अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढेर ४० खर्ब नाघ्यो

बिजमाण्डू
२०८३ असोज २९ गते १५:०२ | Oct 15, 2026
अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढेर ४० खर्ब नाघ्यो
नेपाल राष्ट्र बैंक


काठमाडौं। आन्तरिक अर्थतन्त्र सुस्त रहे पनि बाह्य सूचक थप बलियो स्थितिमा देखिएका छन्।

GBIME
Tata

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय स्थिति अनुसार चालु खाता, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिको अवस्था थप मजबुत देखिएको हो।

भदौसम्म चालु खाता १६९ अर्ब ४ करोडले बचतमा छ। गत आर्थिक वर्ष सोही अवधिमा चालु खाता १३० अर्ब ९७ करोडले बचतमा थियो।

यस्तै शोधनान्तर स्थिति १८७ अर्ब ६८ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५३ अर्ब ६८ करोडले बचतमा थियो।

कूल विदेशी विनिमय सञ्चिति पनि ४.३ प्रतिशतले वृद्धि भई ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ बराबर पुगेको छ। विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ बराबर थियो। कुल विदेशी विनिमय सञ्चितिमा
भारतीय मुद्राको अंश २१.३ प्रतिशत छ।

चालु आर्थिक वर्ष दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २०.९ महिनाको वस्तु र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ।

दुई महिनामा २ अर्ब ९८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। पोहोर दुई महिनामा १ अर्ब २७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो।