काठमाडौं। एनआइसी एसिया समूहले पुँजी बजारमा अर्को म्युचुअल फन्ड ल्याउने भएको छ। बिहीबारदेखि इकाइ बिक्रीका लागि दरखास्त खुला हुने एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड एनआइसी एसिया क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने भएको हो।
यो ७ वर्षे बन्दमुखी योजनामा प्रति इकाइ १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाइ बिक्री गरिने भएको छ। योजनाको कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक एनआइसी एसिया बैंकलाई राखेर ८ करोड ५० लाख कित्ता इकाइ सर्वसाधारणमा बिक्री गरिने भएको छ।
क्यापिटलका अनुसार इच्छुक लगानीकर्ताले अंकित मूल्य १० रुपैयाँका दरले न्यूनतम १०० र अधिकतम १ करोड कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आवेदन जेठ १९ गते शुक्रबारबाट छिटोमा जेठ २४ र ढिलोमा असार २ गतेसम्म आवेदन दिन सकिन्छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर सफ्टवेयरबाट इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्।
यस म्युचुअल फन्डको कोष प्रवर्द्धकमा एनआइसी एसिया बैंक र योजना व्यवस्थापकमा एनआइसी एसिया क्यापिटल मार्केट रहेको छ। यो म्युचुअल फन्ड ७ वर्षे बन्दमुखी योजना हो।










