काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले श्रीलंकासँग नेपालको तुलना नै नहुने बताएका छन्। नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग भेट्दै उनले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई कटाक्ष पनि गरेका छन्।
‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन्। चुनावी मुद्दा पनि बनाएका छन्,’ मन्त्री शर्माले ओलीलाई संकेत गर्दै भने, ‘यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं।’
केही दिनअघि ओलीले नेपाल श्रीलंकाको पथमा जान लागेको टिप्पणी गरेका थिए। विगतको सरकारमा एमालेबाट अर्थमन्त्री बनेका तीनजना नेताले मुलुक एकदमै ठूलो आर्थिक संकटमा पुग्न थालेको समेत बताएका थिए।
अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नतिजा देखिने गरी सुधार गर्ने दाबी गरे।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालको नेतृत्वमा टोली अर्थमन्त्री भेट्न पुगेको थियो। अर्थमन्त्रीलाई उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिदै विदेशी मुद्राको सञ्चितिमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथि उठाउने दुई मुख्य विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यपत्रको शुरुवातमै उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताएका थिए। नेपालको कुल गार्हस्थ उत्पादन ३३.६५ अर्ब डलर र श्रीलंकाको कुल गार्हस्थ उत्पादन ८०.७ अर्ब डलर रहेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालको वास्तविक ऋण १४.५६ अर्ब डलर र श्रीलंकाको ८९.५ अर्ब डलर रहेको बताए।
जीडीपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत रहेको सुनाउँदै उनले कुल वैदेशिक मुद्रा सञ्चितितर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ अर्ब डलर मात्रै रहेको तथ्यांक प्रस्तुत गरे। अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्रमार्फत उनले विश्लेषण सुनाए।
परिसंघ अध्यक्ष अग्रवालले विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिए। उनले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक फरक बनाउन पनि सुझाव दिएका छन्।
आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै उनले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु धमाधम घोषणा गर्न अर्थमन्त्रीलाई भनेका छन्। उनले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासीय नेपाालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्नेलगायतका सुझाव दिए।











