ब्रोकरको टीएमएस वाइकोले निर्माण गर्न नपाउने, टीएमएस सेवाबापत १०० रुपैयाँ ग्राहकबाट असुल्ने



बिजमाण्डू
२०७९ जेठ १० गते १४:१७ | May 24, 2022
ब्रोकरको टीएमएस वाइकोले निर्माण गर्न नपाउने, टीएमएस सेवाबापत १०० रुपैयाँ ग्राहकबाट असुल्ने

काठमाडौं। वाइको प्रालिले निर्माण गरेको नेप्सेको टीएमएस प्रणाली उपयोग गर्दै आएका ब्रोकर कम्पनीले अब भने अलग्गै टीएमएस प्रणाली निर्माण गर्न पाउने भएका छन्। यद्यपि नेप्सेको विद्युतीय कारोबार प्रणाली सञ्चालन तथा मर्मतसम्भार गर्ने वाइको प्रालि कम्पनीमार्फत भने टीएमएस निर्माण गर्न नपाइने व्यवस्था पारित भएको छ। 

Tata
GBIME
Nepal Life

धितोपत्र बोर्ड(सेबोन)ले धितोपत्र कारोबार सञ्चालनको तेस्रो संशोधन पारित गर्दै उक्त व्यवस्था लागु गरेको हो। नेप्सेले स्वीकृतिका लागि पेस गरेको संशोधित विनियमावली वैशाख ८ गते बसेको सेबोनको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। 

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को तेस्रो संशोधन बोर्डबाट अनुमोदन भएर कार्यान्वयनका लागि पुन: नेप्सेमा पुगेको छ। स्वीकृति पाएपछि समेत नेप्सेको सञ्चालक समितिले संशोधित विनियमावली अझै अनुमोदन गरिसकेको भने छैन।  

अर्थमन्त्रालयदेखि नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरु नेप्सेको बोर्ड अफ डाइरेक्टर्समा छन्। बजेटको सिजन चलिरहँदा निर्देशकहरु सञ्चालक समितिको बैठकभन्दा बजेटका अत्यावश्यक विषयवस्तुमा व्यस्त देखिए। यसपालि संशोधित विनियमावलीमा सबैभन्दा महत्त्वपूर्ण व्यवस्था ब्रोकरहरुले आफैं आफ्नो कारोबार व्यवस्थापन प्रणाली(टीएमएस) विकास गर्न सक्ने सहुलियत हो। कारोबार सदस्य आफैंले छुट्टै कारोबार व्यवस्थापन प्रणाली स्थापना गरी प्रयोगमा ल्याउन सक्नेछन्।

हाल अधिकांश स्टक ब्रोकरहरु नेप्सेले सञ्चालनमा ल्याएको टीएमएस प्रणाली प्रयोग गर्दै आएका छन्। अब भने स्टक ब्रोकरहरुले कारोबार सञ्चालन गर्न नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुनेगरी टीएमएस प्रणालीको स्थापना गर्न सक्नेछन्। 

टीएमएस सेवा प्रदान गरेबापत अब उप्रान्त ब्रोकर कम्पनीहरुले प्रत्येक ग्राहकबाट वार्षिक सेवा शुल्क पनि उठाउन पाउने व्यवस्थासमेत उल्लेख गरिएको छ। वार्षिक बढीमा एक सय रुपैयाँका दरले सेवा शुल्क लिन पाइनेछ। संशोधित विनियमावली अनुसार नेप्सेको कारोबार प्रणालीमा आफ्नो टीएमएस आबद्ध गरेबापत कारोबार सदस्यले नेप्सेलाई एक लाख रुपैयाँ जडान शुल्क बुझाउनु पर्नेछ।

यस्तै, प्रणालीमा आबद्ध भएका कारोबार सदस्यले नेप्सेद्वारा उपलब्ध प्राविधिक सेवाका लागि मासिक रुपमा १० हजार रुपैयाँ पनि भुक्तानी गर्नेछन्। ब्रोकर कम्पनीहरु वाइको प्रालिमार्फत टीएमएस प्रणाली निर्माण गर्न भने प्रतिबन्ध गरिएको छ। वाइको प्रालिले हाल नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम(नट्स) सञ्चालन तथा मर्मतसम्भार गर्दै आएको छ।

व्यवस्थापन प्रणाली र धितोपत्र बजार नेप्सेको विद्युतीय कारोबार प्रणालीको संचालन तथा मर्मतसम्भार सम्बन्धि कार्य एउटै सेवा प्रदायक संस्थाले गर्न नपाउने व्यवस्था विनियमावलीमा छ । विनियमावली अनुसार व्यवस्थापन प्रणाली स्वदेशी अथवा अन्तर्राष्ट्रिय स्तरको कुनै एक स्टक एक्सचेन्जमा आबद्ध हुनु आवश्यक छ। उक्त प्रणाली अन्तर्गत कम्तिमा १० वटा कारोबार सदस्य वा स्टक ब्रोकरले प्रयोग गरिरहेको हुनुपर्ने व्यवस्था समेत उल्लेख छ।

प्रणाली मोबाइल एप्सबाट समेत सञ्चालन गर्न सकिने गरी ‘कन्टेन्ट एक्सिसिबिलिटी गाइडलाइन’ अनुरुप तयार गरिनु पर्नेछ। विनियमावली अनुसार ब्रोकरहरुले निर्माण गर्ने प्रणालीमा एक दिनमा पाँच लाख अर्डरको व्यवस्थापन गर्ने क्षमता हुनुपर्नेछ। यस्तै, आवश्यकता अनुरुप प्रणालीको क्षमता वृद्धि गर्न सकिने हुनुपर्ने व्यवस्था छ।  

टीएमएस, कारोबार व्यवस्थापन प्रणालीको विकास सम्बन्धि क्षेत्रमा कम्तिमा पाँच वर्षको कार्य अनुभव भएका संस्थाबाट विकास गर्नुपर्नेछ। उक्त कम्पनीले विगत तिन वर्षमा औषत सात करोड रुपैयाँको कारोबार समेत गरेको हुनुपर्नेछ। 

विदेशी कम्पनीबाट निर्माण गरिएको टीएमएस प्रणाली भित्र्याउन भने केही जटिलता देखिन्छ। उक्त कम्पनीको स्थानीय प्रतिनिधिमार्फत मात्र प्रणाली भित्र्याउन सम्भव हुने विनियमावलीमा उल्लेख छ। प्रतिनिधि कम्पनीको चुक्ता पुँजी १ करोड रुपैयाँ र तीन वर्षको कार्य अनुभव हुनुपर्ने व्यवस्था छ। प्रतिनिधि कम्पनीमा सफ्टवेयर विकास गर्न सक्ने र मर्मत सम्भार गर्न सक्ने दक्ष जनशक्ति हुन समेत आवश्यक छ।

यसबाहेक कारोबार सदस्य आफैंले कारोबार व्यवस्थपन प्रणाली सञ्चालनका लागि अनिवार्य दुई जना जनशक्ति नियुक्त गर्न जरुरी देखिन्छ। एक जना सिस्टम एण्ड नेटवर्क एडमिनिस्ट्रेटर वा डाटाबेस एडमिनिस्ट्रेटर र एक जना सूचनाप्रविधि सहायक कर्मचारीको व्यवस्था गर्नुपर्नेछ। 

विनियमावलीमा उल्लेखित भौतिक पूर्वाधार तथा अन्य सुरक्षा मापदण्ड पूरा गरी इच्छुक ब्रोकर संस्थाले नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुन निवेदन पेस गर्नेछन्। नेप्सेको प्रक्रियात्मक निरीक्षण पश्चात मात्र नेप्सेले कारोबार प्रणालीसँग आबद्ध हुन् सम्झौता प्रदान गर्नेछ। 

आवश्यक पूर्वाधार तथा सुरक्षा मापदण्ड पूरा गरेको देखिएमा त्यस्तो कारोबार सदस्यलाई नेप्सेले एप्लिकेसन प्रोग्रामिङ इन्टर्फेस(एपीआई) प्रदान गर्नेछ। जसको सहायतामा कारोबार सदस्य कम्पनीले स्वयं निर्मित टीएमएस नेप्सेको कारोबार प्रणालीसँग आबद्ध गर्ने सक्नेछन्। नेप्सेसँग सम्झौता नभएसम्म एपीआई नगरिने विनियमावलीमा उल्लेख छ।