मध्य कालीगण्डकी जलविद्युत आयोजना समयमै बन्ने, ढकालले भने- समय र गुणस्तरमा सम्झौता हुँदैन

बिजमाण्डू
२०८३ मंसिर १३ गते ११:१० | Nov 29, 2026
मध्य कालीगण्डकी जलविद्युत आयोजना समयमै बन्ने, ढकालले भने- समय र गुणस्तरमा सम्झौता हुँदैन

काठमाडौं। आएएमई समूहका अध्यक्ष चन्द्र ढकालले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्धारित समयमै सम्पन्न गर्ने बताएका छन्।

GBIME
Tata

उनले आइतबार आयोजनाको अवलोकनपछि लागत केही बढ्ने देखिए पनि समय र गुणस्तरमा कुनै सम्झौता नगर्ने बताएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित आयोजना गत असोज ८-११ मा आएको बाढीका कारण क्षतिग्रस्त भएको थियो।

‘बाढीले बिगारेका संरचना पुनर्निर्माण गर्नुपर्दा आयोजनाको समय लम्बिने हो कि भन्ने चिन्ता थियो। तर, समयमै काम सक्न हामीले अहिले निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाइरहेका छौं,’ ढकालले भने, ‘बाढीको चुनौतीका बावजुद तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ हामी निरन्तर खटिरहेका छौं। यसपटक बाढीका कारण लागत केही बढ्ने अवस्था देखिए पनि समय र गुणस्तरमा कुनै सम्झौता गरिने छैन। निर्धारित समयमै काम सकेर आयोजना सञ्चालनमा ल्याउनेछौं।’

आइएमई समूहको लगानीमा हाइड्रो सपोर्ट प्रालिले आयोजना निर्माण गरिरहेको छ। आयोजना निर्माणमा करिब १३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएकामा बाढीले पुर्‍याएको क्षतिका कारण केही बढ्ने भएको छ।