काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गत आर्थिक वर्ष तलब, भत्ता र अन्य आर्थिक सुविधा गरेर ४६ लाख ४८ हजार ९५६ रुपैयाँ बुझेका छन्। पौडेल २०८२ जेठ ६ गते गभर्नरमा नियुक्त भएका थिए।
नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझाएको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गभर्नरले तलब १६ लाख ३२ हजार रुपैयाँ बुझ्दा अन्य आर्थिक सुविधा २४ लाख ४९ हजार ९५६ रुपैयाँ बुझेका छन्। यसबाहेक सञ्चालक समितिको बैठक भत्ताबापत ५ लाख ६७ हजार रुपैयाँ बुझेको प्रतिवेदनमा उल्लेख छ।
गत आर्थिक वर्ष डेपुटी गभर्नरबाट अवकाश भएका निलम ढुङ्गाना र बम बहादुर मिश्रले आधा करोडभन्दा बढी तलब सुविधा र अन्य भत्ता बुझेका छन्। निलमले ५४ लाख १८ हजार ९७१ र बमबहादुरले ५१ लाख १६ हजार ७७१ रुपैयाँ बुझेका छन्।
उनीहरूको अवकाश भएको केही समयमा डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका थिए। उनले सञ्चालक समितिको बैठक भत्ता २ लाख २५ हजार बुझेका छन्।
यसबाहेक कार्यकारी निर्देशक हुँदाको तलबसहित उनले ३ लाख ६५ हजार ५८० रुपैयाँ तलब र अन्य सुविधाहरू गरेर ४६ लाख ८ हजार ४१५ रुपैयाँ बुझेका छन्।
सञ्चालक समितिको पदेन सदस्य रहेका अर्थसचिव घनश्याम उपाध्यायले बैठक भत्ता बापत ५ लाख ४० हजार र अन्य सुविधाबापत थप ३ लाख ४८ हजार १२० रुपैयाँ बुझेका छन्।
सञ्चालक चिन्तामणि शिवाकोटीले बैठक भत्ता ५ लाख ४९ हजार र अन्य सुविधा बापत १८ लाख ९७ हजार ९६९ रुपैयाँ बुझेका छन्। अर्का सञ्चालक डा. शंकरप्रसाद आचार्यले ४ लाख ५९ हजार बैठक भत्ता र १८ लाख २४ हजार ८१३ रुपैयाँ अरु सुविधा बापत रकम बुझेका छन्।
साथै सञ्चालकका रुपमा डा. रविन्द्रप्रसाद पाणण्डेले बैठक भत्ता ५ लाख ७६ हजार र अन्य सुविधा २३ लाख ३५ हजार २०१ रुपैयाँ बुझेका छन्। उनीहरू सबै राष्ट्र बैंकबाटै अवकाश भएका हुन्।
वार्षिक प्रतिवेदनअनुसार गभर्नरसहित सञ्चालक समितिका सदस्यहरूलाई राष्ट्र बैंकले तलब, भत्ता र अन्य सुविधा गरेर कुल २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ भुक्तानी गरेको छ। बैठक भत्ता मात्रै ३४ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ।









