काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरले आइतबारबाट रात्रीकालिन उडान सुरु गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फको उडान सेवा १८ घण्टा संचालनका लागि निर्देशन दिएसँगै कम्पनीले आउँदो आइतबारबाट यो सेवा सुरु गर्न लागेको जनाएको छ।
कम्पनीले नयाँ उडान तालिका अन्तर्गत राती ८:०० बजेपछि जनकपुर, नेपालगंज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरा लगायत ६ वटा गन्तव्यमा उडान सेवा दिने सुचना अधिकारी दिपेन्द्र कुमार कर्णले बताए।
'नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रीकालिन उडान सेवा दिन लागेका हौँ। दिउँसोको समयको तुलनामा यात्रुलाई रात्रीकालीन उडान सहज, सरल र सस्तो हुने आशा लिएका छौँ।' सुचना अधिकारी कर्णले भने।
यसका लागि कम्पनीले विभिन्न गन्तव्यका प्रदेश र स्थानीय सरकारलाई यातायात सुविधाका लागि समन्वय गरेको उनले जानकारी दिए।
यात्रुको थप आउजाउमार्फत स्थानीय रोजगारसँगै राजश्व वृद्धिमा टेवा पुग्ने कम्पनीले जनाएको छ। यात्रु सेवा सहजताका लागि कम्पनीले टुटलसँगको सहकार्यमा आकर्षक छुटसहितको ट्याक्सी सेवाको व्यवस्थाको तयारी सुरु गरेको जनाएको छ।










