काठमाडौं। मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको ४ महिनामा १३ अर्ब रुपैयाँभन्दा बढीको राजस्व संकलन गरेको छ।
रसुवा र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित छ। यसले गर्दा मुस्ताङ भन्सारबाट आयात बढ्दा राजस्व संकलन पनि बढेको छ। मुस्ताङ भन्सारमा ४ महिनामा १३ अर्ब २२ करोड २३ लाख रुपैयाँ राजस्व उठेको छ। हाल दैनिक २५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुने गरेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।
मंगलबार मात्र १४ मालवाहक कन्टेनर जाँचपास भएका थिए। बुधबार फलफूल र ओखर बोकेका करिब ९० कन्टेनर भन्सार पास भएर बसेको प्रमुख भन्सार अधिकृत अनन्त तिमल्सिनाले बताए। चाडपर्वले क्वारेन्टाइन नखुलेका कारण रोकिएका २०० वटाभन्दा बढी स्याउ,ओखर लगायतका फलफूलहरु बोकेका कन्टेनर आजदेखि भन्सार पास भएका छन्।
यहाँको कोरला नाका हुँदै चीनबाट हाल दैनिक ४० भन्दा बढी कन्टेनर सामान र विद्युतीय गाडी (इभी) आयात हुने गरेका छन्। चिसो बढेसँगै मुस्ताङमा हिउँ पर्न थालेको छ। हिउँ पन्छाउँदै बाटो खुलाएर आयातित सामान भित्र्याउने काम भइरहेको उनले बताए।
यतिबेला कोरला नाकाबाट आयात भएका करिब ४ हजारभन्दा बढी इभी मुस्ताङ भन्सार कार्यालय वरपर छन्। चालु आर्थिक वर्षको चार महिनामा करिब ७ हजार १६० इभी भन्सार पास भएर उपत्यका आएका छन्। दैनिक १५० भन्दा बढी गाडी भन्सार पास भएर आउने गरेको छ।
चालु आर्थिक वर्षमा मुस्ताङ भन्सारबाट करिब १ हजार २ सय १२ मालबाहक कन्टेर भन्सार पास भएका भन्सार कार्यालयले जनाएको छ। हाल मुस्ताङ भन्सार हुँदै दैनिक फलफूल,कच्चा पदार्थ, जाडोका रेडिमेड कपडाहरु आयात भइरहेका छन्।









