घटस्थापनासँगै बडादसैं सुरु, आजदेखि नौ दिनसम्म नवदुर्गाको विशेष पूजा आराधना

बिजमाण्डू
२०८३ असोज २५ गते ०५:५३ | Oct 11, 2026
घटस्थापनासँगै बडादसैं सुरु, आजदेखि नौ दिनसम्म नवदुर्गाको विशेष पूजा आराधना


काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा देवीको पूजा आराधनासहित जमरा राखेर घटस्थापना गरिँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको साइत बिहान ११:४७ बजे छ।

GBIME
Tata

घटस्थापनाका दिन पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक बालुवा वा माटो राखेर त्यसमाथि जौँ रोप्ने परम्परा छ। यसरी रोपिएको जौँलाई जमरा भनिन्छ। विजयादशमीका दिन देवीको प्रसादका रूपमा टीकासँगै जमरा ग्रहण गरिन्छ। जौँको अङ्कुरलाई समृद्धिको प्रतीकका रूपमा लिने धार्मिक मान्यता छ। जमरामा जौँबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्।

घटस्थापनाका लागि आज सूर्योदयकालमा प्रतिपदा परेको र दिनभर चित्रा नक्षत्र रहने भएकाले मध्याह्नकालको अभिजित् मुहूर्तमा साइत निर्धारण गरिएको समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले बताए। सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको सूचना शास्त्रसम्मत नभएको उनको भनाइ छ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ। नवरात्रका नौ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ।

दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्रको पाठ गरिन्छ। दुर्गाको प्रतीकका रूपमा महानवमीसम्म नौ दिन नौवटी कन्याको पूजा गर्ने परम्परा पनि छ। सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा विभिन्न शक्तिपीठ तथा दसैँ घरमा विशेष पूजा गरिन्छ। बलि दिने परम्परा भएका स्थानमा यी दिन बलिपूजा पनि गरिन्छ।

यस अवसरमा काठमाडौंका नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आजदेखि विधिपूर्वक जमरा राखेर दुर्गा देवीको पूजा आराधना सुरु गरिँदै छ।

यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८:४९ बजे र टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे रहेको छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने धार्मिक विश्वाससमेत छ।

रोजगारी, अध्ययन तथा अन्य कामले घरबाहिर रहेका मानिस दसैँ मनाउन आफ्नो थातथलो फर्कने क्रम सुरु भएको छ। परिवारका सदस्य एकै ठाउँमा भेला भएर मनाइने भएकाले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ। दसैँ बिदा सुरु भएसँगै राजधानी र अन्य सहरी क्षेत्रबाट गाउँ फर्कनेको चहलपहल बढेको छ।