पोखराबाट १९ यात्रुसहित जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन, खोजी जारी



बिजमाण्डू
२०७९ जेठ १५ गते ११:०३ | May 29, 2022
पोखराबाट १९ यात्रुसहित जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन, खोजी जारी

काठमाडौं। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ।

Tata
GBIME
Nepal Life

पोखरा विमानस्थलबाट आइतबार बिहान ९ः५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर जहाज सम्पर्कविहीन भएको हो। 

जहाज उडेको १५ मिनेट पछि सम्पर्कविहीन भएको जानकारी आएपछि नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको तारा एयरका उडान सुरक्षा प्रमुख एवम् प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

सूचना लगत्तै नागरिक उड्डयन प्राधिकरण र कम्पनीका प्राविधिक टोली जहाजको अवस्था खोजी गरिरहेको प्राधिकरणले जनाएको छ। 

विमानमा दुईजना विदेशी, चार जना भारतीय र १३ जना नेपाली यात्रु सवार छन्। यात्रुबाहेक चालक दलका थप तीनजना विमानमा सवार छन्।

नाइन एन-एइटी कलसाइनको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिसकेको पोखरा विमानस्थलका महाप्रबन्धक विक्रम गौतमले बताए।      

विमान घोडेपानी पुगेपछि सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकप्टर परिचालन गरिएको उनले बताए।