वीरगंज। वीरगंज नाका हुँदै चालू आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा गत वर्षको तुलनामा यस वर्ष झण्डै ४३ अर्बभन्दा बढीको इन्धन आयात भएको छ । इन्धन शिर्षकमा डिजेल, पेट्रोल, एलपी ग्याँस, मट्टितेल तथा हवाई इन्धन परे तापनि मुख्यतया यस नाकाबाट डिजेल,पेट्रोल र एलपी ग्याँस अत्यधिक भित्रिने गरेको छ ।
भारत–नेपालको छोटो दुरीको नाका भएर यो नाकाबाट सबैभन्दा बढी इन्धन भित्रिने गरेको छ । ढुवानी भाडा कम परोस् भनेर यो नाकाबाट इन्धनको आयात टप ५ वस्तुको सूचीमा पर्ने गरेको छ ।
गत आव २०७७/०७८ को पहिलो सात महिनामा यो नाकाबाट ४५ अर्ब ६६ करोड ५८ लाख ९८ हजार मूल्य बराबरको डिजेल,पेट्रोल र एलपी ग्याँस भित्रिएको थियो भने चालू आवको गत साउनदेखि माघसम्म ८९ अर्ब ३९ करोड ५१ लाख ९ हजार मूल्य बराबरको इन्धन भित्रेको वीरगंज भन्सारले जनाएको छ ।
पोहोरभन्दा यस वर्ष ४३ अर्ब ७२ करोड ६२ लाख ७ हजार बढी मूल्य बराबरको डिजेल,पेट्रोल तथा एलपी ग्याँस भित्रिएको वीरगंज भन्सार कार्यालयको तथ्यांक शाखाले जनाएको छ । राजस्व संकलनको हिसाबले हेर्ने हो भने गत आवको सात महिनाभन्दा चालू आवको सात महिनामा ११ अर्ब ९३ करोड २३ लाख १७ हजार रुपैयाँ बढी राजस्व संकलन भएको छ ।
चालू आवको सात महिनामा यी तीन वस्तुको आयातबाट नेपाल सरकारको वीरगंज भन्सारले ४१ अर्ब ७५ करोड ९५ लाख ९६ हजार राजस्व संकलन गरेको छ भने गत आवको पहिलो सात महिनामा ३० अर्ब ८२ करोड ७२ लाख ७९ हजार राजस्व संकलन भएको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत दिलिप केसीले जानकारी दिए।
वीरगंज नाका भएर चालू आवको माघ मसान्त सम्म २५ अर्ब ७६ करोड ३४ लाख ८१ हजार राजस्व तिरेर ५२ अर्ब ९६ करोड ७५ लाख ३७ हजार मुल्य बराबरको ७ लाख १८ हजार ७६९ केएल डिजेल भित्रेको छ भने गत आवको सोही अवधिमा १९ अर्ब २३ करोड २३ लाख ८८ हजार राजस्व तिरेर २७ अर्ब १८ करोड ६१ लाख २७ हजार मूल्य बराबरको ५ लाख ८१ हजार १३३ केएल डिजेल भित्रेको थियो ।
डिजेल अयातको परिमाणलाई तुलना गर्ने हो भने गत आवभन्दा २४ प्रतिशत बढी डिजेल आयात भएको छ भने राजस्व पनि पोहोरभन्दा ३४ प्रतिशतले वृद्धि भएको छ ।
चालू आवको माघसम्म सात महिनामा कुल राजस्व संकलनमा वीरगंज नाकाबाट डिजेल आयातको राजस्वले २१.७६ प्रतिशतको योगदान गरेको छ । त्यसैगरी, चालू आवको माघ सम्म १२ अर्ब ६२ करोड ६१ लाख ३९ हजार राजस्व तिरेर १८ अर्ब ३६ करोड ७७ लाख ४० हजार मूल्य बराबरको २ लाख ३९ हजार ९३२ केएल पेट्रोल भित्रेको छ भने गत आवको सोही अवधिमा ९ अर्ब ८६ करोड ११ लाख २३ हजार राजस्व तिरेर ९ अर्ब १८ करोड ५२ लाख ९७ हजार मूल्य बराबरको १ लाख ९५ हजार ६७२ केएल पेट्रोल भित्रिएको थियो ।
गत आवको सो अवधिमा कोरोना महामारीको कारण पेट्रोलबाट चल्ने सवारी साधनको सञ्चालन कम भएकोले पेट्रोल न्यून परिमाणमा भित्रेको थियो । गत आवभन्दा चालू आवमा पेट्रोलको परिमाण १८ प्रतिशतले वृद्धि भएको छ भने राजस्व २८ प्रतिशतले वृद्धि भएको छ । चालू आवको माघ सम्मको सात महिनामा कुल संकलित राजस्वमा १०.३६ प्रतिशतको योगदान पेट्रोल आयातको राजस्वले गरेको छ ।
त्यसैगरी,चालू आवको माघ सम्म सात महिनामा ३ अर्ब ३६ करोड ९९ लाख ७६ हजार राजश्व तिरेर १८ अर्ब ५ करोड ६८ लाख मुल्य बराबरको १६ करोड २ लाख ८४ हजार ६ सय ५८ किलोग्राम एपी ग्याँस आयात भएको छ भने गत आवको सोही अवधिमा १ अर्ब ७३ करोड ३७ लाख ५८ हजार राजस्व तिरेर ९ अर्ब २९ करोड ४४ लाख ७४ हजार मूल्य बराबरको १४ करोड ३३ लाख ५८ हजार ६ सय किलोग्राम एलपी ग्याँस आयात भएको थियो ।
पोहोरभन्दा चालू आवको पहिलो सात महिनामा एलपी ग्याँसको परिमाण आयात १२ प्रतिशतले वृद्धि भएको छ भने ९४ प्रतिशतले राजस्वमा वृद्धि भएको छ । सो अवधिमा वीरगंज भन्सारले असुली गरेको कुल राजस्वमा २.७७ प्रतिशत एलपी ग्याँस आयात वापतको राजस्वले योगदान गरेको छ ।
वीरगंज भन्सारले चालू आवको साउनदेखि माघसम्म १ अर्ब १६ अर्ब ७१ करोड १५ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखे तापनि ४.३ प्रतिशत बढी अर्थात १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको वीरगंज भन्सारको तथ्यांक तथा सूचना शाखाको तथ्यांकले जनाएको छ ।










