फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति सरकार असन्तुष्ट, सुनिलले सेनापतिसामु भने-३ वर्षभन्दा कुर्न सकिंदैन

बिजमाण्डू
२०८३ मंसिर २ गते १२:०९ | Nov 18, 2026
फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति सरकार असन्तुष्ट, सुनिलले सेनापतिसामु भने-३ वर्षभन्दा कुर्न सकिंदैन

काठमाडौं। सरकारले काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएको छ।

GBIME
Tata

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुधबार प्रधानसेनापति अशोक सिग्देल र सेनाका अरु अधिकारीकै सामुन्ने फास्ट ट्र्याक निर्माणको काम धेरै सुस्त भएको भन्दै सरकारले अब सहेर नबस्ने बताएका छन्।

उनले अबको तीन वर्षभित्र फास्ट ट्र्याक निर्माण कुनै पनि हालतमा सम्पन्न गरिनुपर्ने भन्दै सेनालाई काम नगर्ने कम्पनीसँगको ठेक्का तोड्न भनेका छन्।

‘फास्ट ट्र्याकमा ९ ए र बी तथा ८ बीको प्याकेजको काम राम्रो भएको छैन। आफूले नै रिभाइज्ड गर्ने भनेर पेस गरेको कार्ययोजनामा समेत काम नभएको देखिन्छ। यसमा अब हामी निर्मम हुन्छौं। यस्ता काम गर्न नसकेको प्याकेजको ठेक्का रद्द गर्नुपर्छ। अब हामी यस आयोजनालाई धेरै लम्ब्याउने पक्षमा छैनौं,’ मन्त्री लम्सालले भने, ‘आयोजना लम्ब्याउने जोखिम राखेर काम नगर्ने कम्पनीलाई सपोर्ट गर्ने पक्षमा हामी छैनौं।’

सेनाले बुधबार मकवानपुरको महादेवटारमा ३.३९९ किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’का अवसरमा राखेको समारोहमा मन्त्री लम्सालले तीन वर्षमा फास्ट ट्र्याक सम्पन्न हुनुपर्ने बताएका हुन्।

‘अब तपाइँहरुले त्यस्ता कम्पनीलाई सपोर्ट गर्ने काम नगर्दा हुन्छ। सरकारले यो आयोजना ३ वर्षभन्दा लामो समयमा लागेको हेर्न चाहँदैन,’ उनले भने।

सेनाले २०७४ साउनमा फास्ट ट्र्याक निर्माणको जिम्मा लिएको थियो। त्यतिखेर सेनाले ४ वर्षमा निर्माण सम्पन्न गर्ने भनेको थियो। तर, ९ वर्ष वित्दा बल्ल आधा काम भएको छ।

मन्त्री लम्सालले जेठसम्म पनि काममा प्रगति नभए सेनाले ठेक्का तोड्नु पर्ने बताए। ‘अब जेठसम्मको समय वर्किङको हो। जेठसम्म प्रगति हुनुपर्‍यो। तर यो समयमा पनि प्रगति भएन भने ठेक्का तोडे हुन्छ,’ उनले भने।

मन्त्री लम्सालले आयोजनाको सुरुवाती विन्दु खोकनाको विवादलाई छिट्टै टुंगो लगाउने आश्वासन दिएका छन्। ‘आयोजनाको सुरुवाती विन्दु खोकनाको विवादलाई छिट्टै टुंगो लगाएर बाँकी सबै प्याकेजको एक महिनाभित्र ठेक्का लगाइनेछ,’ उनले भने।