विराटनगर। निजी क्षेत्रका व्यवसायीले देशभरिका मुख्यमन्त्रीसामु कोशी प्रदेशले चीन, भारत, बंगलादेश र भूटानसितको कनेक्टिभिटीसितको फाइदा उठाउँदै प्रदेशकै विशिष्ट वस्तुको निर्यातमा जोड दिएका छन्।
अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा एफएनसीसीआई र सीएनआईका कोशी प्रदेश अध्यक्षले आ–आफ्नो धारणा राख्दै प्रदेशमै उत्पादित रैथाने, विशिष्ट र मौलिक वस्तुको निर्यातको पैरवी गरेका हुन्।
एफएनसीसीआई कोशीका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशको आर्थिक मेरुदण्ड पर्यटन र विशिष्ट उत्पादनलाई बनाउनु पर्ने बताए ।
अध्यक्ष राउतले पूर्वका रुद्राक्ष, अलैँची, छुर्पी, पहाडी फलफूल र तरकारी, चिया, अदुवा, अम्लिसो लगायतका वस्तुको निर्यातले महत्त्वपूर्ण स्थान राखेको जिकिर गरे।
राउतले कोशी प्रदेश प्राकृतिक दृश्य र सुन्दरता तथा धार्मिक महत्त्वको राजधानी भएको चर्चा गर्दै विकासको अर्को आधार पर्यटन भएको स्पष्ट पारे।
उनले एक प्रदेशको उत्पादन अर्को प्रदेशको उद्योगका लागि कच्चा पदार्थ बन्नसक्ने हुँदा अन्तर प्रादेशिक व्यापार र परिवहनमा सातै प्रदेश लचिलो, उदार र सहज बन्नुपर्ने धारणा राखे।
राउतले भने, ‘त्यसैगरी अर्को प्रदेशको बजार पहिलो प्रदेशका उत्पादनको गन्तव्य बन्न सक्छ। त्यसैले सातै प्रदेशका प्रमुख उत्पादन, प्रशोधन क्षमता, लगानीका अवसर र बजारको साझा विवरण तयार गरी उत्पादक, उद्योगी, खरिदकर्ता र निर्यातकर्ताबिच सम्बन्ध स्थापित गर्न सकिन्छ।’
कार्यक्रममा सीएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडाले अन्तर प्रदेश हवाई कनेक्टिभिटीको विकास, भौतिक पूर्वाधार विस्तार तथा लगानीमैत्री वातावरण निर्माणमा जोड दिए।
अध्यक्ष शारडाले उद्योगी व्यवसायीलाई विभिन्न सम्भावनायुक्त क्षेत्रमा उद्योग स्थापना गर्न प्रोत्साहित गर्नुपर्ने धारणा राख्दै एक प्रदेशमा उत्पादित वस्तुलाई अर्को प्रदेशमा कच्चा पदार्थका रूपमा उपयोग गर्ने सम्भावनाको पहिचान र प्रवर्धन गर्नुपर्ने बताए।
शारडाले सम्बन्धित निकाय उद्योग तथा व्यवसायको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, अन्तर प्रदेश सहकार्य र लगानीको वातावरण सुधार गर्न सदैव चनाखो हुनुपर्ने जिकिर गरे।









