काठमाडौं। यो साता सेयर बजार तीन दिन मात्र खुल्दा परिसूचक तीब्र गतिमा ओर्लिएको छ। तीन कारोबार दिनमा झन्डै ११४.४० अङ्क गुमाएको नेप्से परिसूचक हाल २५४७.०४ विन्दुमा खुम्चिएको छ। गत साताको अन्तिम कारोबार पश्चात् सेयर बजार मापक नेप्से परिसूचक २६६१.४४ विन्दुमा कायम थियो। तीन कारोबार दिनमा परिसूचक झन्डै साढे ४ प्रतिशत घटेको हो।
परिसूचक सय अङ्क अधिक घट्दा पनि यो साता दुई कम्पनीका लगानीकर्ताले भने सर्वाधिक आर्जन गरेका छन्। साताभर कारोबार भएका २२४ वटा कम्पनी, म्युचुअल फन्ड र ऋणपत्रमध्ये सपोर्ट लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक बढेको हो।
यो साता रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.०६ प्रतिशतका दरले कमाउँदा सपोर्ट लघुवित्तका लगानीकर्ताले ०.५६ प्रतिशत कमाए। कारोबार भएका २२४ वटा कम्पनी मध्ये मूल्यवृद्धि भएका यी दुई कम्पनी मात्र हुन्। ६ वटा कम्पनीको मूल्य गत साताको तुलनामा स्थिर छ भने बाँकी अन्य कम्पनीको मूल्य भने घटेको छ ।
तीन कारोबार दिनमा सर्वाधिक गुमाएका नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ता हुन्। सो जलविद्युतको मूल्य २२.२९ प्रतिशत घटेको छ। सामलिङ्ग पावर कम्पनीको मूल्य पनि २०.६२ प्रतिशत घट्यो। १८ प्रतिशत अधिक गुमाउने तेह्रथुम पावरका लगानीकर्ता पनि हुन्।











