काठमाडौं। स्वदेशी लगानीमा निर्मित राष्ट्रिय गौरवको आयोजना हो ४५६ मेगावाटको माथिल्लो तामाकोसी। र, प्रमुखरूपमा यही आयोजनाबाट उत्पादित विद्युत वितरण व्यवस्थापनका लागि २२०/१३२ केभीको नयाँ खिम्ती सबस्टेशन निर्माण गरिएको हो। मुलुकको दोस्रो ठूलो यो सबस्टेशनको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।
तामाकोसी आयोजनाको निरीक्षणपछि देउवाले सबस्टेशन उद्घाटन गरेका हुन्। रामेछापको मन्थली-१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती सबस्टेशन माथिल्लो तामाकोसी आयोजनाले नै निर्माण गरेको हो। तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सबस्टेशनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेशनमा जोडिएको छ।
माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत् यही सबस्टेशनमा जोडिएको छ।
त्यस्तै, नयाँ खिम्ती सबस्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित ४००/२२०/१३२ केभी सबस्टेशनमा लगिएको छ। ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ।
नयाँ खिम्ती सबस्टेशनबाट ४६ किमी लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघुस्थित १३२ केभी सबस्टेशन हुँदै काठमाडौं उपत्यकासहित राष्ट्रिय विद्युत् प्रणालीमा छ। नयाँ खिम्ति सबस्टेशनमा २२०/१३२ केभी, ३३.३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ। करिब १३७ रोपनी क्षेत्रफल रहेको सबस्टेशनमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेशन निर्माण भएको छ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले अनेकौं कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएको र यसबाट जलविद्युत् र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि प्राप्त भएको बताए।

.jpg)










