काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि र एआइको विकाससँगै बदलिँदो विश्वका चुनौती सामना र अवसर उपयोग गर्नसक्ने जनशक्ति उत्पादनमा शिक्षाप्रणाली केन्द्रित हुनुपर्ने बताएका छन्।
काठमाडौंको चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेश तथा हीरक महोत्सव २०८३ समारोहलाई शनिबार सम्बोधन गर्दै उनले विद्यार्थीलाई वर्तमानका लागि मात्र नभई भविष्यका आवश्यकताअनुसार तयार गर्नुपर्ने बताएका हुन्।
‘आधुनिक विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ, विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता र सञ्चारका क्षेत्रमा भइरहेको तीव्र विकासले शिक्षाको स्वरूप र आवश्यकता दुवै परिवर्तन गरिरहेको छ,’ उनले भने।
राष्ट्रपति पौडेलले आधुनिक ज्ञान र सीपसँगै मानवीय विवेक, जिम्मेवारी, संवेदनशीलता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको उत्तरदायित्वलाई शिक्षाको केन्द्रमा राख्नुपर्नेमा जोड दिए। प्रविधि जति शक्तिशाली हुँदै जान्छ, मानवीय मूल्यको आवश्यकता पनि त्यति नै बढ्दै जाने उनको भनाइ थियो।
विद्यालयलाई राष्ट्रको भविष्य निर्माण गर्ने आधारभूत संस्थाका रूपमा व्याख्या गर्दै उनले विद्यार्थीले पाठ्यपुस्तकको ज्ञानसँगै अनुशासन, इमानदारिता, परिश्रम, सदाचार र देशप्रेमजस्ता मूल्य पनि सिक्ने बताए।
शिक्षाको उद्देश्य परीक्षामा राम्रो अंक ल्याउनुमात्र नभई समस्या समाधान गर्न, नयाँ सोच विकास गर्न र प्रविधिको सदुपयोग गर्दै समाज तथा राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न सक्ने आधार तयार गर्नु रहेको उनले उल्लेख गरे। यसका लागि सरकार, नीतिनिर्माता र शिक्षासँग सरोकार राख्ने सबै पक्षबीच सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाइ थियो।









