काठमाडौं। संघीय संसद्का दुवै सदनको अधिवेशन मंलगबार राति १२ बजेबाट लागू हुनेगरि अन्त्य गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अधिवेशन अन्त्य गरिएको हो। अधिवेशन अन्त्यको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई गराएको छ।
सचिवालयले सूचना प्रकाशन गरी बुधबारका लागि तोकिएको प्रतिनिधि सभा र माघ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको राष्ट्रिय सभाको बैठक पनि अन्त्य भएको सूचित गरेको छ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो।
प्रतिनिधि सभामा बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग प्रस्तावबारे सदनमा छलफल हुने बताइएको थियो। तर उक्त छलफल नगरी सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको हो। प्रधानन्यायाधीशविरुद्ध सत्तापक्षले नै महाभियोग दर्ता गराएको हो।
अधिवेशनमा प्रतिनिधिसभामा अमेरिकी परियोजना एमसीसी पारित भएको थियो। अधिवेशन अवधिभर एमालेले सदन अवरोध गरेको थियो। अघिल्ला जस्तै यो अधिवेशनमा पनि आफूले कारवाही गरेका सांसदहरुको हटाउनुपर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै एमालेले अवरोध गरेको थियो।











