काठमाडौं। बाँकेको नेपालगञ्जका पशुपालक किसानको दूधले काठमाडौं उपत्यकासम्म राम्रो बजार पाउन थालेको छ।
नेपालगञ्जको अप्रशोधित (कच्चा) दूध सिधै काठमाडौंसम्म आउन थालेको लगभग दुई वर्ष भइसकेको छ। तर अहिले यसको परिमाणसमेत बढ्नुका साथै बजार पकडसमेत राम्रो बनेको डेरी उद्योग संघले जनाएको छ।
उत्पादित दूधका लागि स्थानीय बजारकै भर पर्दै आएका नेपालगञ्जका किसानका लागि यसले बजारको दायरा थप फराकिलो बनाउन मद्दत पुग्ने भएको छ। यसअघि बाँकेका स्थानीय बजारमा खपत हुन नसकेको दूधले पोखरा र चितवनसम्म बजार पाएको थियो। चितवन डेरी उद्योगले नेपालगञ्जमा उत्पादित अप्रशोधित दूध खरिद गर्न थालेको थियो।
नेपालगञ्जको दूधले काठमाडौंसम्म बजार पाउनुको मुख्य कारण भने उपत्यकाको ठूलो जनसंख्या नै हो। अहिले दूध उत्पादनको अफसिजन सुरु भएपछि काठमाडौंको माग धान्नका लागि डेरी व्यवसायीले नेपालगञ्जबाट समेत दूध ढुवानी गर्न थालेका डेरी उद्योग संघले बताएको छ।
हाल नेपालगञ्जबाट दैनिक ८ देखि १० हजार लिटर कच्चा दूध उपत्यका आउने गरेको डेरी उद्योग संघका कार्यालय सचिव कृष्णप्रसाद बास्तोलाले बताए। अफसिजनमै यो परिमाणमा आएको दूध सिजनमा भने दिनको २० देखि २५ हजार लिटरसम्म कच्चा दूध आपूर्ति हुने गरेको बताइएको छ। यसबाहेक दुग्ध विकास संस्थानले पनि बाँकेबाट केही परिमाण दूध संकलन गर्ने गरेको छ।
पहिले नेपालगञ्जबाट पोखराको सुजल डेरी र चितवन डेरीमा कन्भर्जनले दूध खरिद गर्दै आएको थियो। 'करिब दुई वर्षयता उपत्यकासम्म नेपालगञ्जको दूध आउन थालेको हो। तर त्यहाँदेखि दूध किनेर काठमाडौंसम्म ल्याउँदा नाफा भने छैन,' बास्तोलाले भने, 'ढुवानी लागत महँगो भएकाले पनि सधैं नाफा हुँदैन।'
काठमाडौंसम्म नेपालगञ्जको दूध ल्याइपुर्याउँदा ढुवानी लागत अहिले लिटरकै साढे नौ रुपैयाँ पर्ने सम्बन्धित डेरी व्यवसायीहरुको भनाइ छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले गर्दा केही महिनायता ढुवानी भाडा ५० प्रतिशतभन्दा धेरै बढिसकेको उनीहरु बताउँछन्। केही महिनाअघिसम्म लिटरको बढीमा ६ रुपैयाँ पर्ने गरेको ढुवानी खर्च अहिले सस्तोमा पनि नौ रुपैयाँ पुगिसकेको छ। पेट्रोलियमको मूल्य स्थानीय चुनावपछि अझै बढ्ने बलियो सम्भावना भएकाले त्यससँगै ढुवानी भाडा झन् खर्चिलो हुने देखिएको छ।
डेरी व्यवसायीहरुका अनुसार, उनीहरुले नेपालगञ्जमा किसानहरुबाट सरकारी संस्थान डीडीडीले दिइरहेको दरभन्दा पनि लिटरमा दुई रुपैयाँ बढी तिरेर दूध खरिद गर्ने गरेका छन्। अहिले डीसीसीको दूधको मूल्य लिटरको ८५ रुपैयाँ छ। यसमा दुई रुपैयाँ बढी अर्थात् ८७ रुपैयाँका दरले व्यवसायीले दूध खरिद गर्ने गरेका हुन्।
यसमा ढुवानी भाडा जोड्दा लिटरको ९३ रुपैयाँ काठमाडौं ल्याइ पुर्याउँदाको लागत पर्छ। यसमा समय र श्रमको लागत जोडिएको छैन।
नाफा निश्चित नभए पनि किसानसँग एक त दूध कहिले किन्छु कहिले किन्दिन भन्न नमिल्ने भएकाले डेरी व्यवसायीहरु तथा सहकारीले बाह्रैमास उनीहरुले उत्पादन गरेको दूध किनिदिनुपर्ने हुन्छ। त्यसैगरी, सहकारीहरुले किसानबाट संकलन गरेको दूध पनि डेरीहरुले खरिद गर्नुपर्ने हुन्छ। त्यसरी डेरीले किनेको सबै दूध स्थानीय बजारमा खपत हुने अवस्था नरहेकाले घाटा कम गर्नका लागि पनि ठूलो जनसंख्याका कारण उल्लेख्य माग रहेको राजधानीको सुनिश्चित बजारसम्म ल्याएको डेरी व्यवसायीहरु बताउँछन्।
संघका अधिकारी भन्छन्, 'नेपालगञ्जबाट दूध ल्याएर बिक्री गर्दा नोक्सान पर्ने भए पनि हालको लागि नोक्सानी हेरेर मात्र हुँदैन। किसानहरुसँग सिजनमा दूध खरिद गर्ने अफसिजनमा नलिने भन्न मिल्दैन। यतिबेला बजारमा दूधको कमि हुन्छ।' यसकारण पनि माग र आपूर्तिलाई सन्तुलन राख्नका लागि नेपालगञ्जबाट दूध खरिद गरेर उपत्यका पठाउने गरेको संघले जनाएको छ।
यसैगरी, दूधलाई विशुद्ध व्यापारिक स्वार्थबाट मात्र नहेरि किसानलाई सर्कुलरमा राख्न पनि नेपालगञ्जमा किनेको दूध काठमाडौंसम्म पठाउने गरेको नेपालगञ्जस्थित एसके डेरी उत्पादक प्रालिका संचालक सरोज पाण्डेले बताए। 'दूध बिक्री गर्दा नाफाभन्दा पनि किसानलाई कुनै पनि असर नपर्ने गरी खरिदलाई पूर्णता दिइएको हो,' उनले भने।
नेपालगञ्ज भैंसीपालनका लागि प्रख्यात छ। अत्याधिक भैंसीपालन भएकाले नेपालगञ्जमा अहिले दूधको उत्पादन बढ्दै गएको छ। यसैले उत्पादित दूध स्थानीय बजारमा मात्र खपतको सम्भावना नरहेकाले दूधको माग तथा खपत नेपालका अन्य जिल्लाभन्दा बढी भएको काठमाडौंमा विगत दुई वर्षदेखि डेरी उद्योगीहरुले दूध पठाउने गरेको बताए।
बाँकेमा पहिले दूध संकलनको संगठित र व्यवस्थित प्रबन्ध पनि थिएन। अहिले दूध संकलन केन्द्रित सहकारीहरु थुप्रै संचालनमा आएका छन्।
अहिले अफसिजनका कारण दूधको उत्पादन कम रहेकाले कच्चा दूधको उपभोक्ता माग सम्बोधन जेनतेन भइरहेको भए पनि पाउडर दूध र बटर बनाउने उद्योगहरुबाट भइरहेको माग पूरा गर्न भने अपर्याप्त रहेको डेरी व्यवसायीहरुले बताए।
यतिबेला निजी क्षेत्र तथा सरकारी र दुग्ध विकास संस्थाले संकलन गर्ने कच्चा दूधको परिमाण घटेको छ। यसैले सिजनमा दैनिक १० लाख लिटरभन्दा बढी दूध औपचारिकरुपमा नै उपत्यकाको बजारमा आउने गरेकोमा अहिले यो घटेर दिनको आठ लाख लिटरभन्दा कम परिमाणमा रहेको डेरी संघको भनाइ छ।
नेपालभरमा भने दैनिक ६२ लाख लिटर कच्चा दूधको उत्पादन हुने गरेको छ। यद्यपि, अहिले अफसिजनमा बजार मागअनुरुप कच्चा दूध उत्पादन हुन नसकेको डेरी उद्योगीहरुले बताएका छन्।










