काठमाडौ। चैत महिनामा व्याजदर नबढ्ने सूचनाले तरंगित सेयरबजार मंगलबार भने ओरालो लागेको छ। दुई कारोबार दिन मै डेढ सय अंकभन्दा बढी परिसूचक बढेपछि लगानीकर्ता नाफा बुकतर्फ लागेका छन्।
मंगलबार परिसूचक १७.१५ अंकले घटेर २६५०.९७ को विन्दुमा ओर्लिएको छ। अघिल्लो दिन ब्रोकर डाटा सेन्टरमा समस्या आउँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार रोक्का गरेको थियो। कारोबार बन्द हुँदा सेयर गतिविधिको असल तथ्यांक लगानीकर्ताले पाएका थिएनन्। त्यही कारण मंगलबार बजारमा लगानीकर्ताको प्रवृति बिक्री तर्फ धेरै धकेलिएको अनुमान लगाउन सकिन्छ।
३० अंक अधिकको उतारचढाव देखिएतापनि सोमबारको बजारमा खरिदकर्ता र बिक्रेताको समान चाप हुँदा परिसूचक सामान्य अंक मात्र बढेको थियो। किनबेच नै प्रभावित भएपछि सोमबार कारोबार रकममा पनि ठुलो गिरावट आएको थियो।
कारोबार रकमको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ। दिनभर ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँका ६५ लाख २९ हजार २६ कित्ता सेयर ४६ हजार २८७ पटक किनबेच भएका छन्। साताको पहिलो दिन १०० अंक अधिकको उछाल आउँदा लगानीकर्ता बीच खरिद बिक्रि पनि अत्याधिक भई कारोबार रकम करिब ५ अर्ब रुपैयाँसम्म पुगेको थियो ।
लाभांश इतिहास मै पहिलो पटक बोनस सेयर प्रस्ताव गरेको नेपाल दूरसञ्चार कम्पनीको सेयर मंगलबार सर्वाधिक कारोबार भएको छ। दूरसञ्चारको ३४ करोड २३ लाख रुपैयाँको सेयर किनबेच हुँदा मूल्य भने ५.१३ प्रतिशत घटेको छ। अपि पावरको पनि १२ करोड २० लाख रुपैयाँको कारोबार हुन पुगेको छ।
नेपाल लाइफ इन्स्योरेन्सको सेयर पनि ११ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९१ लाख रुपैयाँको र शिवम् सिमेन्ट्सको ९ करोड १४ लाख रुपैयाको सेयर कारोबार भयो।
परिसूचक घट्दा होटल तथा पर्यटन, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बीमामा भने सकारात्मक प्रभाव परेको छ। यी उपसमूह परिसूचक विपरित बढे। सर्वाधिक वृद्धि होटल तथा पर्यटन उपसमूहमा देखिएको छ।उपसूचक ३.१६ प्रतिशत बढ्यो। बाँकि उपसमूहमा भने सामान्य प्रतिशतको बढोत्तरी देखियो।
मंगलबार सबैभन्दा गिरावट भने उत्पादन तथा प्रसोधन उपसमूहमा देखिएको छ । उपसमूह प्रतिशत १.६२ घट्यो । एक प्रतिशत अधिक घटेका जलविद्युत, अन्य र व्यापार उपसमूह पनि हुन्।
भर्खरै नेप्सेमा सूचिकृत इमर्जिङ्ग नेपालको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कम्पनीको सेयर मूल्य प्रति कित्ता ९.९८ प्रतिशतका दरले बढेको छ। सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले ६.६४ प्रतिशत कमाए।
नाफामा फराकिलो छलांग मारेको सोल्टी होटलको मूल्यमा पनि उत्साहजनक वृद्धि देखिएको छ। होटलको मूल्य ६.५१ प्रतिशत बढेको छ। युनाईटेड इदी मर्दी आरबी हाइड्रोका लगानीकर्ताले पनि साढे ५ प्रतिशतका दरले कमाएका छन्।
पहिलो पटक बोनस सेयर प्रस्ताव गरेको नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य मंगलबार सर्वाधिक घटेको हो। कम्पनीको मूल्य ५.१३ प्रतिशत घटेको छ। मैलुंग खोला जलविद्युतका लगानीकर्ताले पनि ४.८६ प्रतिशतका दरले गुमाएका छन्।
३ प्रतिशत अधिक गुमाउने सिंगटी हाइड्रो, माउन्टेन नेपाल हाइड्रो, नारायणी डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स र ग्लोबल आइएमई लघुवित्तक लगानीकर्ता हुन्।










