काठमाडौं । भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि र ऊर्जा सुरक्षामा सहकार्य बढाउँदै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुम्बईमा भारतीय विदेशमन्त्री एस जयशङ्कर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटवार्तामा दुई देशको सम्बन्ध र क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
रुबियोले व्यापार सम्झौता अन्तिम चरणमा पुगेको र केही प्राविधिक विषय मात्र टुङ्ग्याउन बाँकी रहेको बताए। उनले सम्झौताका सबै विवरणमा सहमति भएपछि मात्र घोषणा गर्नुपर्नेमा जोड दिए।
भारत र अमेरिकाबीच प्रमुख राष्ट्रिय हितका विषयमा असाधारण तालमेल रहेको उल्लेख गर्दै उनले दुई देशबीच कूटनीतिक तथा आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताए। रुबियोले मुम्बईलाई भारतको आर्थिक केन्द्रका रूपमा उल्लेख गर्दै त्यहाँबाट व्यापार र लगानी विस्तारको सम्भावना रहेको धारणा राखेका थिए।
भारतको औपचारिक भ्रमणमा रहनुभएका रुबियोले गुजरातको जामनगरमा उन्नत ऊर्जा सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ। उनको भ्रमणले दुई देशबीच रणनीतिक साझेदारी थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।










