काठमाडौं। विपन्न क्षेत्रमा कर्जा प्रवाह उच्च दरले बढेको छ। पछिल्लो एक महिनामा यस क्षेत्रमा कर्जा प्रवाह १२.९९ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब ६ करोड रुपैयाँ पुगेको हो।
जबकि यसै अवधिमा सम्रग कर्जाको वृद्धिदर जम्मा १.१८ प्रतिशत छ।
समग्र कर्जा प्रवाह सुस्त भए पनि चाडपर्वका कारण विपन्न क्षेत्रमा जाने कर्जा अकासिएको लघुवित्तकर्मीहरु बताउँछन्। उनीहरुका अनुसार पशुपालन, तरकारी खेती, घरेलु उद्योग र साना व्यापारका लागि कर्जाको माग बढेको हो।
लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले चाडपर्वमा उपभोग्य वस्तुको माग बढ्ने हुँदा उत्पादन बढाउन कर्जाको माग बढेको बताए।
‘देश विदेशमा रोजगारी र अध्ययनका लागि गएकाहरु चाडपर्वका बेला ठूलो संख्या गाँउ घर फर्किन्छन् जसले गर्दा उपभोग बढ्छ,’ उनले भने, ‘यो बेलामा खाद्यान्न मात्रै नभएर अन्य व्यापार व्यवसाय पनि राम्रो हुन्छ। त्यसकारण पसलमा सामान थप्नेदेखि उत्पादन बढाउन ग्राहकले कर्जा लिएका हुन्।’
विपन्न क्षेत्रमा जाने कर्जा एक महिनामै ३७ अर्ब ८३ करोड रुपैयाँ बढेको छ। यसले ग्रामिण अर्थतन्त्र चलायमान बनाउने जानकारहरु बताउँछन्।
विपन्न वर्गमा कर्जा बढ्दा त्यसले ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै समग्र वित्तीय स्थायित्वमा सकारात्मक प्रभाव पार्छ। ग्रामीण अर्थतन्त्र चलायमान हुँदा स्वरोजगार र उद्यमशीलता वृद्धि भई आर्थिक वृद्धिमा समेत सहयोग गर्छ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था छ। बैंकहरुले विपन्न वर्गमा लघुवित्तमार्फत लगानी गर्ने गरेका छन्। लघुवित्त संस्थाले बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर कर्जा लगानी गर्ने गर्छन्।
पछिल्लो ३ वर्षयता सुस्त रहेको कर्जाको माग अहिले एकाएक बढेकाले आशा पलाएको एक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले बताए।
‘३ वर्षदेखि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी सुस्त भएर पैसा बैंकिङ प्रणालीमा थुप्रिएकामा यसपालि चाडबाडको मुखमा विपन्न क्षेत्रमा कर्जा राम्रो गएको छ। यसले हामीलाई आशावादी बनाएको छ,’ उनले भने।
बैंकिङ प्रणालीमा अहिले १६ खर्बभन्दा बढी तरलता थुप्रिएको छ। ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढेपछि त्यसले तरलता सदुपयोगमा सहयोग पुग्छ।









