काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले संखुवासभाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका-३, हटियामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति सुरु गरेको छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनामार्फत हटिया क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको हो। यसअघि हटियामा लघु जलविद्युत् योजनामार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो।
खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिका कार्यालय र हटियास्थित अस्पतालमा थ्रि फेजका मिटर जडान गरी विद्युत् आपूर्ति गरिएको छ। राष्ट्रिय प्रसारण लाइनका कारण विकट तथा दुर्गम क्षेत्र हटियामा विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ।
चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाकै किमाथांकासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्राधिकरणले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ। त्यहाँ चालु आर्थिक वर्षभित्रै राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति गर्ने प्राधिकरणको लक्ष्य छ।
संखुवासभाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरधुरीमा लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति भइरहेको छ।









