लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ, इनमसँग प्रत्यक्ष कनेक्सन

सविन ढकाल
२०८३ कात्तिक १ गते २२:५८ | Oct 17, 2026
लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ, इनमसँग प्रत्यक्ष कनेक्सन


काठमाडौं। प्रहरीले लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई पक्राउ गरेको छ। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग जोडिएका इनम सापकोटाको बयानका आधारमा भट्टलाई पक्राउ गरिएको हो।

GBIME
Tata

प्रहरीका अनुसार सापकोटाको बयान, फोन सम्पर्क र अन्य गतिविधिमा संलग्न रहेको देखिएपछि भट्टलाई पक्राउ गरिएको हो। सुशील सम्पत्ति शुद्धीकरण मुद्दामा कारागारमा रहेका दीपक भट्टका दाई हुन्। ‘सापकोटासँग कनेक्सन देखियो। हामी अनुसन्धान गर्दैछौ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले बिजमाण्डूसँग भने।

राणासँग सम्वन्ध बनाएका सापकोटाले कारागारमा रहेका दीपक भट्टलाई छुटाउन प्रमुख भूमिका खेलेको स्रोतले बतायो। स्रोतका अनुसार नख्खु कारागारमा रहेका दीपकसँग सापकोटाको टेलिफोन सम्पर्क समेत भएको देखिन्छ। स्रोतका अनुसार राणा- सापकोटा र दीपकबीचमा सुशील पनि प्रत्यक्ष रुपमा देखिएको अनुसन्धान अधिकृत बताउँछन्।

‘दीपकलाई छुटाउनका लागि ठूलै रकमको चलखेल भएको देखिन्छ। उनी छ्टाउनेसँगै राजनीतिक चलखेल गर्ने समेत योजना रहेको देखिन्छ। त्यही आधारमा बालेन्द्र शाह र उनका सचिवालयले सम्पत्ति शुद्धीकरणदेखि प्रहरीलाई परिचालन गरिरहेको छ,’ स्रोतले भन्यो। त्यही अनुसन्धानका आधारमा सुशील पक्राउ परेका हुन्।

राणा-सापकोटासँगै न्यायालयमा मुद्दा मिलाउन सक्रिय गिरोहको सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ। त्यही अनुसन्धानका आधारमा केही दिनअघि दीपक तिमिल्सिना, नवराज थपलिया, नारायण दाहाल लगायतको घरमा छापा समेत मारेको थियो। स्रोतका अनुसार राणासँग प्रत्यक्ष जोडिएका सापकोटालाई ठूला केही उद्योगीले समेत खातामा रकम पठाएको देखिएको छ। स्रोतका अनुसार मुद्दा मिलाउनका लागि सापकोटाको खातामा रकम पठाएको भन्दै अनुसन्धानलाई मिहिन ढंगले अगाडि बढाइरहेको छ।