यातायातको सेवा बिहान साढे ७ देखि नै सुरु, आधा घन्टामा काम फत्ते, ‘कर्मचारीले दु:ख दिए मकहाँ आउनु’



बिजमाण्डू
२०७९ बैशाख ८ गते १८:५८ | Apr 21, 2022
यातायातको सेवा बिहान साढे ७ देखि नै सुरु, आधा घन्टामा काम फत्ते, ‘कर्मचारीले दु:ख दिए मकहाँ आउनु’

काठमाडौं। सामान्य समयमा १० बजे मात्रै खुल्ने यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ (काठमाडौं) मा बिहीबार साढे ७ बजे नै कर्मचारीहरु पुगिसकेका थिए।

Tata
GBIME
Nepal Life

कर्मचारी मात्रै पुगेका थिएनन्। सेवाग्राहीको पनि बाक्लै उपस्थिति थियो। सवारी लाइसेन्सको परीक्षाको भिजिट डेट परेका, दर्ता, नवीकरण, प्रिन्ट भएको लाइसेन्स लिन, राजस्व तिर्न, विदेश जानका लागि अनुमति लिने लगायतका सेवाग्राहीहरु पुगेका थिए।

बिहीबार मात्रै होइन करिब एक महिनादेखि यो कार्यालयले साढे ७ बजेदेखि नै सेवा दिइरहेको छ।

'बिहान सेवा सुरु गर्नुका दुईवटा कारण छन्। बिहान काम छिटो हुन्छ, सर्भर पनि राम्ररी चल्छ,' यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र (ठूलो भर्‍याङ) का निमित्त कार्यालय प्रमुख  संजय थापाले भने, 'यातायात कार्यालयमा कुनै काम परे दिनभरिको माया मारेर जानुपर्ने अवस्था थियो। अफिस जानेहरुले पनि बिहान यहाँको काम सकेर दिउँसो अफिस जान पाउने भए।'

उनका अनुसार दिउँसो सर्भरले धेरै लोड हुने गरेका कारण कामै गर्दैन। 'फोटो खिच्यो, सेभ नै हुँदैन, सर्भर डाउन भइरहन्छ। बिहान त्यस्तो समस्या हुँदैन,' थापाले भने, 'बिहान एकैछिनमा काम हुन्छ।'

थापाले ब्याक लग सकेर सेवाग्राहीहरुलाई सहज सेवा दिन बिहानैदेखि सेवा दिन सुरु गरिएको बताए। '२०२४ जुलाइसम्मका लागि आवेदन दिएका सबैको ट्रायल वैशाख २५ मै सक्ने गरी काम भइरहेको छ, 'उनले भने, 'त्यति मात्र होइन,अहिले हामीले आवेदन दिएर ट्रायल दिन चाहनेहरुका लागि समय अघि तानिदिने गरेका छौं। अनलाइन फारम भरेकाहरु जो कोही पनि आएर सेवा लिन सक्छन्।' 

कार्यालयले सूचना नै निकालेर २०७८ फागुनसम्म फारम भरेका सेवाग्राहीहरुलाई वैशाख २५ गते कार्यालय भिजिट गरिसक्न अनुरोध गरेको छ।

अनलाइन आवेदन दिएपछि कार्यालयको भिजिट डेट नै दुई वर्षसम्म पुगेको थियो भने करिब साढे सात लाख सेवाग्राहीले लाइसेन्सको परीक्षा दिनका लागि आवेदन दिएका थिए। सोही कारण ब्याक लग सक्ने भन्दै अहिले अनलाइन आवेदन प्रणाली बन्द छ। ६० प्रतिशतभन्दा बढीले दिइसकेको दाबी गरिएको छ। वैशाखमा ब्याक लग सकेर साउनदेखि अनलाइन आवेदन प्रणाली खुला गर्ने तयारी भएको थापाले बताए।

थापाले ट्रायल लामो समयसम्म दिन नपाउँदा सेवाग्राहीहरु बिचौलिया भेट्न जान बाध्य भएको भन्दै बिहानै सेवा सुरु गरिएको बताए।

'हाम्रो कार्यालय बिचौलियामुक्त छ। कसैले पनि काम गर्नका लागि बिचौलिया भेट्नु पर्दैन,' उनले भने, 'यदि मेरा कर्मचारीले दुःख दिए म यहीँ हुन्छु, आउन सक्नुहुन्छ। बढीमा आधा घण्टामा काम सकिन्छ।' 

कार्यालयले अहिले महिना दिनको काम एकै दिनमा गरिरहेको बताए। कर्मचारीहरुलाई बिहानैदेखि काम गरेको इन्सेन्टिभ दिने निर्णय भएको उनले बताए। अहिले दैनिक दर्ता नवीकरणका लागि १२० जना, लाइसेन्स लिनका लागि ३०० जना, भेरिफिकसेनमा २० जना, विदेश जाने अनुमतिका लागि १० जना, राजस्व तिर्नका लागि १२० जना लगायत औसतमा ६ सय जनालाई सेवा दिइरहेको छ।

कार्यालयको गुर्जुधारामा नेपालकै ठूलो ३० रोपनीमा फैलिएको ट्रायल सेन्टर छ। जसबाट ७ सय जनाले दैनिक ट्रायल दिइरहेका छन्। यो ट्रायल सेन्टरको दैनिक २ हजार जनाको ट्रायल सम्पन्न गर्न सक्ने क्षमता रहेको थापाको दाबी छ।

त्यसैगरी, उनले बिचौलिया अन्त्यका लागि तालिका बनाएर सेवा प्रवाह थालेका हौं। 'हामीले अनलाइन टोकन प्रणाली बनाएका छौं। त्यहाँबाट टोकन लिएपछि लाइन नै बस्न पर्दैन। तोकिएको समयमा आएर आफ्नो काम गर्न सकिन्छ,' उनले भने,' सेवाग्राहीहरु लाइन नै बस्न आउनुहुन्छ। हामीले सकेसम्म छिटो र सहज सेवा दिने गरी काम गरिरहेका छौं।'

त्यसैगरी लाइसेन्स वितरणसम्बन्धी सफ्टवेयर छ। त्यसबाट लाइसेन्स छापिएको, नछापिएको र कहाँ छ भनेर ट्रयाक गर्न सकिन्छ। यदि विभागबाट छापिएर आएको भए दुई मिनेटमै पाइने थापाको दाबी छ। 'बिग्रिएको यातायातको छवि सुधार्न लागेको छु। साथीहरुले भीडभाडमुक्त भने बनाउन सकेका छैनौं,' उनले भने, 'बिचौलिया बिनाको सेवा नै हाम्रो पहिलो प्राथमिकता हो।' 

धेरै यातायात कार्यालयहरुले ठूलो भर्‍याङबाट सिकेर ब्याक लक सक्न लागेको उनको दाबी छ।

यातायात कार्यालयहरुको सबैभन्दा ठूलो चुनौती भनेको अहिले सफ्टवेयर प्रणाली नै देखिएको छ। काम भइरहेका बेला झ्याप झ्याप सफ्टवेयर डाउन हुने गरेको छ। कुनै कुनै बेला सेवाग्राहीहरु एक घण्टा एउटै कामका लागि अड्किनुपर्ने अवस्था छ। यसलाई समाधान गर्नका लागि सफ्टवेयरलाई पनि अपडेट गर्नुपर्ने भनाइ थापाको छ। 

कार्यालयले निकालेको सूचना: