काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश मंगलबार जारी गरेका हुन्।
असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश त्यही दिन जारी गरेका थिए।
भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले दुई वटा अध्यादेश जारीसँगै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधानको कानुनी अड्चन हटेको बताएकी छन्।
उनका अनुसार वन, मध्यवर्ती क्षेत्र तथा आरक्ष क्षेत्रसम्बन्धी कानुनका प्रावधानका कारण समाधान हुन नसकेका भूमिहीनका समस्या समाधान गर्न सम्बन्धित ऐनमा समेत अध्यादेशमार्फत आवश्यक व्यवस्था गरिएको छ।
‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै समस्या समाधानको बाटो खुलेको छ। साथै, अब राजनीतिक तथा प्रशासनिक नेतृत्व, सम्बन्धित कर्मचारी, स्थानीय तह र समाधान समितिले मिसन मोडमा काम गरौं, ‘उनले भनेकी छन्, ‘कानुनी आधार तयार छ, अब सही नियत, इच्छाशक्ति र तीव्र कार्यान्वयन आवश्यक छ। सबैको साथ र सहयोगको अपेक्षा गरेकी छु।’









