PHP Alert: बैंकका एप र वेबसाइटको सुरक्षा बनाइँदै, प्राविधिक सुधारका लागि केही फिचर बन्द

बिजमाण्डू
२०८३ कात्तिक ६ गते २०:५२ | Oct 22, 2026
PHP Alert: बैंकका एप र वेबसाइटको सुरक्षा बनाइँदै, प्राविधिक सुधारका लागि केही फिचर बन्द


काठमाडौं । नेपालमा संचालित अधिकांश वाणिज्य बैंकहरुको बेवसाइट र अनलाइन सेवाहरु हालका लागि बन्द गरिएको छ। पीएचपीमा देखिएको समस्याका कारण ती सेवाहरु अस्थायी रुपमा अफलाइन भएका हुन्।

GBIME
Tata

एआई को सहयोगमा वेबसाइट निर्माणमा व्यापक रुपमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ ल्याङ्वेजमा मा गम्भीर सुरक्षा त्रुटि पत्ता लागेको छ। जसकारण विश्वभर साइबर सुरक्षा सतर्कता बढाइएको छ।

नेपालमा आज बिहानैदेखि धेरै सरकारी वेबसाइटहरु बन्द छन्। साथै, पीएचपीबाट संचालित अन्य व्यवसायिक वेबसाइटहरुलाई पनि ‘सेक्युरिटी’ बढाउन भनिएको छ।

एनआइसी एसिया बैंकले सामाजिक संजालमार्फत सेक्युरिटी अपडेट गर्दा अनलाइन सेवा र वेबसाइट सेवा प्रभावित हुन सक्ने गरिएको जनाएको छ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले भने आफ्नो डिजिटल युनिभर्स सेवालाई अपडेट गर्न केही समयका लागि सेवा प्रभावित हुने जनाएको छ।

सानिमा बैंकले पनि अनलाइन र वेबसाइट बन्द गरेर सेक्युरिटी अपडेट गरेको छ।

नबिल बैंकले आफ्नो जेन अल्फा एव अस्थायी रुपमा बन्द गरेको छ।

माछापुच्छ्र बैंकले पनि सूचना जारी गरेर बेवसाइटमा आधारिक केही सेवा अवरुद्ध हुन सक्ने जनाएको छ। एनआईएमबी बैंकले पनि सेक्युरिटी मेन्टेनेन्सका लागि आज बेवसाइट अपडेट गरेको छ।

त्यस्तै, सिद्धार्थ बैंकले पनि पीएचपी अलर्ट पछि आफ्नो डेटा र वेबसाइट सुरक्षा बढाउन कार्य सुरु गरिसकेको छ। प्राइम बैंकले पनि सूचना निकाले सेवा अवरुद्ध हुन सक्ने बारे सचेत गराएको छ।

बैंकहरुले आफ्ना सबै सेवा भने बन्द गरेका होइनन्। पीएचपीमा आधारिक सेवाहरुको सेक्युरिटी अपडेट गरेसँगै हाललाई रोकिएका फिचरहरु फेरि संचालनमा आउनेछ।

सूचना निकालेका केही बैंकको सेवा र फिचरहरु सेक्युरिटी अपडेट पछि संचालनमा आइसकेको छ।

बैंकसँगै केही फाइनान्स कम्पनी र अन्य व्यवसायिक प्रतिष्ठानहरुले पनि आफ्नो सेक्युरिटी अपडेट गराउन थालेका छन्।

के हो पीएचपी?

पीएचपी वेबसाइटको पछाडिपट्टि चल्ने काम संचालन गर्न प्रयोग गरिने प्रोग्रामिङ भाषा हो।

एक दशकभन्दा बढी समयदेखि लुकेको भनिएको पीएचपीको कमजोरीको दुरुपयोग भएमा ह्याकरले प्रभावित सर्भरमा अनधिकृत पहुँच प्राप्त गर्ने सक्छन्। र, संवेदनशील डेटा चोरी गर्न सक्ने जोखिम बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

त्यसैले सुरक्षा निकायहरुले वेबसाइट संचालकहरुलाई तत्काल सुरक्षा अपडेट गर्न र सम्भव नभए जोखिमयुक्त प्रणाली अस्थायी रुपमा अफलाइन राख्न आग्रह गरेका छन्।

अनलाइन पसल, ब्लग र वर्डप्रेस जस्ता प्लेटफर्ममा यसको व्यापक प्रयोग हुन्छ। यसमा देखिएको कमजोरीले प्रभावित संस्करण र प्रणाली प्रयोग गर्ने वेबसाइटलाई जोखिममा पार्न सक्छ।

पीएचपीको कमजोरी देखिएसँगै साइबर सुरक्षा विज्ञहरुले वेबसाइट संचालकलाई सम्बन्धित सुरक्षा अपडेट तुरुन्त लागू गर्न भनेका छन्।

त्यस्तै, प्रणालीमा शंकास्पद गतिविधि निरीक्षण गर्न र प्रयोगकर्तालाई फिसिङ तथा शंकास्पद सन्देशबाट सचेत रहन आग्रह गरेका छन्। त्यो नहुन्जेल वेबसाइट बन्द गर्न आग्रह गरिएको छ।