देउवा पक्षको महाधिवेशनमा सहभागी हुनेलाई गगनले कारबाही गर्ने, ‘अब सहन सकिंदैन’

बिजमाण्डू
२०८३ मंसिर १३ गते १४:१९ | Nov 29, 2026
देउवा पक्षको महाधिवेशनमा सहभागी हुनेलाई गगनले  कारबाही गर्ने, ‘अब सहन सकिंदैन’

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले नेता कार्यकर्तालाई पार्टीको आधिकारिकताबारे नअलमलिन आग्रह गर्दै देउवा समूहमा लाग्नेलाई अब कारबाही गर्ने चेतावनी दिएका छन्।

GBIME
Tata

उनले आइतबार पार्टी कार्यालयबाट ‘हामी तयार छौं’ अभियान सुरु गर्दै अनुशासन नमान्ने नेता तथा कार्यकर्तालाई अब विधान अनुसार कारबाही गर्ने चेतावनी दिएका हुन्।

उनले देउवा समूहले मंसिर २१ बाट गर्न लागेको अधिवेशन कांग्रसको नभएको बताए। गगनले पार्टीको आधिकारिकता विवाद अदालतबाट टुंगिसकेकाले कार्यकर्तालाई अन्योलमा नरहन आग्रह गरे।

‘नेपाली कांग्रेस पार्टी दुईवटा हुँदैन। पार्टी एउटै हुन्छ। त्यसैले त्यो कांग्रेसको अधिवेशन हुँदैन। अदालतको मुद्दा के हुन्छ भन्नेबारेमा उहाँहरुलाई बताइदिनुस्- हाम्रो मुद्दा मामिलाबारे अदालतबाट पाँच पटक फैसला भइसक्यो। त्यसैले कसैलाई संसद् पुनर्स्थापना हुन्छ भन्ने लाग्छ भने चाहिं कांग्रेसका बारेमा त्यस्तो धारणा राखे हुन्छ। होइन भने यो विषय टुंगिसक्यो,’ उनले भने, ‘कांग्रेस पार्टीबाट निर्वाचित भएर कांग्रेसको विधान मान्दिन भन्नुहुन्छ भने मैले थ्यांक यू भेरी मच भन्ने हो र उहाँ घर जाने हो। दायाँबायाँ कुरा केही छैन। वडाध्यक्ष पनि भइराख्छु, पालिका अध्यक्ष पनि भइराख्छु तर कांग्रेस मान्दिन,चिन्दिन, सभापति गगन थापा को हो चिन्दिन हुनुहुन्छ भने कहाँ जाने हो त्यहाँ गए हुन्छ। यहाँ रहिरहने कुरा हुँदैन।’

गगनले देउवा समूहमा रहेका नेता तथा कार्यकर्कतालाई एमाले विभाजन गरेका माधव नेपालको अवस्था सम्झिन आग्रह गरे। ‘नेपालमा कांग्रेस मात्र फुटेको छैन। अस्ति एमाले पनि फुट्यो। एमाले फुट्दै गर्दा अहिले माधव नेपाल कता हुनुहुन्छ? भनिदिनुस्,’ उनले भने।

गगनले देउवा समूह पार्टीमा नरहेको आधारमा असर नपर्ने आशय प्रकट गरे। उनले पार्टीमा धेरै मानिस जोडिन चाहेको भन्दै अब नयाँ सदस्यलाई व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको बताए।

‘पूर्वमुख्यमन्त्रीदेखि दर्जनौं बहालवाला मेयर पार्टीमा आउन चाहनुभएको छ। ती साथीलाई कसरी ल्याउने? कसरी व्यवस्थापन गर्ने? भन्ने चुनौती छ। यहाँ नयाँ साथीहरु आउनुहुन्छ। जोडिनुहुन्छ,’ उनले भने।