११:३४ | Jun 5, 2022
साउदी जाने यात्रुको सुविधा विस्तार गर्दै निगम, रियादबाट तीन शहरमा कनेक्टिङ बस सेवा दिने

काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं-रियाद उडानमा यात्रु लक्षित सुविधा विस्तार गर्ने भएको छ। निगमले रियादसँग जोडिने तीन शहरका लागि कनेक्टिङ बस सेवा सुरु गर्न लागेको जनाएको छ।

Tata
GBIME
Nepal Life

यो गन्तब्यमा अहिले काठमाडौंबाट जाँदा एक सय ४० र आउँदा एक सय १० जनाको अकुपेन्सी कायम हुँदै आएको निगमका एक उच्च पदाधिकारीले बताए।

'हामीले यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै रियादबाट नजिकै तीनवटा शहरमा बस सेवा सुरु गर्न लागेका छौँ। अब यात्रुले आफू पुग्ने शहरको नाम दिएसँगै टिकटमा त्यो शुल्क जोडिनेछ।' उनले भने,'यो सेवाको तयारी अन्तिम चरणमा रहेको छ।'

हाल निगमले यो गन्तब्यमा साताको तीनवटा उडान गर्दै आएको छ। निगमका अनुसार अहिले साउदी उडानका लागि सुरुवाती भाडादर करिब ३२ हजार रुपैयाँ निर्धारण गरिएको छ।

निगमले दुई महिना अघि साउदी अरेबियाका लागि नियमित उडानको अनुमति पाएको हो। निगमको उडान थपिएसँगै पछिल्लो समय वैदेशिक रोजगारीका लागि साउदी गएका नेपालीलाई थप सहज हुँदै गएको जनाइएको छ।

निगमले नियमित उडानका लागि साउदीको रियादमा आफ्नो सम्पर्क कार्यालय समेत राखिसकेको छ। जीएसीएका प्रतिनिधिले आइतबार सोही कार्यालयमै आएर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी समेतको उपस्थितीमा उडान अनुमति प्रदान गरेको निगमले जानकारी दिएको छ।

निगमले साउदीको रियाद, दमाम र जेद्दा लगायत तीन शहरमा उडान अनुमति पाएको हो। हाल भने निगमले रियादमा मात्र उडान गर्दै आएको छ।