काठमाडौं। साताको पहिलो दिन सुन तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
गत शुक्रबार अघिल्लो दिनका तुलनामा ६ सय घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको कारोबार मूल्यमा लगातार उतारचढाव छ। वैशाख १ मा १ लाख १ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको सुनको कारोबार मूल्य १३ दिनपछि एक लाखबाट तल आएको हो।
घट्ने क्रममा गत मंगलबार र बुधबार प्रतितोला ९७ हजार २ सयसम्ममा कारोबार भएको थियो। तर बिहीबार एकै दिन १४ सयको बढोत्तरीले प्रतितोला ९८ हजार ६ सय रुपैयाँ प्रतितोला भएको थियो।
आइतबार चाँदीको कारोबार मूल्यमा सामान्य वृद्धि भएको छ। ५ रुपैयाँ बढेर प्रतितोला १२ सय ८५ रुपैयाँ भएको हो। शुक्रबार २५ रुपैयाँ घट्दा प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य बढोत्तरी छ। गत शुक्रवार प्रतिऔंस १८७६.६३ डलरमा कारोबार भएको थियो, आइतबार १८८३.८६ डलर भएको छ।
चाँदीको मूल्यमा भने गिरावट आएको छ। चाँदी प्रतिऔंस २२.३६ डलर छ। गत शुक्रबार चाँदी प्रतिऔंस २२.४२ डलर थियो।











