काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।
मन्त्री वाग्लेसँग अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख अमृत लम्साल पनि बैंकक गएका छन्।
बैंककमा रहँदा अर्थमन्त्री वाग्ले विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा सहभागी हुने अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मन्त्री वाग्लेले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ।
यस्तै, उनले द्विपक्षीय बैठकमा बेलायतका विदेश मन्त्रीसँग द्विपक्षीय भेटघाट गर्नेछन्। वाग्लेले आर्थिक विषयहरूका साथै विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र चरम मौसमी घटनाको पूर्वतयारी सम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने तय भएको मन्त्रालयले जनाएको छ।









